PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ओली क्याबिनेटका मन्त्री : कोही मन नपरेर फालिए, कोही आफ्नै बोलीको शिकार बने



प्रकाश भण्डारी

ओली क्याबिनेटका मन्त्री : कोही मन नपरेर फालिए, कोही आफ्नै बोलीको शिकार बने

काठमाडौं : दुई वर्षअघि २०७४ फागुन ३ केपी ओली प्रधानमन्त्री नियुक्त भए।

सुरुवातमा आफूसँगै दुई मन्त्रीको शपथ गराएका ओलीले क्रमशः मन्त्री थप गर्दै लगे। सत्ता साझेदार दलहरुबाट पनि मन्त्री थपिए।

दुई वर्षमा धेरै मन्त्री चर्चित बने। केहीले काम नगरेको भन्दै जनताले 'नोट' गरे। केही गुमनाम नै रहे।

दुई वर्षमा ओली मन्त्रीमण्डलले अपेक्षा अनुसार काम गर्न सकेन। कर्मचारीतन्त्रलाई भ्रष्ट्राचाररहित बनाउने उद्देश्य बोकेका ओलीका मन्त्रीहरु नै विवादमा फस्दै गए। कोही घुस मागेकोले चर्चित बने भने कोही विदेशमा पढ्ने विद्यार्थीबारे विवादास्पद टिप्पणी गरेर छाए।

यसरी चर्चामा आएका मन्त्रीहरुले अन्तत: ओली क्याबिनेटबाट हट्नै पर्‍यो। केहीले राजीनामा दिए। केहीलाई ओलीले हटाए। काम नगरेका केही मन्त्री अझै ओलीसँगै छन्।

कोही घुस माग्ने कोही बोल्न नजान्ने

'सरकारलाई हेप्नी' भनेर ओली क्याबिनेटको रक्षार्थ मिडियासामु उभिने मन्त्री गोकुल बाँस्कोटा आफ्नै कारणले पद गुमाउने पछिल्ला हुन्।

पत्रकारलाई गाली गरेर मिडियामा छाइरहेन उनी बिहीबार बिहानबाट नेपालभर छाए। कारण बन्यो ७० करोडको बार्गेनिङ।  

ओलीका विश्वासपात्र मन्त्री बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि पदबाट नैतिकताका आधारमा राजीनामा नै दिए।

मन्त्री भएदेखि नै बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा बस्दै आएका थिए बाँस्कोटा। ओलीले भन्ने गरेका थिए- विरोधीहरु बाँस्कोटाको अघि परे चुप लाग्छन्। तर मन्त्रीका रुपमा पैसाको बार्गेनिङ गरेपछि ओली क्याबिनेटबाट शक्तिशाली मन्त्री बाँस्कोटा बाहिरिए।

बाँस्कोटाले 'टेप काण्ड' का कारण पद गुमाए। यसरी आफ्नै बोली र व्यहारका कारण धेरैले ओलीको साथ छोड्नु पर्‍यो।

ओली क्याबिनेटमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहेका शेरबहादुर तामाङले रुँदै राजीनामा दिनुपरेको थियो २०७५ साउन ८ मा। 

बंगलादेशमा पढने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा मागे। तामाङको मन्त्री पद गयो।

ओलीलाई मन नपर्दा गयो मन्त्री पद

ओली मन्त्रीमण्डलमा धेरैले राम्रो मन्त्रीका थिए रुपमा  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट। सायद अरु मन्त्रीभन्दा सफल पनि। ओलीले मन्त्रीमण्डल पुनर्गठन हुँदा उनको पनि पद जान्छ भन्ने धेरैले सोचेका थिएनन्।

तर, उनी पनि मन्त्रीमण्डलबाट २०७६ मंसिर ६ गते बाहिरिए

कारण – ओलीले उनीमा केही देखेनन्। उनले मन्त्रालय सम्हाल्न सकेनन्। प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका योजना कार्यान्वयनमा विष्टले चासो नदिएको ओलीको बुझाई थियो।

यता विष्टको कार्य सम्पादन मूल्याङकन राम्रो भएको भन्दै कतिले उनलाई हटाएकोमा ओलीलाई प्रश्न समेत गरे। विष्टले मन्त्री हुँदा फ्रि भिसा फ्रि टिकटको ब्यवस्था ल्याए जुन निकै चर्चित बन्यो। यसकारण उनीसँग म्यानपावर व्यवसायी रिसाएका थिए। उनीहरुले फ्रि भिसा फ्रि टिकट व्यावहारिक नभएको भन्दै तर्क गरेका थिए। यो पनि उनको बहिर्गमनको एउटा पाटो थियो।

विष्टसँगै हटाइने अर्का मन्त्री हुन् संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डित। सुरुमा वातावरण मन्त्रीको जिम्मेवारी पाएका पण्डितले पछि सामान्य प्रशासनको जिम्मेवारी पाएका थिए। उनीलाई पनि मन्त्री भएपछि राम्रो कार्य सम्पादन मूल्याङकन पर्ने मन्त्रीका रुपमा हेरिन्थ्यो। पहिलोपटक मन्त्री हुँदा वाहवाही कमाएका मन्त्री पण्डितले दोस्रोपटक भने आफ्नो पहिलाको साख जोगाउन सकेका थिएनन्। त्यसमाथि ओली उनको काम देखेर असन्तुष्ट थिए र क्याबिनेटबाट फालिए।  

यसरी मन्त्रीमण्डल पुनर्गठन गर्दा हटाइएका अर्का मन्त्री हुन् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव। यादव र प्रधामन्त्री ‌ओलीबीच बेला बेलामा मन्त्री परिषदमै भनाभन हुने गरेको थियो। उनको मन्त्री पद जानुको कारण प्रधानमन्त्रीसँगको टसल र कार्य सम्पादन मूल्याङकनमा पनि कमजोर हुनु हो।

हटाइएका मन्त्रीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि विवादरहित रहन सकेनन्। उनी पनि बढिजसो ब्यवसायीको पक्षमा काम गर्न थालेको भन्दै आलोचित बन्दै आएका थिए। उनको कामहरुले सरकारलाई बदनाम हुन थालेपछि मन्त्रीको लिष्टबाट ओलीले उनलाई हटाए।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपणि खनाल राम्रै छविको मन्त्री भए पनि कार्य सम्पादनमा कमजोर हुँदा हटाइनेको सूचीमा परे। महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक मन्त्री थाममाया थापा पनि कार्य सम्पादनमा कमजोर मन्त्रीको रुपमा रहिन्।

योगेशलाई  मौका

प्रतिनिधिसभामा तापलेजुङमा चुनावी र्‍यालीका क्रममा ओलीले त्यहाँबाट निर्वाचन लडेका योगेश भट्टराईलाई मन्त्री बनाउने वाचा गरेका थिए। तर ओलीले मन्त्री परिषद् विस्तार गर्दा योगेशलाई बिर्से। ओलीको आलोचना भयो। तर जब २०७५ फागुन १५ मा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो। तब योगेशले मन्त्री बन्ने अवसर पाए। मन्त्री बन्ने बित्तिकै नेपाल भ्रमण वर्षलाई सफल बनाउने कार्यभार उनीमाथि छ। तर भ्रमण वर्षको सुरुवाती महिनामा नै विवादमा फस्यो। १० लाख पर्यटक भित्राउने महत्वकांक्षी योजना, यति मस्कट, गोक्यो लेकमा स्केटिङ लगायतका कुराले भ्रमण वर्षलाई छायाँमा पार्‍यो। त्यसमाथि नेपाललाई चीनमा फैलिको कोभिड १९  (कोरोना भाइरस) मुक्त राष्ट्रका रुपमा विश्वभर चिनाउने भनेपछि आशा गरेका युवा नेताप्रति धेरैले अहिलेदेखि नै अविश्वास व्यक्त गर्न थालेका छन्।

खानेपानी मन्त्री वीना मगर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी। मन्त्रीमण्डल पुनर्गठनमा उनलाई मन्त्रीबाट हटाउने योजना ‌ओलीको थियो। तर सकेनन्। मेलम्चीको पानी यो वर्ष त्यो वर्ष भन्दा काठमाडौंमा नझरेपछि वीनाको आलोचना हुँदैछ। यद्यपि, उनी क्याबिनेटमा प्रचण्डकी विश्वासपात्रकी रुपमा रहिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell