PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लामोसाँघुभन्दा केही माथिबाट देखिएको देश, उत्तानो परेको बस र विद्रुप सडक : मुलुक भने भ्रमणको मुडमा



ऋषिकेश दाहाल

लामोसाँघुभन्दा केही माथिबाट देखिएको देश, उत्तानो परेको बस र विद्रुप सडक : मुलुक भने भ्रमणको मुडमा

तापक्रमले माइनसको संकेत गरिरहँदा हामी उचाईतिर धकेलिँदै छौं। भ्रमण वर्षको लहर छ। सिन्धुपाल्चोकको लामोसाँघुबाट केही माथि पुग्दा नै देशको वास्तविक दृष्य देखिन थालेको छ। सडक किनारमा उत्तानो परेको बसका सिटहरु अलपत्र छन्। दुई साताअघि कालिञ्चोकबाट काठमाडौं फिर्दै गरेको बस माथिल्लो मोहडाबाट गुल्टिँदै तल्लो मोहडामा आएर रोकिएको रहेछ। बसको अस्तित्व अझै छ, छैन त केवल त्यस दुर्घटनामा ज्यान गुमाउने १९ जनाको अस्तित्व मात्र। 


देशले भब्य रुपमा पर्यटन प्रवर्द्धनका लागि मेहनत गरिहँदा सडक किनारामा रहेको बसले व्यङ्ग्य गरिरहेझै लाग्यो। लामो साँघुबाट मुडेतिर उकालिँदै गर्दा हरेक मोड भत्किएका, अरु भाग चाहिँ ठीकै। कुनै समय सबैभन्दा उदाहरणीय थियो यो बाटोे, स्विट्जरल्यान्डका जनताको करबाट बनेकाले। अहिले पनि यसको बेग्लै पहिचान बनिसकेको रहेछ। पहिचान चाहिँ बद्नामीको।

दोलालघाटदेखि नै मोटरसाइकल र रिजर्भ गाडीमा आउनेहरुको लस्करले लागेको थियो – भब्य सफल हुँदैछ भ्रमण वर्ष। कालिञ्चोकको केबलकारले त धेरैलाई यता तानेको छ। कुरी बजारले नयाँ रौनक पाएको छ, होटल थपिएका छन्। त्यसमाथि जाडो र सामान्य झरीमै सेताम्मे बनाउने हिउँले कसलाई नलोभ्याउँला? मानिसहरुको ओइरो लाग्न कुनै आइतवार कुर्न नपर्ने भएको छ।

तर, जब दुघर्टनामा परेको बसको अस्तित्वको दर्शन भयो – कालिञ्चोेक भगवतीको दर्शन गरेर फर्केका आस्तिकहरुको मृत्युका समाचारहरु स्मृतिमा आइहाले। स्वेच्छाले गरेको स्थलगत रिपोर्ट पनि झलक्क सम्झिएँ जसमा एउटा अवोधले आमा गुमाएको अनि बाबु जेल परेको विरह थियो त्यसमा। भगवानको भक्तिगान गरेर फर्केकाहरुको ज्यान तिनै भगवानले पनि जोगाउन सकेनन्। भगवानभन्दा बलिया त सडकका ठेकेदार हुन थालेछन् जसले समयमै काम नगरिदिँदा निरपराध निरीहहरु निमिट्यान्न भइरहेका छन्।

अहो! भगवानलाई जित्नेहरुको शासन रहेछ है सडकमा? जति माथि गयो उति नै सडकको हालत विद्रुप। पटक पटक यही बाटो आफैले ड्राइभ गरेर पार गरेको छु। यसपाला म पछाडि सिटमा छु, गाडी मैले हाँकेको भन्दा धेरै नै गतिलो छ। आरामदायी पनि। त्यहीपनि म भड्किरहेको छु। यही बाटो हो हामीले पार गरेको कुनै बेला रातारात।

स्मृतिमा आयो फेरि भूकम्प। भूकम्पपछिको राहत वितरण। राहत र उद्धारका लागि उडेका हेलिकप्टर। उद्धारकै क्रममा दुर्घटनामा परेको अमेरिकी हेलिकप्टर। अनि दुर्घटनामा परेको हेलिकप्टरको खोजीमा हिँडेका हामी। कालिञ्चोक पार गरेर पहिरै पहिरो पार गरेर पुगेको दुघर्टनास्थल। रिपोर्टिङ् सकेर फिर्दै गर्दा आएको शंकास्पद कल। त्यसैले हुन्याउँदै काठमाडौं फर्किन बाध्य भएका हामी। हामी अर्थात् सरोज काफ्ले, उमेश श्रेष्ठ, ओम थापा, अंगद ढकाल र म।

शंकास्पद कलले हामीलाई राति ८ बजे दोलखाको चरिकोट छोड्न बाध्य बनाएको थियो। ८ बजे यही बाटोबाट रफ्तार पक्रेका थियौं हामीले। १२ बज्दा त घर नै पुगिएको थियो। बीचमा एक ठाउँमा खाजा खाएर पनि ४ घन्टाभन्दा बढी लागेको थिएन, गन्तव्य पूरा हुन। अगाडि सिटमा बसेर उमेशले फोनको जिपिएस र गुगल म्याप अन गरेकै भरमा गाडी कति अगाडि टर्न गर्ने अनुमान गथ्र्यो। म उसकै निर्देशन पछ्याउँथे। पछाडि बस्नेहरु निर्धक्क थिए, सायद्। मुडेमा हुस्सुले बाटो गुमसुम बनाउँदा उही लोकेसन ट्र्याकै भर। यो त्यही बाटो हो त? हामी निर्धक्क यात्रा गरेको बाटोको रुपरेखा अहिले कुनै हिसाबले पनि मिल्दैन त।

अनि फेरि याद आयो, प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। उनले बाटोको किचकिच कति सुन्नु भन्दै काठमाडौंका सडकमा कुनै पनि खाल्डो देख्न नपरोस् भने। त्यसलाई सुल्टाउन समिति नै बनाउन लगाए। सत्तामा हुँदा उपत्यका खाल्डोलाई नै देशको चौघेरा मान्ने संस्कार उनको मात्र होइन, सबै प्रधानमन्त्री र कार्यकारी हैसियत बनाएका राजाको समेत थियो। वषौंदेखि अलपत्र दोलखाको यो सडकलाई तत्काल पहिले जस्तै पहिचानवाला बनाउन कसले दिने निर्देशन?

जसोतसो मुडे पुगियो। यहाँ पुग्दा चिसो बढ्नु स्वभाविक थियो। तर, मुडेको मुड निरश लाग्यो। फिसफिस हिउँ झरेकाले होला धुलो चाहिँ छैन। धुलो नभए पनि बाटो चिप्लिने खालको चिम्ट्याइलो बनेको छ। मोटरसाइकलमा आउनेहरु कसरी पार पाउलान् यो बाटोबाट? ब्रेक लगाए पनि मोटरसाइकल अड्याउन सकिनेखालको छैन।

मुलुक भ्रमणको मुडमा छ। मोटरसाइकलमा आउनेहरुको लर्कोले त्यो व्यक्त गरिरहेको पनि छ। तर, मैले दोलालघाटमा आराम गरिरहँदा देखेका मोटरसाइकलमा यहाँ आउँदै गरेकाहरु कसरी लक्ष्यमा पुग्लान्? लड्दैनन् त? कति धेरै जोखिम।

मुडेसम्म आइपुग्दाको दृश्य त राम्रोमा पर्ने पो रहेछ। कतै ग्राबेल हुँदै त कतै पिच भेटिएको थियो। तर, जब मुडे कटियो बाटोको हालत कल्पनाभन्दा बाहिरको रहेछ।

कल्पनाको कुरा गरिरहँदा फेरि स्मृतितिरै धकेलिएँ। यसै वर्षको सुरुवातमा भारतको उत्तराखण्डको चर्चित तीर्थस्थल बद्रीनाथ पुग्ने अवसर मिलेको थियो। पहाडी बाटो साह्रै खराब छ भनेका थिए चालकले। त्यसैले भाडा बढी लाग्ने तर्क गरेका थिए। महेन्द्रनगरबाट यात्रा थालेको बद्रीनाथको त्यो खराब बाटो कस्तो थियो त? भिरैभिर भएर पार हुने त्यो बाटोे, दरबारमार्गबाट म चाबहिल–जोरपाटी ८ किलोमिटर दुरी तय गर्दा जति खाल्डाखुल्डी पार गर्छु नि, त्यति पनि खराब थिएन। उनीहरु जुन बाटो खराब भनिरहेका थिए त्यो बाटो हामीले त आहा कति राम्रो भनेजस्तो रहेछ।
मुडेपछिको बाटो त कुनै भर्खरै ट्र्याक खुलेको सडकभन्दा फरक देखिएन। साँघुरो भए पनि कुनै समयको आदर्श सडक जसलाई म सजिलै पटकपटक पार गरेको थिएँ, यसपाला पूरै सकसपूर्ण लाग्यो  भलै म लग्जरी गाडीमा यात्रारत् छु।

कनिकाका दानाभन्दा पनि मसिना हिउँको वर्षाले खरिढुंगामा स्वागत गरे पनि बाटोको हालतले रमाउन दिएन। यति धेरै गाडी र मानिसहरु यात्रा हुने यो सडकलाई सडकका रुपमा कल्पनासमेत गर्न नपरे हुन्थ्यो, तर हरेक दिन भोगिरहनु परेको छ। लामै समय अन्तरालमा यात्रा गर्ने मजस्तालाई त दिक्दार लाग्ने यो सडक दैनिक यही मार्गबाट यात्रा गर्नेका लागि कस्तो होला?

नभन्दै एउटा एम्बुलेन्स आएको देखियो। एम्बुलेन्सको साइरनले सडकको उबडखाबडलाई सम्बोधन किन हुन्थ्यो? पिङ खेले झै एम्बुलेन्सले गति लियो। यो बाटो यात्रा गर्ने सद्धे मानिस त बिरामी झै हुने भएछ, बिरामीको हालत के भयो होला काठमाडौं पुग्दासम्म?  
बाटोमा भीमेश्वर नगरपालिका ८ नम्बरका वडा अध्यक्ष नकुल केसी भेटिए।

‘बाटो बनाउन दवाव दिन सक्नु भएन है तपाईँहरुले?’ 
उनले हलुका रुपमा नै लिए मेरा कुरा। नलिउन् पनि किन? पटक पटक दोलखाबासीले आन्दोलन गरेका हुन् सडक छिटो बनाउ भनेर। चक्का जाम गरेनन् कि, ठेकेदारको फोटो मोटर मोटरमा टाँसेनन् कि, शंख बजाउँदै जुलुस निकालेनन् कि। जे गरे पनि बाटो जस्ताको त्यस्तै। यस खण्डको ठेकेदार नै ठगी काण्डमा फसेका रहेछन्। अब ठेकेदार नै नभएपछि ठेक्काको काम होस् कसरी?

छुट्टिदै गर्दा वडा अध्यक्ष केसीले भनेका थिए, ‘यतातिरको ठेकेदार गरिब परेछ, बाटो बनेन। चरिकोटदेखि जिरीको सडकको ठेक्का धनी जिपछिरिङ शेर्पाले पाएका छन्, यताभन्दा उता छिटो काम होला जस्तो छ।’

लामो साँघुदेखि मुडेसम्म जेनतेन सडक बन्दैछ, ढिलै सही। मुडेदेखि चरिकोट खण्ड बन्ने सुरतालसमेत छैन। जिरीदेखि भने भर्खरै ठेक्का लागेको रहेछ।

अब यही हालतमा दोलखाले पर्यटक कसरी भित्र्याउँछ होला? मनभरी स्मृति र यथार्थको द्वन्द्व जारी छ। चिसोमा सिरकभित्र गुटमुटिँदै यी शब्दहरु उतारिरहँदा भ्रमण वर्षको सफलताको कस्तो कामना गरौं म?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell