PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

राजपा : प्रदेशमा नेकपालाई फकाउँदै, केन्द्रमा थकाउँदै



प्रकाश भण्डारी

राजपा : प्रदेशमा नेकपालाई फकाउँदै, केन्द्रमा थकाउँदै

२०७६ पुसमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन मन्त्रीबाट राजीनामा दिए।

पुसको सुरुवातमै दुई बुँदे सहमति गरेर प्रदेश दुईमा राष्ट्रिय सभामा दुई दुई सिटमा सहकार्य गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपाबीचको सहमतिले चिढिएको समाजवादी सरकारबाट बाहिरियो।

त्यतिबेला धेरैले अड्कल काटेका थिए- प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी दललाई बिदा गरेर राष्ट्रिय जनता पार्टी (राजपा)लाई मन्त्रिपरिषदमा भित्र्याउने छन्। तर, दुई महिना वितिसक्दा पनि त्यो अनुमानले ठोस रुप लिन सकेको छैन।

राजपाका नेताहरुको भनाइलाई आधार मान्ने हो भने सुरुमा केपी ओलीले राजपालाई सरकारमा ल्याउन रुची देखाए। तर, पछिल्ला दिनमा यो विषय कहाँ पुग्यो कसैलाई जानकारी छैन। राजपालाई केन्द्र सरकारमा ल्याउने विषयमा यतिखेर छलफल नै छैन।

केन्द्रमा गलाउँदै, प्रदेशमा फकाउँदै राजपा

समाजवादीले सरकार छाडनु अघि नै राजपालाई प्रस्ताव आएको थियो, सरकारमा सहभागी हुन। तर, उसले आफ्ना माग दोहोर्‍यायो। संविधान संशोधन मुल मुद्दा छँदैछ राजपाको। केही दिनसम्म त राजपाका शर्तमाथि छलफल पनि भयो। तर, सरकारमै जाने गरी माग पूरा भएन। उसले पहिलैदेखि उठाएका मागलाई फेरि पनि दोहोर्‍याएको छ। रेशम चौधरीलाई छाड्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग छन् राजपाका।

राजपाका महासचिव मनिषकुमार सुमन केन्द्रीय सरकारमा जाने सम्भावन कम भएको बताउँछन्। भन्छन्, 'जुन दिनसम्म हाम्रा माग पूरा हुँदैनन् त्यस दिनसम्म सरकारमा जाँदैनौं ढुक्क हुनुस्। हाम्रा माग पूरा हुने सम्भावना पनि कम छ। तर, प्रदेशको राजनीति फरक हो।' उनको भनाइले राजपा प्रदेश नं २ को सरकारमा सहभागी हुने सम्भावना भने देखाउँछ। त्यसो भए के २ नम्बर प्रदेशमा राजपा र नेकपाको सरकार बनाउने तयारी हो? सुमन भन्छन्, 'प्रदेश दुईको अहिलेको सरकार नालायक हो। घुसखोरीमा चुर्लुम्म डुबिसक्यो ।यसको त कामै छैन्। पहिला प्रदेश दुई सरकार ढलोस् अनि सरकार बनाउने कुरा त छँदैछ।‘

सरकारले आफ्ना माग पूरा गरे ओलीको कुममा कुम मिलाएर सरकारलाई सहयोग गर्न तयार रहेको उनको दावी छ।

राजपाले संघमा सरकारलाई आफ्ना माग पूरा गर्न फकाइरहेको छ। तर, यता सरकारलाई राजपाको खासै आवश्यकता छैन। त्यसैले उनीहरुको माग ओझेलमा परेको छ।

‘प्रदेश दुईमा पुरानोको विस्थापन र नयाँको प्रतिस्थापन’

दुई नम्बर प्रदेश बाहेकमा अफ्नो नेतृत्वको सरकार चलाइरहेको नेकपालाई २ नम्बर प्रदेशको सरकार भने सुरु देखि नै टाउको दुखाइको विषय बनेको थियो। त्यही अनुरुप संघीय समाजवादीसँगै सहकार्य गरेर प्रदेश सरकारमा सहभागिता जनाएको राजपालाई नेकपाले राष्ट्रिय चुनावमा तालमेल गरेर आफू निकट ल्यायो। जुन प्रधामन्त्री केपी ओली र नेकपासँग रिसाएका मधेशी राजनीतिक दल र जनतालाई रिझाउने रणनीति अन्तर्गत भएको थियो। ओलीसँग रिसाएको राजपाले अन्तत: उनैसँग सहकार्य गर्नु पनि आफ्ना माग पूरा गराउने र सत्तामा जाने उद्देश्यका साथ भएको धेरैको ठम्याइ छ।

तालमेलपछि राजपाले प्रदेश सरकार ढाल्ने बताएको छ। महासचिव सुमन भन्छन्, 'अहिले हामी प्रदेश दुईको अहिलेको सरकारको विस्थापन र नयाँ सरकारको प्रतिस्थापन गर्न हामी लागिपरेका छौं।'

अहिले दुई नम्बर प्रदेशमा २५ जना सांसद राजपाका र ३२ नेकपाका सांसद छन्। राजपाका राज्यमन्त्री र मन्त्री गरी १३ जना समाजवादीको नेतृत्वमा सरकारमा सहभागी छन्।

सुमन दुई वर्षसम्म कुनै सरकार ढाल्न नहुने सवैधानिक वाध्यता भएकाले नयाँ सरकार गठनका विषयमा निर्णयमा नपुगेको बताए।

'हामीलाई दुई वर्षसम्म संवैधानिक बाध्यता छ। दुई वर्ष पुगिसकेपछि चर्चा परिचर्चा सुरु होला,’ उनले भने।

प्रदेश दुई सरकारले ८६ करोड रकम हिनामिना गरेको आरोप सत्तामै रहेको राजपाले लगाएको छ। 'विकास निर्माणमा सरकारसँग एक रुपैयाँ नलिएर काम गरेका छन् जनताले। सरकारले त्यही ८६ करोड रकम हिनामिना गरिदियो,' सुमनले आरोप लगाए।

प्रदेश दुईमा अहिले समाजवादी पार्टीको नेतृत्वमा राजपा सम्मिलित सरकार छ। त्यहाँ सरकार फेरिएमा राजपा निर्णायक हुनेछ। उसका २५ जना सांसद छन् प्रदेश सभामा।

केन्द्र सरकारबाट समाजवादीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा गरेसँगै प्रदेश दुईमा सरकार फेरिने चर्चा चलेको थियो।

उपसभामुखमा राजपाको दाबी

कृष्णबहादुर महराले सभुखबाट राजीनामा दिएपछि सभामुख या उपसभामुख मध्ये एक छाड्नुपर्ने बाध्यता छ नेकपालाई। संवैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्थाले नेकपाले तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सभामुखमा आफ्ना पार्टीका स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनायो। सभामुख चुनिएकै दिन २०७६ माघ १२ मा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले उपसभामुखका लागि कांग्रेसले कमण्डलु लिएर नआउने बताएका थिए।

फरक दललाई उपसभामुख बनाउनपर्ने बाध्यात्मक स्थिति भएकाले अब कुन दलको भागमा उपसभामुख पर्छ भन्ने धेरैलाई चासो छ। सुमन राजपाले उपसभामुखमा दाबी गर्ने बताउँछन्। यसमा नेकपाले पनि सकरात्मक देखिएको उनको धारणा छ। 'उपसभामुखमा राजपाले दाबी गर्ने नै छ। त्यसबेला नेकपाले पनि राजपालाई समर्थन गर्नेछ। नेकपाले समर्थन गर्दा केन्द्रमा हाम्रो पार्टीको उपसभामुख रहने चान्स छ,' उनले भने।

के राजपका माग पूरा होला?

माघ १ गते टुँडिखेलमा उभिएर नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेको कुरालाई आधारमान्ने हो भने रेशम चौधरी छुटनेछन्। माघीका अवसरमा थारु समुदायमाझ प्रचण्डले भनेका थिए, 'केही साथीहरू छुटेका छन्। रेशमलगायतका साथीहरू छुट्न बाँकी छन्। केही समयभित्र छुटाइन्छ। यसको परिणाम निस्कन्छ, हेर्नुहोला।'

रेशम चौधरी छुटे राजपको एउटा माग पूरा हुनेछ। तर, त्यसभन्दा पनि आफ्नो बटमलाइन बनाउँदै आएको संविधान संशोधनको माग भने पूरा हुनेमा राजपा विश्वस्त छैन। महासचिव सुमन यसमा सरकारले धोका दिएको बताउँछन्। 'उपेन्द्रजी त संविधानको पुनर्लेखन गर्नुपर्छ भन्दै सरकारमा सहभागी हुनुभएको हो। हामीले त संशोधन गरौं मात्र भनेका हौं। हामीले आश्वासन नपाएको भने होइन तर पूरा भएन। अब हेरौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell