PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

घरेलु लिगमा १०० गोल गरेका सन्तोषको यस्तो छ ट्र्याक, भन्छन् : नयाँ खेलाडीमा रेकर्ड तोड्ने लक्ष्य होस्



मुकुन्द घिमिरे

घरेलु लिगमा १०० गोल गरेका सन्तोषको यस्तो छ ट्र्याक, भन्छन् : नयाँ खेलाडीमा रेकर्ड तोड्ने लक्ष्य होस्
फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लब विरुद्ध गोल गर्दै लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् सन्तोष साहुखल। ९९ गोल गरिसकेका साहुखलले सय गोल कतिखेर बनाउँछन् भन्ने सबैमा तीब्र चासो थियो।

आज नेपाल पुलिसविरुद्ध गोल गर्दै इतिहास रचेका हुन् उनले। दशरथ रंगशालामा भएको आजको दोस्रो खेलको १८ औं मिनेटमा गोल गर्दै सन्तोषले नयाँ इतिहास बनाए।

फ्रि किकमार्फत प्रहार गरिएको बललाई पुलिसका गोलकिपर शत्रुध्नकुमार चौधरीले सेभ गरे पनि त्यही बललाई जाली चुमाए उनले।

साहुखलले २०६० सालमा थ्री स्टारबाट लिगमा डेभ्यु गरेका थिए। उनले आफ्नो पहिलो लिगमै ६ गोल गरेर आफूलाई प्रमाणित गरिसकेका थिए। त्यस्तै २०६१ सालमा एपिएफबाट पनि उनले ६ गोल गरेका थिए। पछि फेरि उनी थ्री स्टार नै फर्किए। २०६२ सालमा थ्री स्टारबाट ९ गोल गरेका उनले २०६३ सालमा ११ गोल गरेका थिए। त्यस्तै ६६/७७ मा १९ गोल गरेका साहुखल २०६८ सालमा मनाङ मर्स्याङदी क्लबमा पुगे। त्यहाँबाट पनि उनले १६ गोल गरे। फेरि अर्को सिजन उनी थ्री स्टारमै फर्किए। २०६९ मा १७ गोल गरेका उनले २०७० मा थ्री स्टारबाट ९ गोल गरेका थिए।

त्यसपछि लामो समय लिग रोकियो। फेरि २०७५ सालमा उनले च्यासलबाट ३ गोल गरे। जारी सिजन पनि पहिलो खेलमा च्यासलमा आबद्ध सन्तोषले पहिलो खेलमा बलियो आँकिएको मछिन्द्रविरुद्ध गोल गर्दै खेल बराबरीमा रोक्न सफल भए। त्यस्तै दोस्रो खेलमा पनि संकटालाई २ गोल गरेपछि उनको गोल संख्या पनि ९९ पुगेको थियो।

सन्तोष साहुखल यसअघि राष्ट्रिय टिममा पनि रहिसकेका छन् जहाँ उनले ३ गोलको रेकर्ड राखेका छन्।

जापानमा बस्दै आएका सन्तोष लिग खेल्न नेपाल आएका हुन्। उनले आफूसँगै ३ जापानी खेलाडीहरुलाई पनि च्यासलमा भित्र्याएका छन्। तर, लिग आधा नहुँदै एक जना खेलाडी भने स्वदेश फर्किइ सकेका छन्। आफ्नो लक्ष्य सय गोल पुर्‍याउने भन्दा पनि धेरै गोल गरेर टिमलाई लिगमा माथि पुर्‍याउने रहेको साहुखलले बताउँदै आएका थिए।

'मेरो लक्ष्य १०० गोल पुर्‍याउनु भन्दा पनि लिग अवधिमा १५/१६ भन्दा धेरै गोल गर्नु हो,' उनले भनेका थिए।

सानैदेखि फुटबल खेल्दै आएका सन्तोष यो स्थानसम्म आइपुग्नुमा बुबा र दाइलाई श्रेय दिन्छन्।

'म सानै हुँदा बुबा मलाई लिएर फुटबल हेर्न जानुहुन्थ्यो। सानैदेखि फुटबल हेर्दा त्यहाँ गएर फुटबल खेल्न पाए हुन्थ्यो जस्तो लाग्थो,' साहुखलले भनेका थिए, 'फलानो खेलाडीको ५० गोल पुग्यो रे भन्दा मलाई त्यो भन्दा धेरै गोल पुगोस् भन्ने लाग्थ्यो। अहिलेको युवाले पनि यो १०० गोलको रेकर्ड तोड्छु भन्ने सोचोस्।'

उनी फुटबलचाहिँ आफ्नै दाइसँग सिकेको बताउँछन्। अहिले संयोग यस्तो पर्‍यो कि दाइ बालगोपाल साहुखल च्यासलका प्रशिक्षक र भाइ सन्तोष कप्तान हुन्।

'त्यतिबेला खेल हेर्दा म पनि एकदिन खेल्छु भन्ने थियो। दाइबाट इन्स्पायर भएर खेल्न थालेँ। पहिलो पटक रंगशालामा खेल्दा नै सपना पूरा भयो भन्ने लागेको थियो,' साहुखलले आफ्नो अनुभव सुनाएका थिए।

राष्ट्रिय टिममा पनि खेलेका सन्तोषको अनुभव अलि फरक छ। राष्ट्रिय टिमबाट बाहिरिँदा 'मलाई किन सेलेक्ट गरेन' भन्ने लाग्थ्यो उनलाई। हक्की स्वाभावका उनी झगडा गर्न पुगिहाल्थे।

'राष्ट्रिय टिममा परेर पनि बेन्चमा बस्नुपर्दा दु:ख लाग्थो,' साहुखलले सुनाएका थिए। त्यतिबेला जर्मन कोचले टिममा नराख्दा झोक्किएर हिँडेको क्षण सन्तोषलाई अहिले पनि पछुताउने विषय भइरहन्छ। त्यही कुरा अहिलेका युवा खेलाडीलाई सिकाउन चाहन्छन् उनी।

'अबको नयाँ पुस्ताले आफू कहाँसम्म जाने आफै बुझ्नुपर्छ। नेपाल खासै टेक्निकल कोचहरु त छैनन् होला तर ट्रेनिङ बारे, खानाबारे वा स्किलहरु इन्टरनेटबाटै पनि उपलब्ध हुन्छन् नि। त्यहाँबाट पनि सिक्न सकिन्छ,' साहुखलको टिप्स थियो।

उनी आजकल जुनियरलाई खेल्न नपाए रिसाउने होइन आफ्नो पोजिसनमा फिट राख्ने भनेर सल्लाह दिन्छन्।

जापानमा फुटबल प्रशिक्षक र खेलाडी दुवै भूमिकामा रहेका उनी जे ८ मा एसएसकिजुबाट प्रतिनिधित्व गर्छन्। आवश्यक परे नेसनल टिममा पनि पुनरागमन गर्न सक्ने उनले सङकेत गरेका छन्।

उमेरले उनी ३१ वर्ष पुगे। तर, उनलाई पहिलाको आफ्नो खेल भन्दा अहिलेको नै ठीक लाग्छ। जापान गएपछि धेरै सिकेको उनको अनुभव छ।

'पहिलाभन्दा अहिले फास्ट र म्याचुर गेम गेम छ जस्तो लाग्छ। कम उमेरमा यति सिक्न पाएको भए अझै धेरै गर्न सक्ने थिएँ,' साहुखलले भने।

उनी अहिलेको प्लेयरहरुमा धेरै सुधार आवश्यक रहेको देख्छन्। अहिलेको प्लेयरहरु टेक्निकल्ली राम्रो भए पनि फिजिकल्ली र अन्य पक्षमा कमजोर रहेको उनको बुझाइ छ।

अहिलेको खेलाडीहरुमा उनले एलन न्यौपानेको किपिङ चाहिँ उनलाई खुब मन परेको रहेछ।

जारी शहीद स्मारक ए डिभिजन लिगमा पनि सबै टिम सामान्य रहेको उनको बुझाइ छ।

'सबै नर्मल टिम जस्तो लाग्यो। मछिन्द्रले चाहिँ अलि म्याचुअर्ड खेल्यो। अरु त आयो गोर्खाली पारा जस्तो लाग्ने। बच्चा खेले जस्तो,' उनले मनकै कुरा खोल्दै भनेका थिए।

उनी अहिलेका युवा खेलाडीमा खेलदेखि खान्कीसम्ममा अनुशानको विकास गर्नुपर्ने देख्छन्। नेपाली खेलाडीले व्यवसायिक हिसाबले सोच्न थाल्नुपर्ने साहुखलको धारणा छ।

'नेपाली प्लेयरहरु बाहिर जानै खोज्दैनन्। एजेन्ट नै छैन भन्ने सोच्छन्। लास्ट टाइम किरणले प्रयास गरेका थिए। आफ्नो क्षमतालाई तिखार्न खोज्नै पर्छ,' उनले भने।

पहिला पहिला दर्शकको उल्लेखनीय उपस्थितमा लिग खेलेका साहुखल अहिले दर्शक आक्कल झुक्कलमात्र देखिँदा नरमाइलो लागेको बताउँछन्।

'पहिला हेरी त अहिले खाली स्टेडियममा खेलेजस्तो लाग्छ। यसले मोटिभेसन नहुँदो रहेछ। दर्शकहरुको हुटिङ पाउँदा त नसके पनि गोल गरौंगरौं हुन्थ्यो,' सन्तोषले अनुभव सुनाएका थिए।

साहुखललाई नेपाली फुटबलमा राम्रो रोलमोडल नभएकाले पनि खेलाडीलाई मोटिभेसन नमिलेको हो कि भन्ने लागेको रहेछ।

'अहिलेको गाइड राम्रो भएन। सिनियरबाटै राम्रो गाइडलाई रहँदै आएको भए ट्रेन्ड पछ्याउने पद्धति पनि हुन्थ्यो। तर, यहाँ राम्रो रोल मोडल नै भएन,' साहुखलले भने, 'अहिले पनि लिग रमाइलै भइरहेको छ। यो पनि अनिश्चित भएकाले अफ्ठ्यारो छ। लिगमा एउटा निरन्तरता र टाइमिङ चाहियो।'

सम्बन्धित समाचार :

एक गोल गर्दै इतिहास बनाउने लक्ष्यमा सन्तोष, कि होलान् 'नर्भस नायन्टी' को सिकार?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell