PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ट्रम्पको निर्देशनमा एयर स्ट्राइक : इरानी सैन्य जनरल मार्न अमेरिका सफल, मध्यपूर्वमा बढ्यो युद्धको खतरा



पहिलोपोस्ट

ट्रम्पको निर्देशनमा एयर स्ट्राइक : इरानी सैन्य जनरल मार्न अमेरिका सफल, मध्यपूर्वमा बढ्यो युद्धको खतरा

इराकको राजधानी बगदादस्थित विमानस्थलमा भएको रकेट आक्रमणमा इरानी सेनाका जनरल कस्सिम सोलेमानीको मृत्यु भएको छ। इरानी सुरक्षा अधिकारीहरुका अनुसार आक्रमणमा पपुलर मोबिलाइजेसन फोर्सका सहायक कमान्डर अबु महदी अल मुहानदिश, विमानस्थलका प्रोटोकल अफिसर मोहम्मद रेडन लगायतको मृत्यु भएको छ।

तीन सुरक्षा अधिकारीसहित आठ जनाको मृत्यु भएको प्रारम्भिक रिपोर्टहरुबाट सार्वजनिक भएको छ। आक्रमणबारे थप सूचना सार्वजनिक गरिएको छैन।

आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा भएको पेन्टागनले उल्लेख गरेको बीबीसीले जनाएको छ।

पेन्टागनबाट जारी विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपति ट्रम्पको निर्देशनपछि अमेरिकीहरुको सुरक्षाका लागि कस्सिम सोलेमानीविरुद्ध प्रतिरक्षात्मक कारबाही गर्‍यो। इरानको भावी योजना विफल बनाउनका लागि यो आक्रमण केन्द्रित थियो। अमेरिकी नीतिका साथै विश्वमा रहेका आफ्ना नागरिकको सुरक्षार्थ अमेरिकाले आवश्यक कदम चालिरहनेछ।'

आक्रमण र आरोपबीच अमेरिकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही प्रतिक्रिया दिएका छैनन्। यद्यपि, ट्वीटरमा उनले अमेरिकी झण्डाको तस्विर पोस्ट गरेका छन्। यसलाई धेरैले इरानमाथि ठूलो उपलब्धि पछिको खुशीका रुपमा व्याख्या गरेका छन्।

इरान समर्थित अर्धसैनिक बलले पनि आक्रमण अमेरिकाले गराएको आरोप लगाएको थियो।

बगदादस्थित अमेरिकी दूतावासमा बिहीबार इरान समर्थित समूहले आक्रमणको प्रयास गरेको थियो। त्यसैको बदलामा ट्रम्पले इरानी अधिकारीहरुलाई लक्षित गर्दै आक्रमण गर्न निर्देशन दिएका हुन्।

आक्रमणमा सैन्य जनरलको मृत्यु भएपछि इरानले थप कदम चाल्ने अनुमान गरिएको छ। दुई देशबीच तनावपूर्ण अवस्थाबीच भएको 'एयर स्ट्राइक' पूर्व निर्धारित योजना रहेको इरानको बुझाई छ।

यता अमेरिकी सिनेटर क्रिस मर्फीले आक्रमणको प्रक्रियामाथि प्रश्न उठाएका छन। ट्वीट गर्दै उनले सोलेमानी अमेरिकाको दुश्मन रहेको तर त्यो प्रश्न नरहेको भन्दै लेखेका छन्,' मुख्य प्रश्न भनेको के अमेरिकाले कंग्रेसको अनुमति बिनालाई उनको हत्या गर्‍यो? इरानको दोस्रो शक्तिशाली व्यक्तिको मृत्युले मध्यपूर्वी क्षेत्रमा युद्धको अवस्था सिर्जना गर्दैन?'

ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ। त्यसपछि ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो। रकेट आक्रमणमा मृत्यु हुने सोलेमानी त्यही 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'का प्रमुख हुन्।

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प'लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानले समेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्यपूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो।  

त्यसयता अमेरिकाले सोलेमानीलाई 'टार्गेट' बनाउँदै आएको अमेरिकी अधिकारीहरुले दाबी छ।

इरानका राष्ट्रपति हसन रुहानीले मध्यपूर्वी क्षेत्रमा तैनाथ विदेशी सेनाका कारण अस्थिरता फैलिएको भन्दै उनीहरुलाई मध्यपूर्वी क्षेत्रबाट बाहिरै बस्न चेतावनी दिँदै आएका थिए। इरान-इराक युद्धको वार्षिकोत्सव समारोहमा बोल्दै रुहानीले विदेशी सैनिकका कारण मध्यपूर्वी क्षेत्रमा अशान्ति फैलिएको र यहाँका नागरिकहरु असुरक्षित भएका बताउँदै विदेशी सेनालाई मध्यपूर्वी क्षेत्रभन्दा बाहिर बस्न भनेका थिए।

इरानी सैन्य जनरलको हत्यापछि मध्यपूर्वमा थप चुनौती थप्ने बताइएको छ। आक्रमणबाट युद्धको अवस्थामा मात्रै प्रभाव नपरी तेलको मूल्यमा समेत प्रभाव पर्ने सक्ने अनुमान गरिएको छ। एएफपीका अनुसार जनरलको मृत्युसँगै तेलको मूल्यमा ४ प्रतिशत वृद्धि भइसकेको छ।

पढ्नुस्ः- बगदाद विमानस्थलमा रकेट आक्रमण, इरानी सैनिक जनरलसहित उच्च अधिकारीको मृत्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell