
वीरगंज : बुनिलाल चौरसिया हत्या प्रकरणका पक्राउ परेका आरोपी मध्ये दुई जनालाई पुर्पक्षको लागि जेल चलान गरिएको छ। पर्सा जिल्ला अदालतले पक्राउ परेका हत्याका तीन जना आरोपीमध्ये मुख्य योजनाकार निधि अग्रवाल र जग्गा कारोबारी प्रेमचन्द्र साहलाई पुर्पक्षको लागि वीरगंज कारागार पठाएको हो।
न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले निधिका पति दीपककिशोर अग्रवाललाई भने एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ। हत्यामा संलग्न चार जना भने फरार रहेको प्रहरीले जनाएको छ।
निधिले आर्थिक लेनदेनका क्रममा वीरगंज महानगरपालिकाका अग्नि नियन्त्रक समेत रहेका बुनिलालसँग चिनजान भएको यसअघि पर्सा प्रहरीलाई बयान दिएकी छिन्। साथै बयानमा उनले बुनिलालबाट लिएको ऋण फिर्ता गरे तापनि कपाली तमसुक नदिएको र यौनदुर्व्यहार गरी अश्लिल भिडियोमार्फत ब्ल्याकमेलिङ समेत गरेपछि हत्या गराएको स्वीकार गरिसकेकी छिन्।
अश्लिल भिडियो भाइरल हुने डरमा भारतबाट भाई सौरभ तुल्स्यान र उनका साथीहरु विक्की, रञ्जीत साह र संगमको सहयोगमा हत्या गराएको उनले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।
बिहीवार सकिएको थुनछेक बहसपछि अदालतले यस्तो आदेश आएको हो। थुनछेक बहसमा हत्या भएका बुनिलाल चौरसियाका भाई वादी दर्शन चौरसियाको पक्षबाट जिल्ला न्यायाधिवक्ता रुद्र पन्थी, अधिवक्ताहरु रामनारायण कुर्मी, रामअशीष यादव, पन्नालाल गुप्ताले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट अधिवक्ताहरु सुधीर कर्ण, वीरेन्द्र यादव, विनय सिंह र रामेश्वर सेढाइले बहस पैरवी गरेका थिए।
यो पनि पढ्नुहोस् :