PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सरकारको विरोध गर्दै यसरी मनाइयो सोनाम ल्होछार, बिदा उल्टोपाल्टो गर्ने मुख्यमन्त्रीलाई कारबाहीको माग

सरकारको विरोध गर्दै यसरी मनाइयो सोनाम ल्होछार, बिदा उल्टोपाल्टो गर्ने मुख्यमन्त्रीलाई कारबाहीको माग

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: तामाङ समुदायले सरकारको विरोध गर्दै जीवा ल्हो(मुसा वर्ग)को स्वागत गरेका छन्। ल्होछारको अवसरमा आज देश तथा विदेशमा आयोजित कार्यक्रमसमेत सरकारको विरोध भयो। 

सोही अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ चलचित्र संघको संयोजकत्व र नेपाल तामाङ घेदुङको सहसंयोजकत्व २८५६ सोनाम ल्होछार मनाइएको हो। 

फाग ल्हो(सुँगुर वर्ग)को बिदाई गर्दै मुसा वर्गको स्वागत गरिएको हो। प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथिको दिन वर्ग परिवर्तन हुन्छ।
 
कार्यक्रममा  नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, घेदुङका अध्यक्ष मोहन गोले तामाङलगायतले सम्बोधन गरेका थिए।

कार्यक्रममा महासंघका अध्यक्ष बरामले ११ गते ल्होछार भएपनि १० गते बिदा दिएर नाटक गरेको आरोप लगाए। उनले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौड्यलले तामाङमाथि खेलबाड गरेको दाबी गर्दै पौड्यललाई कारबाही हुनुपर्ने मागसमेत राखे। 

‘तामाङको ल्होछार उल्टोपाल्टो गर्ने मुख्यमन्त्रीलाई कारबाही गर्नुपर्छ। सोनाम ल्होछार कहिले त्यो प्रदेश प्रमुखलाई थाहा हुदैन?’बरामको प्रश्न थियो। बाग्मती प्रदेशले ल्होछारको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएको थियो। उनले तामाङको पर्वमा प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामनाको कुनै अर्थ नरहेको तर्कसमेत गरे।

यो पनि :'ल्हो'को वर्ष गणनामा मनपरी, खरायोको ठाउँमा कसरी पस्यो बिरालो?

सरकारले गत वर्षदेखि सार्वजनिक बिदा कटौती गरेकोमा असहमति जनाउँदै तामाङ समुदायले आन्दोलनकै रुपमा ल्होछार मनाएका हुन्। बिदा कटौतीको विरोधमा ल्होछार पर्वको मूल ब्यानरको माथिल्लो भागमा कालो पोतेर ‘सरकार, सोनाम ल्होछारको सार्वजनिक बिदा कायम गर!’लेखिएको थियो। सरकार विरोधी नारा भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख अतिथ्यता अस्वीकार गरेकी थिइन्। 

ल्होछारको अवसरमा विभिन्न संघ संस्थासहितको र्‍याली रत्नपार्क हुँदै टुँडिखेल परिक्रमा गरी कार्यक्रमस्थल प्रवेश गरेका थिए।

सोनामको अर्थ कृषक भएको र कृषकहरुको पर्वको रुपमा यसलाई लिइन्छ। जाडो यामको समापन र वसन्त यामको आगमन हुने तथा किसानको खेतीपातीको समय शुरु भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।

आजको दिन तामाङ समुदायले घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, प्रसाद खाने, शुभकामना आदनप्रदान गर्ने, मीठा परिकार खाने तथा नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गर्छन्। 

तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ यस पर्वमा। 



ट्रेन्डिङ पोस्ट

Ncell