सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका रामघाटस्थित शिखर माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई डिजिटल रेकर्डर प्रदान गरिएको छ। १३ जना दृष्टिविहीन विद्यार्थीलाई कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले डिजिटल रेकर्डर, स्पीकर र नगद हस्तान्तरण गरे।
विद्यालयमा एक कार्यक्रमका बीच विद्यार्थीलाई रेकर्डर, स्पीकर र नगद १६ हजार चार सय रुपैयाँ हस्तान्तरण गरिएको हो। केही समयअघि पहिलोपोस्टमा सोही दृष्टिविहीन विद्यार्थीको समाचार प्रकाशित भएको थियो। समाचार पढेपछि काठमाडौंका समाजसेवी गजेन्द्र बुढाथोकीले रेकर्डरको लागि सहयोग रकम जुटाइदिएका हुन्।
दृष्टिविहीन विद्यार्थीका दु:ख : सरले भटाभट भन्नुहुन्छ, अरुले लेखिसक्दा हाम्रा त छुट्छन्
सामाग्री हस्तान्तरण गर्दै सचिव भण्डारीले दृष्टिविहीन विद्यार्थीका लागि सरकारको तर्फबाट थप सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए। शैक्षिक क्षेत्र सुधारका लागि सरकारले गर्नुपर्ने काम अझै बाँकी रहेकाले विशेष शिक्षा अन्तर्गत दृष्टिविहीन विद्यार्थीका लागि पहल हुन जरुरी रहेको उनको भनाइ थियो।
सामाग्री पाएका दृष्टिविहिन विद्यार्थीले आफूहरुको अध्ययनमा थप टेवा पुग्ने बताए।
'हामीलाई सुनेर लेख्न एकदमै समस्या थियो। अरु साथीहरुले लेख्नुपर्छ भने हामीले खोप्नुपर्छ, त्यसैले पनि सरले लेख्दा लेख्दै हाम्रो छुट्ने हुन्थ्यो', कक्षा १२ मा अध्ययनरत चेतन सुनारले भने, 'अब हामीलाई लेख्न छुट्ला भन्ने चिन्ता भएन। कक्षा कोठामा लेख्न नसकेपनि अन्य समयमा पनि सुनेर लेख्न सकिने भयो।'
आफूले शैक्षिक सामग्रीहरु सहजै पाउन नसकिने उनले बताए। सहयोग स्वरुप पाएको पैसाले विद्यालय पोषाक किन्ने उनको भनाइ छ।
'घरको आर्थिक अवस्था कमजोर भएकाले कतिपय विद्यार्थी साथीको ड्रेस छैन', उनले भने,‘सबैको सल्लाह अनुसार हामीले ड्रेस नभएका साथीको लागि ड्रेस सिलाउँछौँ।'