काठमाडौं : मंसिर २९ गते सिन्धुपाल्चोकको लामोसाँघु नजिकै भएको बस दुर्घटनामा आमा गुमाएकी शिशुलाई आज आफन्तको जिम्मा लगाइएको छ। दुर्घटनामा परेर जोगिएकी ६ महिनाकी उनलाई कसैले लिन नआएपछि सिन्धु सदाबहार अस्पतालले ग्रहण गर्दै राखेको थियो।
कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको बस दुर्घटनामा परेको हो। कालिञ्चोकमा हिँउ खेलेर फर्किँदै गर्दा सिन्धुपाल्चोक स्थित लामोसाँघुमा भएको बस दुर्घटनामा परी बालिकाकी आमा सुनिता तामाङको मृत्यु भएको थियो। घटना लगत्तै चालक बालिकाका बुबा सुमन भनिने चिपबहादुर तामाङ फरार थिए।
के भएको थियो पढ्नुस् :
दुर्घटनामा आमा बितिन्, बाबु हिरासतमा : सुष्माबाट 'सिन्धु' बनेकी ६ महिने अबोधको चाहिँ अस्पतालमा बास
अन्य घाइतेसँगै अस्पताल पुर्याइएकी बालिकालाई बिहीवारसम्म अस्पतालमा राखिएको थियो। अस्पताल लगिएकै दिन उनका मामाघरपट्टिका आफन्त लिन आएका थिए तर नाता प्रमाणित नगरी अस्पतालले बालिका जिम्मा लगाएको थिएन।
बिहीवार भने अस्पतालका अध्यक्ष , मेट्रन सपना शाह लगायत नर्सहरुले बालिकाकालाई आफन्तको जिम्मा लगाएको हो।
अलपत्र परेकी बालिका बारे घटना भएको भोलिपल्ट प्रधानमन्त्रीले पनि चासो देखाएका थिए। त्यसपछि प्रदेश १ सरकार र बस दुर्घटना भएको सुनकोशी गाउँपालिकाले पनि सहयोगको प्रतिपवद्धता जनाएको थियो। तर, बालिका अस्पतालमा रहुन्जेल कुनै किसिमको सहयोग भएन। उनलाई हस्तान्तरण गर्ने कार्यक्रममा भने जनप्रतिनिधिले उसलाई आवश्यक सहयोग पुर्याउने बताएको मेट्रन शाहले पहिलोपोस्टसँगको कुराकानीमा भनिन्।
बालिकाका बुबा भने चिपबहादुर अहिले प्रहरी हिरासतमा छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालका अनुसार उनलाई पुस ३ गते काठमाडौंबाट नियन्त्रणमा लिइएको हो। खनालले भने,'१० दिन हिरासतमा राखी अनुसन्धानमा राख्न अदालतले अनुमति दिएको छ।'