PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

किन समात्यो प्रहरीले यति धेरै संख्यामा विदेशी नागरिक?



सविन ढकाल

किन समात्यो प्रहरीले यति धेरै संख्यामा विदेशी नागरिक?
फाइल फोटो

काठमाडौं : सोमवार प्रहरीले काठमाडौंमा ठूलो अप्रेसन चलाएको छ। विषेश सूचनाको आधारमा प्रहरीले काठमाडौंको बाँसबारी, ठमेल, मनमैजु, बुढानिलकण्ठलगायत विभिन्न स्थानबाट विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो।

अहिलेसम्म ९० जनाभन्दा बढी विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। नियन्त्रणमा लिएका विदेशी नागरिकमा महिलाहरुसमेत रहेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले अनुसन्धानको नेतृत्व गरेको हो। ब्युरोका प्रमुख डिआइजी निरजबहादुर शाहीको नेतृत्वमा भएको अप्रेसनलाई महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले मद्दत गरेको हो।

'हामीलाई विभिन्न माध्यमबाट सुचना आएको थियो। केही विदेशी शंकास्पद गतिविधि गरिरहेका छन् भन्ने त्यसैको लागि शंका लागेका व्यक्तिलाई नियन्त्रणमा लिएका हौं,' ब्युरो प्रमुख डिआइजी शाहीले भने।

प्रहरीले बाँसबारी, बुढालिकण्ठ, मनमैजूमा घर भाडामा लिएर शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो। उनीहरुले घर नै भाडामा लिएर शंकास्पद गतिविधि गर्ने गरेको प्रहरीको दाबी छ। ब्युरोका अर्का एसएसपी रामदत्त जोशीले भने, 'घर नै भाडामा लिएर शंकास्पद गतिविधि गरेको देखिन्छ। थप कुरा अनुसन्धानमा खुल्छ।'

प्रहरीले शंकास्पद गतिविधि भनेर दाबी गरिरहे पनि 'कस्तो गतिविधि हो' यसबारे केही खुलाएको छैन। तर, प्रहरी स्रोतका अनुसार बैंक ह्याकिङदेखि ओभरस्टेसम्मका विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले गत भदौमा बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो। उनीहरुको साथबाट बैंक ह्याक गरिएको १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो।

सोमबार नियन्त्रणमा लिएकामध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन्। 'धेरै विदेशी चिनियाँ नै छन्। शंकास्पद गतिविधि उनीहरुको देखिएको छ,' ब्युरोका एसएसपी जोशीले भने।

प्रहरीले उनीहरुको साथबाट केही थान ल्यापटप, मोबाइल, नगदसमेत बरामद गरेको जानकारी दिएको छ।

पछिल्लो समय चिनियाँ नागरिकहरु ह्याकिङ, सुन तस्करी, मुद्रा अपचलनलगायतका अपराधिक गतिविधिमा नेपालमा पक्राउ पर्दै आएका छन्।

सम्वन्धित समाचार

काठमाडौंका तीन घरमा प्रहरीको छापा, ७२ जना शंकास्पद विदेशी नागरिक नियन्त्रणमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell