२०७२ साल माघ २ गते। भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको मध्य भागमा रहेको न्हू पुखु (रानीपोखरी) पुनर्निर्माणको शिलयान्स गरिन्। देशै भरी पुनर्निर्माणको महाअभियान सुरु गरिन् उनले। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ललितपुरको बुंगमती पुगेर गुरुयोजना सार्वजनिक गरे। अनि निजी घर पुनर्निर्माणको शुभारम्भ गरे। बुंग द्य: (रातो मछिन्द्रनाथ) को मन्दिर पुनर्निर्माणका बारेमा प्रधानमन्त्रीले गम्भीर चासो पनि राखे।
चार वर्ष बित्यो। यसैबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्व फेरियो। ओली प्रधानमन्त्रीबाट हटेर फेरि दोहर्याएर प्रधानमन्त्री भए। तर, रानीपोखरी पुरानै आकारमा आउन सकेको छ। बुंगमतीमा रातो मछिन्द्रनाथ अस्थायी टहरामा राखियो।
सम्पदा पुनर्निर्माणको क्षेत्रमा सरकार कतै उदार त कत्तै उदासिन देखियो। २०७४/७५ सम्म सम्पदा पुनर्निर्माणका खासै उपलब्धी हासिल हुन सकिरहेको अवस्था थिएन, कारण धेरै थिए।
प्राधिकरण भित्रैको राजनीति, स्थानीय तह, पुनर्निर्माणका लागि काठको अभाव, कामदारको अभाव, अमूर्त संस्कृति संरक्षण गर्दै पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्ने चुनौतिका चाङ थिए।
तर, २०७६ सालमा भने सम्पदा पुनर्निर्माणको कामले राम्रै गति लियो। हालसम्म ३२ जिल्लाका ८ सय ९१ सम्पदा मध्ये ३ सय ८७ वटा सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भइसकेको छ। १ सय २३ वटाको सम्पदाको पुनर्निर्माणको काम चलिरहेको छ। प्राधिकरणका अनुसार ४३.४३ प्रतिशत सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न भइसकेको। पुनर्निर्माण भइरहेका सम्पदाहरु समेत गरी हाल ५७.२४ प्रतिशत काम प्राधिकरणबाट भइरहेको छ।
यद्यपि, अझै थुप्रै सम्पदाहरु जीर्ण अवस्थामा नै छ, पुनर्निर्माण कुर्दै।
राष्ट्रपति भण्डारीले शिलन्यास गर्दै सुरु गरेको महाअभियान कहिले सकिन्छ भन्ने टुंगो छैन। हाल रानीपोखरीमा पानी अड्याउनका लागि भने कालोमाटो, माअप्पा (पातलो इट्टा) बिछ्याउने काम भइरहेको छ। मन्दिर पुग्ने पुलको काम पनि तीव्र गतिमा भइरहेको छ।
सुरुमा त रानीपोखरी कसरी बनाउने भन्ने विवादमा नै धेरै वर्ष खेर गयो। अन्तत: गत वर्ष माघदेखि नै रानीपोखरी पुनर्निर्माणको दायित्व प्राधिकरण मार्फत् ल्याइएको थियो। अनि भक्तपुरका कालिगढहरुलाई ल्याएर रानीपोखरी पुनर्निर्माण सुरु गरियो।
२०७२ सालमा भूकम्प जाँदा मन्दिर गुम्बज शैलीको थियो। तर, त्यो राणाकालमा रानीपोखरीको परिवर्तित स्वरुप थियो। पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाएको रानीपोखरीको चित्रले फेला परेपछि रानीपोखरी राणाकालीन शैलीमा नभएर चित्रमा देखिएको झै ग्रन्थकुट (शिखर) शैलीमा बन्ने भयो। त्यसैले पनि मन्दिर बन्न अझै केही समय लाग्नेछ।
भक्तपुरबाट आएकाहरुले कालो माटो बिछ्याएर रानीपोखरीमा पानी अड्याउने काम सुरु पनि गरे। कामको चारैतिरबाट प्रशंसा पनि भयो। तर, तिहार यता भने भक्तपुरका कालिगढहरुबाट नभइ डोजरबाट रानीपोखरीमा पानी अड्याउन कालो माटो बिछ्याउने काम भइरहेको छ। उनीहरुले हात र खुट्टाले माटो मुछ्नेदेखि पानि अड्याउनका लागि कालो माटो बिछ्याउने काम गर्दै आएका थिए। तर, यसरी काम गर्दा ढिला हुने भन्दै अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एस्काभेटर र डोजरले माटोको काम गर्न सुरु गरेको हो।
पुनर्निर्माणको काम त सकिएला तर यहाँ पानी कसरी अड्याउने भन्ने बारेमा अझै निर्क्यौंल हुन सकेको छैन। बोरिङ, मेलम्चीको पानी लाइन, आकाशे पानीलाई विकल्पका रुपमा लिइएको छ।
रानीपोखरी अगाडि रहेको दरबार हाई स्कुलको पुनर्निर्माण पनि सकिएको छ। पुनर्निमाण प्राधिकरणले त्रि- चन्द्र कलेज स्थान्तरण गरेर पूर्वाधार तथा सुविधाहरुको व्यवस्था र रानीपोखरी क्षेत्र विस्तार गर्ने योजना बनाइरहेको छ। यता बुंगमतीमा रहेका रातो मछिन्द्रनाथ ६ महिनाका लागि पाटन ल्याइएको छ। मछिन्द्रनाथलाई टंगालस्थित मन्दिरमा राखिएको छ। तर, बुंगमतीमा पुनर्निर्माणको काम ओझेलमा पर्दा मछिन्द्रनाथलाई आउँदो वर्ष पनि टहरामा नै राख्नुपर्ने पक्का छ।
श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको मछिन्द्रनाथको मन्दिर ठेकेदारको लापरवाहीका कारण धेरै वर्षसम्म बन्न सकेन। केही हप्ता अघिमात्रै प्राधिकरण र सरोकालवालाहरुको छलफलबाट मन्दिरको पुनर्निर्माणको काम उपभोक्ता समिति मार्फत् गर्ने सहमति भएको छ। यसबाट आउने केही वर्षभित्रै मछिन्द्रनाथको मन्दिर बन्नेमा स्थानीयहरु ढुक्क छन्।
२०७२ साल वैसाख १२ गतेको भूकम्पपछि नेपालले वास्तविक सम्पदाको महत्व बुझ्यो। सम्पदा अर्थात् यहाँका मठ, मन्दिर, पाटी, पोखरी, गुम्बा। भूकम्पमा यिनै सम्पदाहरुमा धेरै क्षति पुग्यो।
काठमाडौं उपत्यकामा रहेका यिनै सम्पदाहरु अहिले रानीपोखरी र बुंगमतीमा जस्तै पुनर्निर्माणको चरणमा नै छन्। यस वर्ष सम्पदा पुनर्निर्माणमा अपेक्षाभन्दा राम्रो भएता पनि अझै धेरै काम गर्न बाँकी नै देखिन्छ।
काठमाडौं दरबार क्षेत्रमा रहेका धेरै मन्दिरहरु पुनर्निर्माणको पर्खाइमा नै छन्। कुमारी घर टेकोको भरमै छ। हालसम्म कुमारी घर पुनर्निर्माणका लागि कुनै प्रस्ताव भएको छैन। माजुदेग:को काम सुरु गरिए पनि सन्तोषजनक रुपमा अघि बढेको छैन।
काष्ठमण्डप पुनर्निर्माणका लागि काठको अभाव छ। काष्ठमण्डप पुनर्निर्माण समितिलाई काठ ल्याउन गाह्रो हुँदा समयमा नै काम नसकिने अवस्था छैन। सरकारले काठको लागि सहज व्यवस्था गर्न पहल लिएको देखिएन।
गद्धी बैठक त अमेरिकी सहयोगमा बन्यो तर अझै दरबार भित्रका धेरै भवन र आगम छें पुनर्निर्माण हुन बाँकी नै छ।
जंगबहादुले निर्माण गर्न लगाएको 'जङ्ग हिरण्य हेम नारायण मन्दिर २०७२ सालको भूकम्पमा पूरै ढलेको थियो। हाल उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएको बताइए पनि मन्दिर भित्रको अवस्था हेर्दा त्यस्तो छैन। वर्षातको समयमा पानी भित्र पसेका कारण मन्दिर असुरक्षित छ। तर, यसमा कुनै सुनुवाई भएको छैन।
यता, पशुपति क्षेत्रमा रहेको जयबागेश्वरी मन्दिरको पुनर्निर्माण पनि रोकिएको छ। मन्दिरभित्र पहिला गजुर भेटिएको थियो। अहिले भित्ते चित्र भेटियो। चित्रको संरक्षण कसरी गर्ने भन्ने विवाद उत्पन्न भयो। अभियन्ताहरु चित्र भत्काउन नहुने पक्षमा उभिए। पुरातत्व विभाग चित्र ननिकाली मन्दिर पुनर्निर्माण गर्न नसकिनेमा अडिग रह्यो। त्यसमाथि माटोले बनेको मन्दिर चुना सुर्काले बनाउन लागिएको भनेर विरोध समेत भए।
न त पुरातत्व न त अभियन्ताहरु नै मन्दिर पुनर्निर्माण प्रति सजग देखिए। पशुपतिनाथ मन्दिर समेत जीर्ण बनेको र पुनर्निर्माणको काम अगाडि बनाउनुपर्ने कुरा बारम्बार उठिरहेको छ।
ठेकेदारको भर नर्पदा छिटो काम
यता, पाटन दरबार क्षेत्रमा पनि पुनर्निर्माणको कामले गति लिइरहेको छ। तर, २०७२ सालको भूकम्पले पाटनका सम्पदाहरुमा क्षति पुग्यो। दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वेश्वर, मणिमण्डप, हरिशंकर मन्दिर, योगनरेन्द्र मल्लको शालिक इत्यादिमा भूकम्पले क्षति पुग्यो। पाटन दरबारभित्र रहेका सुन्दरी चोक, उत्तरी तलेजु, दक्षिणी तलेजु, बहादुर शाह बैठक भवन र मुल चोकमा समेत भूकम्पले प्रभाव पर्यो।
भूकम्पमा भत्किएका अधिकांश मन्दिरहरु पुनर्निर्माण भइसकेका छन्। कृष्ण मन्दिर, चार नारायण मन्दिर, विश्वेश्वर, मणिमण्डप, हरिशंकर मन्दिर, योगनरेन्द्र मल्लको शालिक, तलेजु पुनर्निर्माणको काम सकिएको छ। स्थानीयकै रहोबरमा भीमसेन मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ। बंगलमुखी मन्दिरका साथै अन्य मन्दिरहरुको पुनर्निर्माणको चरणमा नै छन्।
पाटनमा धेरैजसो सम्पदा निर्माणको काम ठेक्का मार्फत् नभइ स्थानीयहरुको रहोबरमा काठमाडौं उपत्यका संरक्षण कोष (केभीपीटी)को प्राविधिक सहयोगमा पुरातत्व विभागसँग मिलेर भइरहेको छ। त्यसैले पनि पाटनमा सम्पदा पुनर्निर्माणले राम्रो प्रगति हासिल गरेको स्थानीयको दाबी छ।
यस्तै, ठेकेदारी प्रथाको अन्त्य गर्दै उपभोक्ता समितिमार्फत् सम्पदा पुनर्निर्माणमा अब्बल ठहरिएको छ भक्तपुर। वैशाख १२ गतेको भूकम्पले भक्तपुरमा रहेका सयौँ सम्पदामध्ये १३० वटा सम्पदाहरूमा धेरै क्षति पुगेको थियो। करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको नगरपालिकाको दाबी छ। भक्त्तपुरको नगर प्रवेशद्वार, केदारनाथ मन्दिर, त्रिविक्रम मन्दिर, शङ्कर नारायण मन्दिरको निर्माण सम्पन्न भइसकेको छ। उपभोक्ता समिति मार्फत् नै भीमसेन मन्दिर पुनर्निर्माण सकिएको छ। न्यातापोल मन्दिर पुनर्निर्माणको काम भर्खरै सुरु भएको छ।
वत्सल्यदेवी मन्दिरको पुनर्निर्माण नगरपालिकाले आफ्नो रोहबरमा गरिरहेको छ। तर, तान्त्रिक विधिले निर्माण भएको उक्त मन्दिर छिटो सक्ने रहरमा जथाभावी गर्न नहुने भएकाले निर्माण सकिन अझै समय लाग्ने बताइएको छ।
भक्तपुर दरबार क्षेत्रभित्र प्रवेश गर्ने बित्तिकै अहिले पनि टेको लगाएर राखिएको एउटा दरबार देखिन्छ। त्यो दरबारमा हाल कला संग्राहलय रहेको छ। कला संग्रहालयसँगै रहेको लाल बैठक (सेतो दरबार) मल्लकालमा एउटै थिए। शाहकालमा त्यसलाई टुक्रा पारेर छुट्ट्याइयो। अहिले नगरपालिका कला संग्राहलयलाई आफू मातहत ल्याएर पुरानै ढाँचा दरबार बनाउने गुरुयोजना बनाउँदैछ।
कला संग्रहालयमात्र नभई भक्तपुरमा भत्किएका सबै सम्पदाको पुनर्निर्माणमा जर्मनीले सहयोग गर्ने प्रस्ताव गरेको थियो। जनप्रतिनिधि नहुँदा सम्पदा पुनर्निर्माण गर्ने सम्झौता पनि भएको थियो। तर स्थानीय निर्वाचनपछि त्यो सम्झौता भक्तपुरको हितमा नभएको भन्दै नगरपालिकाले अस्वीकार गरेको थियो।
समग्रमा उपत्यकामा रहेका सम्पदाहरुको पुनर्निर्माण राम्रै देखिए पनि अझै धेरै काम बाँकी नै रहेको देखिन्छ। पाटन र भक्तपुरमा पुनर्निर्माणको काम सन्तोषजनक देखिए पनि काठमाडौंमा भने सम्पदा पुनर्निर्माणका लागि अझै केही वर्ष लाग्ने देखिन्छ।