PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्रीको नामबाट शुक्रवारे रिट्विट : अमित शाहको आक्षेपलाई सरकारी साथ! {टिप्पणी}



ऋषिकेश दाहाल

प्रधानमन्त्रीको नामबाट शुक्रवारे रिट्विट : अमित शाहको आक्षेपलाई सरकारी साथ! {टिप्पणी}

शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल एक्कासी सक्रिय भयो। प्रधानमन्त्री विरामी छन्, उनको सचिवालयले त्यसको बारम्बार पुष्टि गरिरहेकै छ – यति औं पटकको डायलासिस गरिँदै भनेर। प्रधानमन्त्री विरामी छन् भन्ने स्थापित गर्नेगरी डायलासिसको खबर जारी हुँदा वर्षौंदेखि किड्नी फेलियर भएर त्यही प्रकृया पूरा गरिरहेका आम नागरिकहरुले के सोच्दा हुन्? यो त रह्यो प्रधानमन्त्रीको सचिवालयले नै सोच्ने कुरा।

गुड फ्राइडे मनाइरहेका सर्वसाधारणलाई चाहिँ हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आधिकारिक र ट्विटरद्वारा भेरिफाइड एकाउन्टबाट भएको एउटा रिट्विटले तानिहाल्यो। प्रधानमन्त्री ओलीका ५ लाख ११ हजार फलोअर छन्, ट्विटरमा। रिट्विटले प्रधानमन्त्रीलाई फलो गर्ने जमातको ध्यान खिच्नु आवश्यक पनि किन थियो भने – त्यो भारतीय राजनीतिको विषयसँग जोडिएको थियो।

नागरिकता ऐन संशोधनले भारत आन्दोलित छ। हिजो साँझसम्म ९ जना मानिसहरु मारिएका छन्। गिरफ्तारीको क्रम जारी छ। तोडफोड र हिंसात्मक घटना उत्तिकै। त्यही विषयलाई लिएर भारतीय कांग्रेसका नेतृ सोनिया गान्धीले भिडियो अपलोड गरिन् जसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब के गर्नुपर्छ भन्ने उल्लेख छ।

प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलबाट त्यही भिडियो सम्बोधनलाई रिट्विट गरिएको थियो। भारतको राजनीतिक गतिविधिलाई लिएर नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन, राजनीतिक स्तरमा। नागरिक स्तरमा भने कडा आलोचना जारी छ। नेपाली मिडियाले पनि भारतीय सरकारको रवैयालाई आलोचनात्मक रुपमा नै हेरिरहेको छ। सरकारले त्यो विषय बोल्‍नुपर्ने खालको हो या होइन, मन्थन गर्दै होला। तर, भारतको विपक्षी दलका नेताको सम्बोधनलाई प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलबाट रिट्विट गर्नुको अर्थ के?

चासो स्वभाविक थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रिट्विटमाथि प्रस्टिकरण दिएका छन् - पासवर्डको दुरूपयोग गरी यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ। तसर्थ : कुनै प्रकारको भ्रम र गलतफहमीमा नपर्न अनुरोध गर्दछु।

गए राति ११:३० बजे सल्लाहकार थापाले ट्विट गरेपछि ‘त्रुटिपूर्ण’ रिट्विट भन्ने बुझ्न गाह्रो भएन। तर, उनले प्रस्टिकरण दिनुअघि भारतीय प्रतिपक्षी दलका नेताको भाषण रिट्विटको अर्थ लगाउनेहरु व्यापक भइसकेका थिए। अझ, अहिलेसम्म सरकारको आधिकारिक धारण नै आइनसकेको अवस्थामा भारतीय आन्दोलनलाई नेपाल सरकारको साथ त होइन भन्ने संशय पनि उब्जिएको थियो, ट्विट देख्दा।

संशय उब्जिनुको कारण छ। भारतका गृहमन्त्री अमित शाहले दुई दिन अघिमात्रै भारतीय सीमा सुरक्षा बललाई सम्बोधन दिँदै एउटा विवादास्पद अभिव्यक्ति दिएका थिए। शाहले भनेका थिए – भारतको शान्ति नचाहने तत्व नेपाल र भुटानबाट भारत छिरेको छ।

शुक्रवार साँझ जब प्रधानमन्त्री ओलीको भेरिफाइड अकाउन्टबाट अमित शाहको भनाइलाई सहयोग हुने गरी ट्विट भयो – संशय त जन्मियो नै। यद्यपि, सल्लाहकार थापाले प्रस्टिकरण दिइसके – त्रुटिपूर्ण ट्विट। शुक्रवार साँझ सामाजिक सञ्जालमा चर्को बहस ल्याउनेगरी आएको ट्विटमाथिको विचरण केही कम भएको छ। तर, यसले नराम्ररी झस्क्याएको छ।

आराम गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेक्कारको चिन्ता थप्ने काम भएको हुनुपर्छ शुक्रवारे ट्विटले। त्यसो त प्रधानमन्त्री ओली आफैँ पनि सोसल मिडियामा जे पायो त्यही गर्ने होइन भन्ने कुरामा सतर्क छन्। र, बारम्बार भाषणहरुमा ट्विटमाथि व्यङ्ग्य पनि गर्छन्। ट्विटमा आएका सामग्रीमाथि प्रधानमन्त्रीले पटकपटक आक्रामक दृष्टिकोण पनि अभिव्यक्त गर्दै आएका छन्। राम्रा विषयमा ट्विट होस् भन्ने उनको अभिव्यक्तिलाई सम्मान गरौं। साथै, आशा पनि गरौं, आराम गरिरहेका प्रधानमन्त्रीलाई यसरी विवादमा तानिनेगरी उनको सोसल मिडिया नचलाउँ। केही दिन उनको ट्विटर निस्क्रिय रहे, त्यसले हानी त गर्दै गर्दैन – जसरी यस्ता त्रुटिपूर्ण संदेशले गरिरहेको हुन्छ। प्रधानमन्त्रीको सचिवालयले बुझ्नुपर्ने एउटा तथ्य हो – मौनताको पनि चर्को आवाज हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell