PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओलीको जन्म जिल्लामा सिडिओ चन्द्रकलाको अपरेसन: हेलिप्याड निर्माणदेखि ढाकाको प्रवर्द्धनसम्म



प्रधानमन्त्री ओलीको जन्म जिल्लामा सिडिओ चन्द्रकलाको अपरेसन: हेलिप्याड निर्माणदेखि ढाकाको प्रवर्द्धनसम्म

  • फूलमाया पुरी-

स्कुलमा चन्द्रकला ओली भविष्यको योजना सुनाउँथिन् -डाक्टर बन्ने। बिरामीको सेवा गर्ने।

जब उच्च शिक्षा सुरु भयो लक्ष्य मोडियो। र, सुरु भयो प्रशासनिक यात्रा। सेवा जनताकै हो। ओली भदौ ५ गते प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएर तेह्रथुमको म्याङलुङ पुगिन्।

त्यसपछि सुरु भयो उनको अपरेसन यात्रा।

ओली भन्छिन्, 'प्रशासन अस्पतालजस्तो सीमित नभई फराकिलो दायरा रहेछ। यहाँ दिनहुँ फरक–फरक किसिमबाट नागरिकको सेवा र समस्याको अपरेसन गर्नुपर्छ।'

भ्रमण वर्ष २०२० लाग्दै गर्दा ओली ढाका प्रदर्शनीमा पुगेकी थिइन्। म्याङलुङ बजारमा लागेको मेलामा पुग्दा उनलाई काठमाडौँका आफन्त तेह्रथुमे ढाका मगाउँदै थिए। हातैले बुनेको हुनाले माग बढेको छ तेह्रथुमे ढाकाको।

प्रधानमन्त्री ओलीको जन्म जिल्ला हो तेह्रथुम। तर, विकटताको नमूना खोज्न अन्त कहीँ जानुपर्दैन। पानी नहुँदा आगलागीका घटना दोहोरिन्छन्। सडक सुविधाको अवस्था उस्तै। आठराईमा पुग्न ६ जिल्ला छिचोल्न पर्ने। चुनौतीका चाङ चन्द्रकलाको अगाडि छन्। उनी दैनिक खटिएकी छिन् यही चाङ भत्काउन।

तमोर किनारको माथिल्लो भेग सुख्खाग्रस्त क्षेत्र भएकोले आगलागीका घटना बढी हुन्छन्। त्यहाँ प्लास्टिक पानीपोखरीको योजना अघि सारिएको छ। सडक सुविधा नहुँदा हेलिप्याड योजना धमाधम कार्यान्वयन ल्याइँदैछ।

चन्द्रकलाको सिडिओयात्रा

झापाको बुधबारेमा जन्मिएकी चन्द्रकला ओली पढाइमा निकै मेहनती। स्कुल तहमा हरेक परीक्षामा प्रथम हुन्थिन् ओली। उनले बुधबारेकै आदर्श माविबाट एसएलसी प्रथम श्रेणीमा पास गरिन्।

डाक्टर बन्ने लक्ष्यसाथ पढाइ थालेकी उनको आइएस्सी सकिएसँगै योजना मोडियो।

'डाक्टर बन्ने इच्छा थियो, मेची क्याम्पसबाट आइएस्सी पनि सकेँ। आइएस्सी सकेसँगै डाक्टर बन्ने चाहना हट्दै गयो,' ओलीले आफ्नो टर्निङ प्वाइन्ट सुनाइन्।

किन? उनको जवाफ थियो, 'बायोलोजी पढ्दै गर्दा मलाई रुचि नै हुन छोडेको थियो डाक्टरप्रति।'

त्यसपछि उनले संकाय नै परिवर्तन गरेकी थिइन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट अंग्रेजीमा स्नातक गरेकी उनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरिन्।

उनले भनिन्, 'स्नातकोत्तर पढाइ सकिन लाग्दै म एक गैरसरकारी संस्था ‘कर्नर नेपाल’मा अनुसन्धानको काम गर्थेँ। सँगसँगै मेरो विवाह भयो। बिहेपछि बच्चा भयो। अनि काम छाड्नैपर्‍यो नि,' ओलीले भनिन्।

गर्भवतीमै लोकसेवा

गर्भमा बच्चा हुँदा नै ओलीले लोकसेवा तयारी थालिन्। फरक र रोचक विषय भएकाले पढाइलाई प्रेसरका रुपमा पनि नलिएको उनी सुनाउँछिन्। पहिलो बच्चा हुर्कँदै थियो। फुर्सदको समय निस्कन थाल्यो। चन्द्रकलालाई घरमै सीमित भएर बस्न मन लागेन। अनि लोकसेवाको तयारी थालेको उनी सम्झिन्छिन्। 'रातैभरि पढ्ने। परिवारको साथ थियो। त्यही बेला पुनः गर्भवती भएँ। तर पढ्न छाडिनँ।'

सात महिनाको गर्भ हुँदा शाखा अधिकृतको परीक्षा दिइन्। पहिलो बच्चा करिब तीन वर्षका थिए।

'सुत्केरी भएपछि माइतीघर झापा गएँ। त्यहीबेला साथीले नाम निस्केछ भन्दै खबर सुनाए। खुसी भएर नानी लिएर अन्तर्वार्ताका लागि काठमाडौँ आएँ। परीक्षा सम्झिँदा त नाम निस्किएला भन्ने लागेको थिएन,” उनले भनिन्।

सेवाको सुरुवात स्वास्थ्य मन्त्रालयबाट

काम गर्दा शाखा परिवर्तन भइरहन्थ्यो। चार वर्ष काम गरेपछि उनी अध्ययनका लागि नेदरल्यान्ड पुगिन्। सरकारी छात्रवृत्तिमा। त्यहाँ उनले मास्टर्स अफ हेल्थ एन्ड पपुलेसन विषयमा १६ महिना अध्ययन गरिन्।

नेदरल्यान्डबाट फर्किँदा पनि दरबन्दी स्वास्थ्यमै थियो उनको।  स्वास्थ्यमा रहँदै उनले उपसचिवमा परीक्षा दिएकी थिइन्। सफल पनि भइन्।

उपसचिवमा नाम निस्केसँगै ओलीको कार्यक्षेत्र सञ्चार मन्त्रालय बन्यो। त्यहाँ प्रशिक्षण केन्द्रको प्रमुख भइन्। जिल्ला/जिल्ला पुगेर तालिम सञ्चालन र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उनीमाथि थियो।

'केन्द्रको प्रमुख बनेपछि सम्पूर्ण व्यवस्थापन आफ्नै जिम्मामा थियो। आर्थिक पाटो चुनौतीपूर्ण थियो,' ओलीले भनिन्।

सञ्चार मन्त्रालयमा तीन वर्ष काम गरेपछि उनको गृह मन्त्रालयमा सरुवा भयो। मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय मोरङमा पोस्टिङ भयो उनको। जहाँ उनी पहिलोपटक सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा थिइन्।

'पहिलोपटक राजधानी बाहिर। रोजाई मोरङ नै,'ओली सम्झिन्छिन्, 'पहिलोपटक प्रत्यक्ष रूपमा नागरिकसँगको प्रत्यक्ष सम्पर्कमा सेवा प्रवाहमा खटिएँ। रमाइलो थियो। सँगै त्यस ठाउँका मुद्दाका प्रकारलाई देखेर आजित पनि हुन्थेँ।'

दैनिक ठाडो उजुरीको चाङ लाग्थ्यो प्रशासन कार्यालयमा। त्यसमध्ये पनि बढी लैंगिक हिंसाका मुद्दा। दाइजोका कारण महिलामा हुने हिंसा, सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसा, घरेलु हिंसालगायत।

जन्मका आधारमा दिइने नागरिकता मोरङमा मुख्य समस्या नै थियो। उनले भनिन्, 'जो वर्षौँदेखि नेपालमै जन्मे हुर्केका छन् उनीहरू अहिलेको कानुनी व्यवस्थामा उल्झनमा परेका देखिन्छन्। जसले उनीहरूको वृत्ति विकासमा बाधा पुग्छ।'

कानुन स्पष्ट नभएकाले एकल महिलाबाट जन्मिएका सन्तानलाई नागरिकता दिन सकस रहेको ओलीको भनाई छ। कम उमेरको विवाह मोरङको अर्को समस्या रहेको अनुभव उनको छ।

उनले भनिन्, 'अपाङ्गता भएकी एक किशोरीले २० वर्ष नपुग्दै विवाह गरेकी रहिछन्। नागरिकता पनि छैन। त्यही कारण उनी भत्ताबाट वञ्चित थिइन्।'

त्यो मिलनको समय

कतिपय आफ्ना कामले आफैंलाई आत्मसन्तुष्टि दिन्छ। नागरिकको सेवाका क्रममा उनीसँग यस्ता धेरै दृष्टान्त पनि छन्।

मोरङको एउटा घटना उनलाई यस्तै लाग्छ। घटनाबारे ओली सुनाउँछिन्, 'एउटा ८ वर्षको बालक दुई पटक भारततिर गएको र हराएको केस थियो। सिविन नेपाल विराटनगरले घटना ल्याएको थियो। आमा/बुबाबीच सम्बन्धविच्छेद भएको। उ बाबु र कान्छी आमासँग बस्दा भागेको रहेछ। प्रशासनले बालकका आमा र बुबा दुवैलाई झिकायो। बच्चामा भय थियो। फेरि बुबासँगै जिम्मा लगाएर पठाउँछन् भन्ने। करिब सेन्सलेस नै जस्तो थियो बच्चा। त्यसपछि प्रशासनले बच्चा आमाको जिम्मा लगायो। त्यतिबेला त्यो बच्चा र आमाको खुसी देख्दा ओहो....., बाबुले आमासँग भेट्नै नदिएर छटपटाएको आमा/छोराको खुसीको सीमा नै थिएन।  

मोरङबाट उनको सरुवा भयो तेह्रथुम। सरुवासँगै जिम्मेवारी थपिएको थियो चन्द्रकलाको। तेह्रथुममा पहिलो महिला प्रजिअका रूपमा पुगेकी थिइन् उनी।

तेह्रथुमले भव्य स्वागत गरेको थियो प्रजिअ ओलीलाई।

उनले भनिन्, 'स्वागत त भव्य थियो। तर दुर्गम क्षेत्र भएकाले सेवाप्रवाह कसरी गर्ने भन्ने चुनौती पनि थियो।'

गत भदौ ५ गतेबाट तेह्रथुममा प्रजिअको भूमिका निर्वाह गर्दै आएकी छिन् ओली।

भन्छिन्, 'प्रधानमन्त्री जन्मेको ठाउँ हो। अहिले धमाधम हाइवेको निर्माण भइरहेको छ। मध्यपहाडी लोकमार्गको काम भइरहेको छ।'

सिडिओले विकास प्रशासकको भूमिका पनि निर्वाह गर्नुपर्ने भएकोले स्थानीय सरकारदेखि निर्माण व्यवसायी र विभिन्न सरोकारवालासँग समन्वय र सहकार्य गर्नुपर्छ। समन्वयको यो काम सहज छैन। हिउँदको यो सुख्खा समयमा आगलागीका घटना उनका लागि चुनौती छन्। सुख्खाका कारण धेरै आगलागी तेह्रथुममा हुने गरेका छन्।  

जनसङ्ख्या घट्दो क्रममा रहेको तेह्रथुममा म्याङलुङसम्म यातायातको सुविधा भए पनि कतिपय वडामा सुविधा नपुगेको ओलीले बताइन्।

प्रधानमन्त्रीको जन्मगाउँ पुग्न ६ जिल्ला छिचोल्नुपर्ने उनी बताउँछिन्। 'आठराई गाउँपालिका जुन प्रधानमन्त्री केपी शर्मा ओली जन्मेको ठाउँ हो। वर्षाको समयमा म्याङलुङ बन्द हुँदा धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर लगायतका जिल्ला पार गरेर मात्र पुगिन्छ। हिउँदमा फोरह्विल गाडीमात्र जान्छ।'

आप्रवासी बढ्दो

पछिल्ला दिन तेह्रथुममा आप्रवासी आउने ट्रेन्ड बढ्दो छ। नागरिकताको चाहना राखेर आउने नेपालीभाषी आप्रवासी छन्।  

ओली भन्छिन्, 'प्रशासनले प्रमाण हेरेर काम कारबाही गर्ने हो। विना प्रमाण नागरिकता पाउँदैन। गलत नियत त अनुभवकै आधारमा पनि छुट्ट्याउन सकिन्छ नि।'

उच्च पदमा भएकालाई पनि हिंसा

प्रशासन समाजकै एक अंग भएकाले मनोविज्ञान त्यहाँ पनि प्रतिविम्वित हुने उनको अनुभव छ। पुरुष कर्मचारीले बोल्ने शब्दले पनि कहिले उनी स्वयं असहज महसुस गर्छिन्।

उनी भन्छिन्, 'पुरुष कर्मचारीहरू बढी भएको बेला उनीहरूले बोल्ने शब्द, देखाउने हर्कतले असहज महसुस गराउँथ्यो। त्यो पनि एक प्रकारको हिंसा हो। सुरुका दिनमा चुपै पनि लागियो तर पछिल्लो समय प्रतिकार गर्ने गरेको छु।'

महिला र पुरुष एकै तहका भए पनि पुरुषको जस्तो अनौपचारिक सर्कल नहुने ओलीले बताइन्। जुन सर्कलले पनि धेरै हदसम्म कामलाई प्रभाव पार्ने उनको बुझाई छ।

दशैँमा पनि बिदा नपाएकी उनले चाडबाडमा झन् खटिनुपर्ने बताइन्। भनिन्, 'त्योबेला झन् बढी खटिनुपर्छ। आपराधिक गतिविधि नहोस् भन्न र नागरिकको शान्तिसुरक्षामा कमी हुन नदिन योजना बनाउन, निर्देशन दिन थप व्यस्त हुनुपर्छ।'

काम, परिवार र करिअर सँगसँगै अगाडि बढाउन व्यवस्थापन पहिलो पक्ष रहेको उनले बताइन्। फुर्सदमा अध्ययन गर्न रुचाउने उनलाई पछिल्लो जिम्मेवारीले समय व्यवस्थापन कठिन भइरहेको छ। ओली जिम्मेवारीसँगै चुनौती र अझ बढी सिकाइ भएको बताउँछिन्।

दुर्गममा हेलिप्याडको व्यवस्था

सबै पालिकाको दुर्गम क्षेत्रमा हेलिप्याडको व्यवस्था गर्ने उनको योजना छ। सुख्खाग्रस्त क्षेत्रमा पानीका लागि प्लाष्टिक पोखरी बनाउने अभियान पनि जारी छ।

योजना अनुसार आठराई गाउँपालिकामा हेलिप्याड बनिसकेको छ। अन्यमा उपयुक्त सार्वजनिकस्थलको खोजी भइरहेको प्रजिअ चन्द्रकलाले बताइन्। भनिन्, हेलिप्याडको योजना भनेको विशेषगरी सुत्केरी महिलालाई विशेष अवस्थामा रेफर गर्दा र विपदमा परेकालाई उद्धारका लागि हो।'

स्थानीय तहका जनप्रतिनिधिलगायत प्रत्येक वडाबाट १० जना स्वयंसेवक छनोट गरी सर्च एन्ड रेस्क्यूसम्बन्धी तालिम दिने योजना रहेको पनि सुनाइन्।

स्वआर्जनको प्रसस्त सम्भावना बोकेको तेह्रथुममा उनको नमिठो अनुभव पनि छ। 'ढाका'को राजधानीभन्दा फरक नपर्ने तेह्रथुम , दूध, तरकारी, पशुपालन मुख्य आम्दानीको स्रोत हुन्। जहाँ वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि निकै छ। ओलीको अनुभव छ, 'जहाँ नागरिकताभन्दा राहदानी बनाउन आउने बढिरहेका छन्।'

सेवा प्रवाहलाई स्थानीयस्तरसम्म पुर्‍याउने उनको नियमित एजेण्डा छ। पुस १ गतेबाट इलाका प्रशासन कार्यालयबाट नियमित राहदानी वितरण सुरु भएको उनको भनाई छ। सडक यातायातको सुविधा नहुँदा नागरिकलाई सहजताका लागि आफू प्रयासरत रहेको ओलीले बताइन्। हस्त लिखित नागरिकता वितरणको प्रचलन अब सकिएको छ।

२५ प्रजातिका लालीगुराँस पाइने तीनजुरे, मिल्के र जलजले गुराँसका लागि प्रसिद्धस्थल नै मानिन्छन्। सिद्वामा बन्दा। लसुनेमा लसुन। तेह्रथुमका मौलिकता नै हुन्।  

तरकारी र पशुपालनले तेह्रथुमको आन्तरिक अर्थतन्त्र धानेको छ।  म्याङलुङको बन्दाकोबी भारत र बंगलादेशसम्म निर्यात हुने गरेको छ।

सिडिओको अनुभव श्रृखलाः-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell