
काठमाडौं : सुकेधारामा बसको ठक्करबाट घाइते पशुपति क्याम्पसमा अध्ययनरत छात्राको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार बिहान मध्यपुर ठिमी चल्ने बा ४ ख ५९२० नम्वरको बसले २१ वर्षीय सृष्टि पन्तलाई सुकेधारमा ठक्कर दिएको थियो।
गोरखा घर भएकी पन्तको उपचारको क्रममा चाहवहिलस्थित ओम अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
उनलाई पैदल हिँडिरहेको अवस्थामा ठक्कर दिएको हो। 'पैदल हिँडेको अवस्थामा ठक्कर दिएको छ। थप अनुसन्धान गरिरहेका छौँ।' एसपी श्रेष्ठले भने।
ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरुले गाडीमा आगजनी गरेका छन्। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छ। आक्रोशित विद्यार्थीले मित्रपार्कस्थित पशुपति क्याम्प अगाडि प्रदर्शन गरेका थिए।
ठक्कर दिने गाडीका चालक र आगजनीमा संलग्न अन्य दुई जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो। बसमा पूर्णरुपमा क्षति पुगेको छ।
पढ्नुस्ः जोखिममा पैदल यात्रु : ७ वर्षमा ४ सयभन्दा धेरै मारिए