PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

खेल क्षेत्रमा कोरोना भाइरसको त्रास, जापानमा हुने ओलम्पिकका भने असर नगर्ने



पहिलोपोस्ट

खेल क्षेत्रमा कोरोना भाइरसको त्रास, जापानमा हुने ओलम्पिकका भने  असर नगर्ने

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले कोरोना भाइरसको प्रकोपको बाबजुद ओलम्पिकको तयारी पूर्वनिर्धारित हिसाबले नै अघि बढ्ने बताएको छ।

कोरोना भाइरसले चीनमा २५९ जनाको मृत्यु र करिव १२ हजार मानिसमा सङ्क्रमण देखा पर्दा पूर्वी एसियाली मुलुक जापानमा हुने भनिएको ओलम्पिकमा असर नगर्ने कमिटीले बताएको हो।

'ओलम्पिकको तयारी पूर्वनिर्धारित हिसाबले अघि बढीरहेको छ।' आइओसीको एक रिपोर्टमा भनिएको छ, 'यो सामान्य अभ्यास हो कि आइओसिले यस्तो अवस्थामा युएनका एजेन्सीहरु सँग समन्वय गर्ने गर्छ। खेल आयोजनाका लागि हामी डब्लुएचओसँग समन्वय गरिरहेका छौं।'

'हामीसँग ओलम्पिक रद्द गर्ने कुनै योजना छैन,' जापानी ओलम्पिक कमिटीका अधिकारीहरुले एपिसँगको एक स्टेटमेन्टमा भनेका छन्, '‌ओलम्पिकको तयारी पहिलाको जस्तै अघि बढिरहेको छ। आइओसी र अन्य संस्थाहरुसँगको समन्वयमा हामी तयारी गरिरहेका छौं।'

जापानका अधिकारीहरु अवस्थालाई 'एड्रेस' गर्न तयार रहेको दाबी गरिरहँदा टोकियो ओलम्पिक पूर्वनिर्धारित समयमै हुने कमिटीले जनाएको हो। यद्यपि चीनमा तय भएका ओलम्पिककै क्लालियफायर्स अन्तर्गतको खेलहरु कोरोना भाइरसका कारण प्रभावित भएका थिए।

जापानमा पनि अहिलेसम्म १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भेटिइसकेका छन्। यद्यपि जापानमा कोरोना भाइरसका कारण मृत्यु भएको भन्ने विवरणहरु बाहिर आएका छैनन्। विश्व स्वास्थ्य सङगठनले पनि स्वास्थ्यको आपतकाल लगाइसकेको छ। यस्तोमा जापानमा यही वर्ष हुने भनिएको ओलम्पिक प्रभावित हुने भन्ने अड्कलबाजीहरु शुरु भइसकेकको छ।

जापानका खेलकुद मन्त्री सिको हासीमोटोले कोरोना भाइरसकै कारण ओलम्पिक प्रभावित नहुने बताए। विश्व खेलकुदको महाकुम्भ ओलम्पिक २४ जुलाइदेखि ९ अगस्टसम्म हुने निर्धारित छ।

'मलाई थाहा छ। मानिसहरु अहिले धेरै चिन्तित छन्। तर यो टोकियो गेम्स हो। यसमा चिन्ता लिन आवश्यक छैन। हामी इन्टरनेसनल ओलम्पिक कमिटीलगायत अन्य सम्बन्धित संस्थाहरुसँग सम्पर्कमा छौं। हामी ओलम्पिकका खेलहरुलाई सफल पार्न काम गरिरहेका छौं,' क्याविनेट वैठकपछि मन्त्री हासिमोटोले भनेका छन्।

यसअघिको रियो ओलम्पिकमा पनि जिका भाइसको प्रकोपका कारण खेल प्रभावित हुनसक्ने अनुमान लगाइएको थियो। ओलम्पिक शुरु हुन अब ६ महिना बाँकी छ।

यस भाइरसको संक्रमण बढ्दै गएपछि बुहानमा हुने तय गरिएको टोक्यो ओलम्पिक २०२० का बक्सिङ क्वालिफायर्स, र एसियन फुटबल कन्फिडिरेसन अन्तर्गतका फुटबल लगायतका खेलहरु समेत प्रभावित भएका थिए। कोरोना भाइरसको प्रकोप बढेसँगै ओलम्पिक कमिटीले क्वालिफायरका खेलहरु चीनमा गर्ने निर्णय रद्द गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell