PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दुर्व्यवहारको दावी गर्दै फेसबुक लाइभमै आस्थाले झारिन् आँशु



पहिलोपोस्ट

दुर्व्यवहारको दावी गर्दै फेसबुक लाइभमै आस्थाले झारिन् आँशु

काठमाडौं : विमानस्थलमा लफडा गरेपछि विवादमा तानिएकी गायिका आस्था राउत आज दिउँसो फेसबुक लाइभमा रोएकी छिन्। एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको भन्दै आज फेरि फेसबुक लाइभमा आएकी हुन् उनी। यसअघि उनलै जारी गरेको भिडियो प्रयोग गरेको भाषा र शैलीलाई लिएर चर्को आलोचना भइरहेको छ।

उनले भिडियोमा प्रहरीप्रति आक्रोशित प्रस्तुत हुँदै 'डन्ठीनी', 'प्युसिनी' लगायत शब्द प्रयोग गरेकी थिइन्।

यसैबीच शुक्रबार दिउँसो आस्था एयरपोर्ट छिर्दै गर्दाको सिसिटिभी भिडियो फुटेज नेपाल प्रहरीले बाहिर ल्यायो। उक्त फुटेज सार्वजनिक भए लगत्तै आस्था राउत पुन: फेसबुक लाइभ आएकी हुन्। लाइभमा उनले घटनाबारे स्पष्टिकरण दिएकी छिन्। साथै उनले आफूले अघिल्लो लाइभ भिडियोमा आक्रोशित प्रस्तुत भएकोमा माफी पनि मागेकी छिन्।

'मैले दुई चारवटा शब्दहरु बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु। तर, ममाथि दुर्व्यवहार भएकै हो,' उनले लाइभमा भनेकी छिन्।

उनले एयरपोर्टमा रहेकी महिला प्रहरीले सुरुमा 'ज्याकेट खोल्नुस्' भने पनि दोस्रोपटक 'ज्याकेट खोल्' 'भनेको सुनिनस्?' भनेपछि आफू आक्रोशित भएको जनाएकी छिन्। मानिसको रुप र ओहोदा हेरेर व्यवहार गर्न नहुने समेत उनको तर्क छ। भनेकी छिन्, 'माथिल्लो तहका आर्मी पुलिसले आफूभन्दा तल्लो तहका लागि तँ सम्बोधन गर्छन्। अनि तिनले आफूले जे भोग्यो त्यही सर्वसाधरणमा पोखेका हुन्।'

महिला प्रहरीले आफूमाथि हात हालेको र प्लेन छुट्ने डरले हतार गरेको अवस्थामा पनि जबरजस्ती कफी आफ्नो ब्यागभित्र हाल्न खोजेका कारण संयमता गुमाएको उनको भनाइ थियो। सार्वजनिक भएको भिडियो फुटेज हेरेरमात्र धारणा बनाउन उनले अपील गरिन्। भनिन्, 'ममाथि दुर्व्यवाहर भएकै हो। मरेर जाने चोला हो यार। मैले किन झुट बोल्नु पर्‍यो? भगवानले साक्षी छन्। तपाईंहरु आफै पनि हेर्नुस्।'

प्रहरीहरुप्रति आफ्नो सम्मान भए पनि ८० प्रतिशत् प्रहरीको बोली र व्यवहार जनाताप्रति रुखो भएको उनको दावी छ। भिडियोमार्फत् नै उनले प्रहरीको व्यवहारको जरामा मलजल र औषधी उपचार गर्न सुझाव समेत दिइन्।

भिडियोमा उनले आफ्नो प्रस्तुत हुने शैलीका पटकपटक माफी मागेकी छिन्। भनेकी छिन्- 'नबिराउनु नडराउनु हो, म यस्तै स्वभावकी मान्छे हुँ। म एग्रेसिभ मान्छे हो। मेरो त गीतहरु पनि एग्रेसिभ नै हुन्छ। म त जन्मिदैदेखि आक्रमक जन्म्या। अहिले गलत कुरालाई गलत भन्दा मलाई गाली गर्नुहुन्छ?'

सम्वन्धित समाचार

सिसी टिभी फुटेजमा हेर्दा आस्थाले जे गरिन्... : गुमनाम त थिइनन् तर यस प्रकरणले उनको नाम हुन्छ कि बद्‍नाम?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell