PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कोरोनाबाट बच्न स्वास्थ्य मन्त्री ढकालको सुझाव, 'अंकमाल र चुम्बन नगरौं'



प्रकाश भण्डारी

कोरोनाबाट बच्न स्वास्थ्य मन्त्री ढकालको सुझाव, 'अंकमाल र चुम्बन नगरौं'

काठमाडौं : आइतवार सिंहदरबारस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दोस्रो तल्लाको सभा हलमा पत्रकार सम्मेलन गरे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले। करिब साढे ३ बजेपछि मन्त्री ढकालले पत्रकारसँग प्रश्नोत्तरमा भाग लिए। त्यसअघि मन्त्रालयका अरु प्रतिनिधि र डाक्टरहरुले बोलेका कोरोनाबारे धारणा राखेका थिए।

पत्रकार सम्मेलनमा मन्त्री ढकालले तीन महिनामा आफूले गरेका कामको फेहरस्ति सुनाउन थाले। उनले सय दिनमा आफूले सोचेअनुसारले काम गर्न नसकिएको स्वीकारे आफ्नो प्रगति विवरण सुनाउँदा।

'हामीले संरचनागत रुपमा कामहरु गरेका छौं। रिक्त ठाउँमा पदाधिकारी नियुक्त गर्‍यौ। अब कामले एउटा गति पाएको छ।'

कामको एक्सिलेटर बढाउन सकिएन

मन्त्री ढकालले काम गर्न नसक्नुको परिस्थितिजन्य विषय कारण भएको पटक पटक दाबी गरे। उनले परिस्थतिजन्य कारण भनेको कोरोना भइरसको संक्रमण भन्ने थियो।

'कोरोनाका पछाडि दुइ महिना लाग्नुपर्दा पनि काम गर्न सकिएन,' उनले सुनाए

उनले काममा एक्सिलेटर बढाएर जान खोजे पनि नसकिएको बताए। गरेका र गर्न नसकिएका कामको विवरण सुनाउदै गर्दा उनले अन्ततिर मात्रै राखे कोरोनाको विषय। पत्रकारको हात हातमा थमाएको विज्ञप्तिमा पनि त्यही थियो। तीन पृष्ठको विज्ञप्तिको अन्तिम पृष्ठमा छ कोरोनको विषय

काम गर्दा पनि गाली खानुपर्‍यो

ढकालले मन्त्रालयले कोरोना संक्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा ब्यवस्थापन गरी तीन चरणको कार्य योजना तयार पारेको पनि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे। उनले आफूले काम गर्दा गर्दै पनि गाली खाएको दुखेसो समेत पोखे पत्रकारका अघि। उनी यतिमा मात्रै सीमित रहेनन्। चीनबाट ल्याएर क्वारेन्टाइनमा राखेकाले सरकारले राम्रो गर्यो भन्दा विरोधीलाइ पचाउन औषधी नै खुवाउनुपरेको प्रसंग सुनाए।

'सुरुमा आउनै नदिने उपाय अपनाइने छ, त्यसपछि नेपालमा के कतिलाइ छ भन्ने पहिचान गर्ने र यदि नेपालमा पनि व्यापक भएमा आपतकाल घोषणा गर्ने हो', मन्त्री ढकालले भने।

उनले अब विमानस्थलमा प्लेन चढ्दा र झर्दा निगरानी गरिने बताए।

कोरोना संक्रमित राख्न विभिन्न अस्पतालमा गरी ४३ वटा 'आइसोलेटेड बेड' तयार पारिएको मन्त्री ढकालले बताए। मन्त्री ढकालले आफूले कोरोनाको तयारीका लागि काम गरेको भए पनि आलोचनामात्रै भएको गुनासो गरे।

भने,'चीनबाट आएर आइसोलेसनमा राखिएकाले सरकारले राम्रो गरेको भनेर भनेपनि यता आलोचना गर्नेले पचाउन सकेनन्। उनीहरुलाइ पचाएन सिटामोल खानुपर्‍यो।' मन्त्री ढकालले कोरोनाबाट बच्न तयारी गरिने तर बिरामी नै बेडबाट झारेर तयारी भने नगरिने तर्क गरे।

अंकमाल र चुम्बन नगरौ

अचम्म त के भने उनले बोल्दै गर्दा एउटा कुरा फुस्काए . भने,'भारतले अब आफ्ना देशका लागि भए पनि राम्रै गरिरहेको छ। अब चीन त यसैमा छ। त्यसैले पनि हाम्रोमा अलि जोखिम कम होला।'

उनको यो भनाईले सरकार जति संवेदनशिल हुनुपर्ने हो त्यो नभएको प्रष्ट हुन्थ्यो।

उनले कोरोना संक्रमणकै बारेमा बोल्दै गर्दा सल्लाह सुझाब समेत दिन भ्याए। उनको सल्लाह सुझाव थियो चुम्बन पनि नगरौं भन्ने। 'सबैलाइ के आग्रह छ भने सकेसम्म ठुला सभा सम्मेलनको आयोजना नगरौ। हात नमिलाउ। अंकमाल र चुम्बन पनि नगरौं,', उनले भने।

उनको चुम्बन नगर्न सुझाएको सल्लाह सम्मेलन हलमा हाँसो गुन्जिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell