
काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा मन्त्रालयका सचिव, नागरिक उड्ययन प्राधिकरणका अधिकारी तथा स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी थिए।
भेटका क्रममा चीनबाट फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रणमा भएको चिनियाँ प्रगतिको विषयमा छलफल भएको थियो।
राजदूत होउले चीनमा महामारी फैलिएसँगै चीन सरकारले रोकथामका लागि युद्धस्तरमा काम गरेको भन्दै यसले सकरात्मक नतिजा प्रदान गरेको बताएकी थिइन्। मंगलवारमात्र चिनियाँ राष्ट्रपति कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहान पुगेर कोरोना भाइरस नियन्त्रण उन्मुख रहेको सन्देश दिन खोजेका छन्।
चिनियाँ राष्ट्रपति सिको वुहान भ्रमणको संकेत : के संक्रमण नियन्त्रणतिर पुगेको हो?
'वर्तमानमा चीनको प्राथमिकता बद्लिएको छ। चीन बाहिरबाट आउने संक्रमण (इम्पोर्टेड केस) रोक्नु र अन्तर्राष्ट्रिय साझेदारी गर्नु अहिलेको प्राथमिकता हो,' उनले छलफलका क्रममा भनिन्, 'नेपाल लगायतका मित्र राष्ट्रले पुर्याएको सहयोग प्रति धन्यवाद दिन चाहन्छु र नेपालमा हाल कुनै पनि संक्रमण नभएकोमा म खुशी छु।'
सोमवारमात्र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन सम्वाद भएको थियो। यसले पनि महामारी नियन्त्रणमा दुई देशबीचको साझेदारीलाई अगाडि बढाउन मद्धत पुग्ने राजदूत होउले बताइन्।
त्यस्तै उनले महामारी नियन्त्रणका लागि सबै स्वास्थ्य सामाग्री तथा स्रोतहरुको परिचालन, फैलिरहेको महामारी रोक्न चीनले प्रयोग गरेको कार्य तथा चिनियाँ अनुभव नेपालमा पनि काम लाग्ने बताइन्।
कोभिड-१९ विश्वव्यापि स्वास्थ्य सुरक्षा आपतकालको रुपमा रहेको भन्दै त्यसलाई नियन्त्रणका लागि चीनले विश्वव्यापि रुपमा साझेदार गर्ने भन्दै राजदूत होउले चीनले छिमेकी देशका नाताले नेपालमा कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि साझेदारी गर्ने बताइन्। उनले त्यसका लागि नेपालसँग संयुक्त रुपमा रोकथामका लागि काम गर्ने प्रतिवद्धतासमेत जनाएकी छिन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग चिनियाँ राजदूत होउले नेपालमा कोरोना भाइरसको रोकथामका लागि पूर्व तयारीबारे जिज्ञासासमेत राखेकी थिइन्।
भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिएका थिए।
राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन्।
कोरोनाको सम्भावित जोखिमबाट बच्न नेपालले अपनाएको पूर्व सतर्कता र तयारीको प्रशंसासमेत गरिन्।
अन्तरराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा श्ययाको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको मन्त्री भट्टराईले बताएका थिए। उनले कोरोना भाइरसको रोकथामका लागि नेपालले चीनसहित दक्षिण कोरिया,जापान, इटालीलगायतका देशका नागरिकलाई दिँदै आएको अन अराइभल भिसामा रोक लगाएको जानकरी दिएका थिए। त्यस्तै मन्त्री भट्टराईले वुहानबाट नेपालीलाई फिर्ता ल्याउनका लागि चीन सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।
नेपालबाट वैदेशिक रोजगारीमा ठूलो संख्यामा कामदारहरु खाडी, दक्षिण कोरिया लगायतका क्षेत्रमा रहेको भन्दै यसले केही गम्भीरता सिर्जना गरेको बताउँदै यस्तो अवस्थामा नेपालमा संक्रमण नभित्रिओस भनेर सतर्क रहेको मन्त्री भट्टराईले बताएका थिए।