PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनाङ र मछिन्द्रको खेलपछि झगडा गर्ने खेलाडी कारबाहीमा, कसलाई के सजाय?



मुकुन्द घिमिरे

मनाङ र मछिन्द्रको खेलपछि झगडा गर्ने खेलाडी कारबाहीमा, कसलाई के सजाय?

काठमाडौँः शहीद स्मारक लिग अन्तर्गत पाँचौँ चरणमा पुस २१ गतेको खेल चर्चामा रह्यो। उक्त खेल चर्चामा आउनुको कारण थियो खेलाडीबीचको झगडा। त्यो पनि खेल सकिएपछि।

तीनै झगडामा उत्रिएका खेलाडीहरुलाई एन्फाको अनुशासन समितिले कारबाही गरेको छ। समितिको बिहीबारको बैठकले खेलाडी र दुबै टिमलाई सजाय गरेको हो।

पढ्नुस्ः अन्तिम सिट्ठी बजेपछि तातेको दशरथ रंगशाला...

अनुशासन समितिले मनाङ मर्स्याङ्दी क्लबका जगजीत श्रेष्ठ र अशोक बराललाई ५ खेलका लागि निलम्बन गरेको छ। रञ्जन विष्ट २ खेलका लागि निलम्वित भएका छन्। समितिले श्रेष्ठ र बराललाई १० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।

त्यस्तै मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल २ खेलका लागि निलम्वित भएका छन्।

त्यस्तै मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका अघिल्ला चरणका सबै खेलहरुमा प्रतिवन्ध लगाउँदै १० हजार जरिवाना समितिले गरेको छ।

बेञ्चमा अनुशासन कायम राख्न नसकेकोमा एन्फाले दुबै टिमलाई ५० हजार रुपैयाँ जरिवाना गराएको छ।

लिग निर्देशकसमेत रहेका सञ्जीव मिश्रले समितिले भिडिओ फुटेज हेरेर अध्ययन गरिरहेको बताएका थिए। नेपालमा लिगका लागि छुट्टै अनुशासन समितिको व्यवस्था छैन। लिग सीमित हुनाले पनि नेपाललगायतका धेरैजसो देशहरुमा लिगको छुट्टै अनुशासन समिति नहुने उनले बताए।

 

कसलाई कति सजाय?

जगजीत श्रेष्ठ मनाङ: ५ खेलमा प्रतिवन्ध, १० हजार रुपैयाँ जरिवाना

अशोक बराल मनाङ: ५ खेलमा प्रतिवन्ध,  १० हजार रुपैयाँ जरिवाना (खेलपछि रातो कार्ड खाएकाले थप १ खेल बढी निलम्वनमा)

दीपक राई मछिन्द्र: २ खेल प्रतिवन्ध

रञ्जन विष्ट मनाङ: २ खेल प्रतिवन्ध

देवेन्द्र तामाङ मछिन्द्र: २ खेल प्रतिवन्ध

विजय धिमाल मछिन्द्र: २ खेल प्रतिवन्ध

शिव लामा, किट्स म्यानेजर मनाङ: लिगका बाँकी खेलमा प्रतिवन्ध र १० हजार रुपैयाँ जरिवाना।

के भएको थियो?

लिगको पाँचौं चरणको खेलमा शीर्षताको होडमा रहेका दुई टिम मनाङ र मछिन्द्र क्लब बीच खेल चलेको थियो। साविक विजेता मनाङ र मनाङबाटै कप्तानसहितका अधिकांश खेलाडी पुगेर बनेको 'हेवि वेट' मछिन्द्र।

जारी लिगमा सबैभन्दा बढी दर्शकहरुको उपस्थिति पक्कै यही खेलमा थियो। मछिन्द्र र मनाङ दुवै टिमको लगभग उही संख्यामा समर्थक थिए।

खेल चल्यो। प्रतिस्पर्धात्मक खेल। २-२ को बराबरीमा खेल टुङ्गियो। तर खेलसकिएर हात मिलाउने बेलामा भने हात हालाहालको अवस्था सिर्जना भयो।

जसै रेफ्रीले खेल सकिएको अन्तिम सिट्ठी बजाए तब त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको माहौल एकाएक परिवर्तन भयो। खेलाडीहरुबीच धकेलाधकेल हुन थाल्यो। मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच भनाभन भएपछि विवाद शुरु भएको थियो। बेन्चमा बसेका खेलाडीहरु झगडाबाट आफ्ना खेलाडीलाई टाढा राख्न मैदान तिर दगुर्न थाले। अफिसियलहरु समेत झोक्किएका देखिन्थे। तर खेलाडीहरु शान्त हुने अवस्थामा आएनन्। झगडा परि नै हाल्यो।

झगडा मिलाउन प्रहरी मैदान नै प्रवेश गर्न पर्‍यो भने अफिसियलहरुलाई पनि हम्मेहम्मे पर्‍यो। खेलपछि मनाङका अशोक बरालले रातो कार्डसमेत पाए। त्यसयता एन्फाको अनुशासन समितिले यो घटनालाई हेरिरहेको बताइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell