काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको ६ दिन भइसकेको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था क्रमिक सुधार र स्थिर रहेको चिकित्सिक र उनको निजी सचिवालयको समेत भनाई आइरहेका छन्। दैनिक रुपमा सचिवालयले मिडिया बिफ्रिङ गरिरहेको छ।
तर प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारका सूचकहरु के हुन् र कसरी भइरहेको छ आम नागरिक अनविज्ञ नै छन्।
परीक्षण गरिएका सबै रिपोर्टको सूचकाङ्क अध्ययन नगरी यतिकै स्वास्थ्य ठिक छ भन्न नमिल्ने विज्ञ चिकित्सक बताउँछन्।
थापाका स्टाटस र अस्पतालका विज्ञप्ति
सबैतिर चासो थियो -प्रमको शल्यक्रिया कस्तो होला? यसलाई मध्यनजर गरी फागुन १९ गते प्रधानमन्त्री अस्पताल भर्ना भएदेखि सचिवालयले जानकारी गराइरहेकै थियो 'प्रधानमन्त्रीको स्वास्थ्य अपडेट भन्दै'।
२१ गते उनको शल्यक्रिया हुने थियो। बिहान १० बजेर १२ मिनेटमा ओलीका प्रेस सल्लाहकार सूर्य थापा फेसबुकमा स्टाटस लेख्छन्, 'सम्माननीय प्रधानमन्त्रीज्यूलाई मिर्गौला प्रत्यारोपणका लागि बिहान १० बजे अपरेसन थिएटरमा लगिएको जानकारी गराउन चाहन्छु।'
थापाले फेरि दिउँसो ३ बजेर ४८ मिनेटमा स्टाटस लेखे, 'सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। समीक्षा संग्रौलाले मिर्गौला प्रदान गरी उहाँलाई नयाँ जीवन दिनुभएकोमा बधाई छ।'
उनको पोस्टमा प्रधानमन्त्रीलाई खादा लगाउँदै गरेकी संग्रौला र ओलीका बुबा मोहनप्रसादको फोटो पनि छ। यसैलाई आधार मानेर धेरैतिर शल्यक्रिया सफल भएको समाचार आए अनि सामाजिक सञ्जालमा बधाई पनि।
थापाको जानकारीको केही समयपछि अस्पतालले प्रेस विज्ञप्ति जारी गर्छ। विज्ञप्तिमा उल्लेख गरिएको थियो, 'उहाँका मुख्य सूचकाङ्क राम्रो अवस्थामा छन्। प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ।'
पिसाबको हेडलाइन
विज्ञप्तिमा के कस्ता सूचकाङ्क हुन र तिनीहरूको मात्रा के कस्तो छ भन्ने उल्लेख थिएनन्। थापाले लेखेको स्टाटसमा भएको जस्तै सामान्य जानकारी मात्रै छ अस्पतालले जारी गरेको विज्ञप्तिमा पनि।
त्यसपछि विभिन्न सञ्चार माध्यममा चिकित्सकलाई हवाला दिँदै प्रधानमन्त्रीले यति पिसाब फेरे, उति पिसाब फेरे भन्दै समाचार आउन थालेका। समाचारका कतिपय हेडलाइन सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन्।
मिर्गौला र स्वास्थ्य अवस्था कसरी ठिक?
शल्यक्रिया भएकै दिन अस्पतालले दुई विज्ञप्ति जारी गरे पनि दुबैमा उनको मिर्गौला प्रत्यारोपणपछिको स्वास्थ्य अवस्थाको सामान्य जानकारी मात्रै छ। मिर्गौला कसरी ठिक छ? कसरी काम गरिरहेको छ? अरू शारीरिक अवस्था कसरी ठिक? भन्ने प्रश्नको उत्तर छैन। २२ गते, २३ गते हुँदै २५ गतेसम्म अस्पतालले जारी गरेको कुनै पनि विज्ञप्तिमा उल्लेख छैन स्वास्थ्य सूचकाङ्कको अवस्था कस्तो छ।
सबैजसो विज्ञप्तिमा उस्तै-उस्तै ब्यहोरा छ -उहाँलाई र मिर्गौला दान गर्ने भाञ्जी संग्रौलाको स्वास्थ्य अवस्था स्थिर छ। सूचकाङ्क ठिक छन् इत्यादि।
शल्यक्रियाको पाँचौँ दिन अर्थात् फागुन २५ गते पनि अस्पतालले विज्ञप्ति जारी गरेको छ। जसमा नियमित सन्तुलित आहार र हिँडडुल गराउन थालिएको जानकारी छ। भाइटल र ल्याब सूचकाङ्क पनि राम्रो भएको ब्यहोरा छ विज्ञप्तिमा।
अप्रेशनको पाँचौँ दिनसम्म पनि प्रधानमन्त्रीलाई हिँडाउन, खाना खान दिन थालियो भन्ने सूचना जारी गरिए पनि हिँडडुल गरेको जस्तो देखिने फोटो वा भिडियो सार्वजनिक गरेको छैन अस्पताल र प्रधानमन्त्री सचिवालयले।
ठिक छ भनेर मात्रै हुँदैन
स्वाभाविक रूपमा प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो छ आम नागरिकमा। कहिले ठिक भएर काममा फर्कन्छन् भन्ने प्रतीक्षा पनि। तर उनको अप्रेशनका दिन अस्पताल बाहिर देखिएको भीड भने बिस्तारै पातलो हुन थालेको छ। अस्पतालमै भएका अरू बिरामी र कुरुवालाई पनि त्यति चासो छैन उनको स्वास्थ्यबारे।
ओलीको सचिवालयले हरेक दिन दिउँसो ४ बजे मिडिया ब्रिफिङ गर्छ अस्पताल बाहिर। एकोहोरो जानकारी दिइन्छ ब्रिफिङमा।
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिराज काफ्ले यसलाई दुई वटा कोणबाट हेर्छन्। उनी अप्रेशनपछिको ल्याब रिपोर्टका सूचकाङ्क सार्वजनिक नगर्नु प्रधानमन्त्री ओलीको अधिकारको विषय ठान्छन्। अर्कोतिर यसलाई अस्पतालभन्दा पनि ओलीको सचिवालयले सूचना लुकाएको ठान्छन् काफ्ले।
भन्छन्, 'उहाँले म मेरो स्वास्थ्यबारे जानकारी अहिले दिन्न पछि सबै ठिक भएपछि दिन्छु भन्न पाउनुहुन्छ। यो उहाँको अधिकार हो।'
विवादको डर
डा. काफ्ले सचिवालयको निर्देशन अनुसार रिपोर्ट सार्वजनिक नभएको हुन सक्ने बताउँछन्।
'अस्पतालले त रिपोर्ट दिन्छ नै। तर विज्ञप्ति निकाल्दा सचिवालयको निर्देशनमा आउने भएकाले प्राविधिक विषय उल्लेख नभएका होलान्', उनी थप्छन्।
प्रधानमन्त्रीको ल्याब रिपोर्टबारे जानकारी नदिनुको अर्को कारण पनि देख्छन् उनी। काफ्लेका अनुसार ल्याब रिपोर्ट बाहिर ल्याउँदा वादविवाद हुने र कतिपय सन्दर्भमा प्रश्न उठ्ने भएकाले व्यक्तिको ओहोदालाई हेरेर रिपोर्ट सार्वजनिक गर्ने गरिन्छ।
तर डा. काफ्ले प्रश्न गर्छन्,'उहाँको नयाँ मिर्गौलाले कसरी काम गर्यो? काम त शरीरमा जोड्ने बित्तिकै गर्न सुरु गर्छ। स्वास्थ्य स्थिर छ भनेर मात्रै हुँदैन। कसरी ठिक छ स्वास्थ्य भन्ने कुरा त अहिलेसम्म सार्वजनिक भएको छैन।'
काफ्ले अस्पतालले सबै विवरण सार्वजनिक नगरेसम्म स्वास्थ्य ठिक भन्न नमिल्ने बताउँछन्। उनी भन्छन्, 'क्रिटिन परीक्षणपछि मात्रै खास अवस्था थाहा हुन्छ। त्यतिकै ठिक छ भन्न कहाँ पाइयो। हामीलाई त एक्ज्याक्ट थाहा छैन नि कस्तो छ भन्ने।'
उनी कतिपय देशहरूमा क्रिटिन परीक्षणको अवस्था सार्वजनिक गर्ने गरिएको बताउँछन्।
भन्छन्, 'कतिपय ठाउँमा यस्तो छ भनेर सबै सार्वजनिक गर्ने पनि चलन छ। कतिपयमा सार्वजनिक गरिँदैन। यो जनताले जान्न पाउनुपर्ने विषय हो। सबै ठिक छ भनेपछि सार्वजनिक हुने होला।'
डिस्चार्ज गर्न सक्छ तर जोखिम छ
ल्याब रिपोर्ट सबै राम्रो भएमा सातदेखि १० दिनभित्र मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई डिस्चार्ज गर्न मिल्ने डा. काफ्ले बताउँछन्। भन्छन्, 'इन्फेक्सन भएको छ वा छैन? पिसाब के कति मात्रामा भइरहेको छ? सुगर प्रेसरको अवस्था के छ? सबै रिपोर्ट हेरेर डिस्चार्ज गर्न मिल्छ।'
तर सुरुवाती चरणमा सबैभन्दा बढी जोखिम औषधिले मिर्गौलामा इन्फेक्सन हुन सक्ने उनी बताउँछन्। काफ्ले प्रधानमन्त्रीलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने सुझाव दिन्छन्।