PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

डेढ वर्ष अघिको त्यो घटना जसले सपनालाई बलिबाट जोगाउन सघायो



सविन ढकाल

डेढ वर्ष अघिको त्यो घटना जसले सपनालाई बलिबाट जोगाउन सघायो

काठमाडौं : '२२ वर्षीय मोडल सपना केसी भारतमा पुर्‍याएर बलि दिनबाट जोगिन्'

बिहीवारदेखि धेरै सञ्चारमाध्यममा यही र यस्तै शीर्षकका समाचार आइरहेका छन्। गत मंगलवारमात्र प्रहरीको 'कोभर्ट' अप्रेसनबाट केसीलाई उद्धार मात्र गरिएन, उनकै सहयोगमा मानव तस्करी गर्ने गिरोह समेत समातिएको छ। सपनाको साहस र शंकाले उनले जीवनमात्र जोगाएको छैन, प्रहरीले पनि सफलता हासिल गरेको छ। मोडलिङमा रुची भएपछि काम गर्ने क्रममा सपना मानव तस्करी गिरोहसँगको सम्पर्कमा पुगेकी थिइन्।

तर, र्‍याम्पमा उनलाई छनोट गर्नु र आयोजक समूहले राखेको शर्तका कारण उनमा शंका पैदा भएको थियो। जुन शंकाको तिर सहि ठाँउमा नै लागेको थियो। सपनामा त्यो शंका कहाँबाट आयो? उनले के सुनेकी थिइन्? धेरैलाई यो प्रश्नले कौतुहलता थपिदिएको हुनसक्छ।

२०७५ असार १५ गते झापा कन्काई नगरपालिकामा एक महिलालाई ललाइफकाई गरेर बलि दिन खोजिएको थियो। उनको पनि उचाई लिइएको थियो। ती महिलालाई जे जे शर्त राखिएका थिए त्यो शर्त सपनालाई पनि राखिएपछि उनी झस्किएकी थिइन्। त्यो समाचारबारे जानकार सपनाले शतर्कता मात्र अपनाइनन्, समयमै प्रहरीलाई त्यसबारे खबर पनि दिइन्।

यो पनि पढ्नुहोस सपनाले पाएको त्यो 'क्लु' जसले बली चढाउने योजना भयो चकनाचुर, बाबु बनेर प्रहरी अधिकृतको 'कोभर्ट अपरेसन'

झन्डै १८ महिना अगाडि झापाको झापा कनकाई नगरपालिकामा सविता चौधरीमाथि के भएको थियो? उनी कसरी बलिमा चढ्नबाट जोगिइन्?

‌+++

सविता झापा सुरुङ्गामा सब्जी व्यापार गर्थिन्। सामान्य परिवारकी उनलाई त्यही व्यवसायले नै बिहान बेलुकाको छाकमात्र होइन घर परिवार समेत चलाएको थियो। सर्लक्क परेको शरीर। पाँच फिट पाँच इन्च उचाई, लामो कपाल भएकी सविता एक दिन उषादेवी पाण्डे भण्डारी र कमला देवी मैनालीको आँखामा परिन्।

असार १५ गते बिहान भण्डारी र मैनाली दुवै जनाले सवितालाई भेटे। त्यसपछि विभिन्न प्रलोभन देखाउन थाले। पहिलो भेटमा नै उनीहरुले मोटो रकमको प्रस्ताव राखेका थिए।

'कमला दिदीले मलाई एक्कासी बोलाएर ‘मलाई चिन्नु हुन्छ?’ भनी सोध्नु भयो। मैले चिनिन् त भनेँ। त्यसपछि नामथर सोधेपछि मैले आफ्नो नाम थर बताएको थिएँ,‘ त्यस घटनामा उनले भनेकी थिइन्।

‘तपाई किन घाम पानीमा बस्नुहुन्छ? घामपानीमा बस्नु पर्दैन तपाईको जतिको हाइट भएकी महिलाले नयाँ लुगा लगाएर देवी भएर बस्नु पर्छ। ५ करोड पैसा आँउछ भोलि हामी आउँछौ,’ फकाउन आउनेले यसै भनेका थिए।

भोलिपल्ट फेरि ती दुवै महिला सविताको पसलमा पुगे। त्यहाँबाट उनीहरुले नजिकैको सिसौं भएको घारीमा लगेर सविताको शरीरको नाप लिए। उनीहरुले आफ्नो अनुसारको हाइट र कपाल मिलेको भएको भन्दै देवी बनाउन ‘‍ओके’ भएको कुराकानी गर्छन्।

'मलाई भोलि उषादेवीको घरमा आउनु भनेर बोलाएपछि भोलि पल्ट बिहान १० बजे उहाँको घरमा गएको थिएँ। त्यहाँ उहाँहरु दुई जनासँगै र प्रेम राजवंशी पनि थिएन,' घटनाबारे सविताले भनेकी छिन्।

उनीहरुले घरमा फेरि सविताको फोटो खिचे। कपाल र शरीरको लम्बाइ जाँचे। प्रेम राजबंशीले अगाडि र पछाडिबाट फोटो खिचेका थिए। त्यसपछि भने सविताले प्रश्न गरिन् – ‘मेरो फोटो कहाँ जान्छ?’

उनीहरुले एउटै स्वरमा जवाफ दिए- 'भारतको डिबल बैंक जान्छ। त्यहाँ आजै जानु पर्छ,'

त्यहाँ उनीहरुले सवितालाई नयाँ लुगा लगाइदिने, देवी भएरमात्र बस्नुपर्ने र त्यहाँ आउने मानिसले पूजा गर्ने बताए।

‘लड्डु पनि चढाउँछन् र लड्डु आफुले खाएपछि क-कसको घरमा कति पैसा छ सबैको देखिन्छ। र ५ करोड भारतीय रुपियाँ मेरो खातामा जान्छ भने,’ सविताले भनेकी छिन्, ‘अनि मलाई भारत डिबल बैंक भन्ने ठाउँमा जाउँ भनेर फकाए।'

सविता त्यसपछि उनीहरुसँगै जान तयार हुन्छिन्। तर, जाँदैगर्दा गाउँकी एक जना दिदी बाटैमा भेटिन्छिन्। त्यसपछि उनले सबै कुरा सुनाउँछिन्।

‘बेच्न लगेको हुनसक्छ खवरदार,’ ती दिदीले भनेको सुन्दा उनी झसङ्ग भइन्। त्यहाँबाट फुत्किएर प्रहरीकहाँ पुगिन्।

सविताको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गर्छ। पछि खुल्छ – सवितालाई बलि दिनका लागि तयार पारिएको रहेछ।

+++

यही खबरबारे जानकार थिइन् सपना। एउटै जिल्लामा उस्तै घटना भएकाले उनी सचेत थिइन् र प्रहरीसँग सहकार्य गर्न तयार भइहालिन्।

 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell