PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आज च्याम्पियनको निर्क्यौल : मछिन्द्रलाई जित अनिवार्य, आर्मीलाई बराबरी नै काफी



मुकुन्द घिमिरे

आज च्याम्पियनको निर्क्यौल : मछिन्द्रलाई जित अनिवार्य, आर्मीलाई बराबरी नै काफी
तस्बिर: एन्फा

काठमाडौं: ‘लास्ट टाइम ड्र धेरै खेल्यौं। यसपटक त्यसलाई सुधार्नु पर्ने हामीले बुझेका छौं। त्यतिबेला 'गोल लेस ड्र'ले हामीलाई घाटा गराएको थियो। यस पटक हामी फिनिसिङ लाइनलाई सुधारेर लाँदैछौं,’ शहीद स्मारक ए डिभिजन लिग शुरु हुनुअघि त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास लिगको योजना सुनाउँदै पहिलोपोस्टसँग भनेका थिए, ‘हाम्रो लाइन अप ४-४-२ नै हो। फिनिसिङ लाइनलाई थप फोकस गरेका छौं यसपटक।’

अघिल्लो सिजन धेरै बराबरी खेलेर उपाधि होडमा धेरै माथि आउन नसकेको आर्मी यसपटक तालिकाको शीर्षस्थानमा छ। र, आज अन्तिम खेलमा प्रतिस्पर्धा छ आर्मी र मछिन्द्रको। दुवै टिम उपाधि होडमा छन्। तर, फरक यति छ कि त्रिभुवन आर्मी क्लबलाई उपाधि जित बराबरी पर्याप्त छ भने मछिन्द्रलाई जितको विकल्प छैन। फराकिलो हारले त उसको दोस्रो स्थानसमेत जोखिममा हुनसक्छ।

अघिल्लो सिजन लिगको पुछारभन्दा एक स्थानमाथि रहेको मछिन्द्र क्लब यसपटक लिग शुरु नहुँदै चर्चामा रह्यो। कारण थियो मछिन्द्रले भित्र्याएको स्टार खेलाडी। अघिल्लो सिजन मनाङ मर्स्याङदी क्लबले लिग उपाधि जित्दा टिममा सदस्य रहेका अधिकांश खेलाडीहरु मछिन्द्र प्रवेश गरे। त्यसमा पनि अधिकांश राष्ट्रिय खेलाडीहरु। कप्तान विराज महर्जनलगायतका स्टार खेलाडी भरिएको मछिन्द्रले १ ऋणात्मक अंकसहित लिग सुरु गर्‍यो।

लिगमा शुरु चरणहरुमा साविक विजेता मनाङले अग्रता बनायो। बीचतिर मछिन्द्रले र धेरैजसो त्रिभुवन आर्मी क्लबले। यी तीन टिमहरुबीच एकदमै थोरै अंकको फरक रह्यो। पछिल्लो समय च्यासल युथ क्लबसँग पराजित भएसँगै मनाङ पछि सर्‍यो र उपाधि होडमा चम्किए मछिन्द्र र त्रिभुवन आर्मी क्लब।

अंक तालिकामा १२ खेल खेलेर ९ जित २ बराबरी र १ हार ब्यहोरेका दुवै टोली मध्ये आर्मी क्लबको २९ अंक छ तर ऋणात्मक अंक लिएर लिगमा उत्रिएको मछिन्द्रको २८ अंक छ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले आफ्नो टिममाथिको जित्नै पर्ने दवावलाई बुझेका छन्। त्यसमाथि बलियो प्रतिस्पर्धी हुँदा थप खेल 'टफ' हुने बताउँछन्।

'आर्मीको टिमवर्क राम्रो छ। त्यसलाई तोड्न गाह्रो छ। हामीसँग इन्डिभिजुअल खेलाडी राम्रो छ। क्वालिटी खेलाडी हामीसँग राम्रो छ,' कटुवालले भने, 'हामीसँग विराजलगायतका मुख्य खेलाडी घाइते हुँदा यिनै खेलाडीहरु उत्रिन्छन् भन्ने अवस्था छैन। आर्मीलाई एउटा ड्र को अप्सन छ हामीलाई त्यो पनि छैन।'

त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास पनि पहिलो उपाधि जित्नका लागि उत्साहित छन्। 'बराबरीको अप्सन हामीसँग छ। तर मैले त्यसबारे सोचेको छैन। हामी जित्नकै लागि खेल्ने छौं,' खवासले भने।

मछिन्द्रका विराज महर्जन, सुजल श्रेष्ठ लगायतका खेलाडीहरु चोटसँग जुधिरहँदा विमल घर्ती मगरको इन्ट्रीले भने आर्मीमाथि दवाव बनाउन सक्छ। नेपाली फुटबल टिमको समेत नियमित स्ट्राइकर रहँदै आएका विमल कुवेतसँगको खेल अघि कार्वाहीमा परेका थिए। 'डिस्को कान्ड'मा एन्फाको कार्वाहीमा परेसँगै जारी सिजन उनको यो खेल पहिलो र अन्तिम दुवै हुनेछ।

आर्मी र मछिन्द्रको विगत

लिग उपाधिका लागि भिड्ने यी दुवै टोली ए डिभिजनको पहिलो उपाधि हुनेछ। स्टार खेलाडीले भरिएको मछिन्द्र र राम्रो टिमसेट भएको आर्मीमा पछिल्लो समय धेरै परिवर्तन भइसकेको छ।

शहीद स्मारक ए डिभिजन लिगका पछिल्ला ११ खेलहरुलाई विश्लेषण गर्ने हो भने आर्मी बलियो टिम देखिन्छ। आर्मीले ११ खेल मध्ये ६ खेलमा जित निकालेको छ भने ४ खेल बराबरीमा रोकियो, एक हार। तर, अहिले इतिहासभन्दा फरक अवस्था छ। अघिल्लो सिजन पुछारमा रहेका दुई टिम मध्ये एनआरटी र मछिन्द्र दुवै टिमको प्रदर्शन राम्रो रह्यो। जवकि साविक उपविजेता संकटाले शीर्ष ६ मा स्थान बनाउन सकेन। अघिल्लो सिजन र यो सिजनमै सबै टिमहरुको अवस्था फरक देखिँदा विगत हेरेर एउटा टिम बलियो भन्ने अवस्था छैन।

तेस्रो स्थानदेखि रेलिगेसनसम्म...

लिगको अन्तिम खेलसम्म आइपुग्दा पहिलो र दोस्रो स्थानका लागि आर्मी र मछिन्द्र भिड्दै छन्। त्यसभन्दा पछिका टिमहरुको लगभग निर्क्योल भइसकेको छ। अघिल्लो सिजन रेलिगेसन नराखेर आलोचना खेपेको एन्फाले यसपटक एउटा टिम रेलिगेसनमा पर्ने नियम बनाएको छ। जसमा लिग तालिकाको पुछारमा रहँदै दोस्रो डिभिजन लिगमा झरेको टिम हो, सरस्वती युथ क्लब। जारी लिगमा १३ खेल मध्ये १ जित र १ बराबरी बाहेक बाँकी सबै खेलमा पराजित भएको सरस्वतीले खराव प्रदर्शन गर्दै रेलिगेसनमा पर्‍यो। तालिकामा सरस्वती क्लबको ४ अंक छ। उसको निकट प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज क्लबको ९ अंक छ।

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले यसपटक तेस्रो स्थानमा छ। ४ वटा खेलमा बराबरी खेलेको मनाङले च्यासल युथ क्लबसँग पराजय भोग्यो जसले उसलाई उपाधि होडबाट टाढा पुर्‍यायो। मनाङको तालिकामा २८ अंक छ। जुन दोस्रो स्थानको मछिन्द्र क्लबसँगको समान अंक हो। मछिन्द्र गोल अन्तरको आधारमा मनाङभन्दा अगाडि छ। आजको खेलमा मछिन्द्र फराकिलो अन्तरले पराजित भएको खण्डमा मनाङ दोस्रो स्थानमा रहने सम्भावना पनि रहन्छ।

तालिकामा २६ अंक जोडेको थ्री स्टार चौथो स्थानमा रहँदा २० अंक जोडेको नेपाल पुलिस पाँचौं स्थानमा छ। त्यस्तै १९ अंकसहित जावलाखेल युथ क्लब छैटौं स्थानमा छ। सातौ स्थानबाट संकटा क्लब, एनआरटी, च्यासल, हिमालयन शेर्पा, फ्रेन्डस् क्लब, एपिएफ, ब्रिगेड व्वाइज र सरस्वती क्रमश १४ औं स्थानसम्म रहेका छन्।

खेल आज दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell