PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जसले गीता छुवाएर कसम खान बाध्य बनाए राप्रपाका नेताहरुलाई, 'मेरो कुरा सुनुवाई नभएपछि माइक खोसेर बोलें'



प्रकाश भण्डारी

जसले गीता छुवाएर कसम खान बाध्य बनाए राप्रपाका नेताहरुलाई, 'मेरो कुरा सुनुवाई नभएपछि माइक खोसेर बोलें'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच एकताको घोषणा भयो राष्ट्रिय सभा गृहमा। एकता समारोहमा तीन जना अध्यक्ष कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले गीता छोएर पार्टी नफुटाउने कसम खाए। पार्टी एकता घोषणासभामा गीता छुने पूर्व निर्धारित कार्यसूची भने थिएन।

तीन अध्यक्षमध्ये सबैभन्दा पहिला बोलेका कमल थापाले खल्तीबाट सानो गीता तानेर अब पार्टी कहिल्यै नफुटाउने कसम खाए। यसरी कसम खान बाध्य गराउने नेता थिए, राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा।  सिंखडाले सभामा तीन अध्यक्षलाई खादा लगाइरहेका बेला पोडिययमा माइक तानेर गीता छोएर कसम खान नेताहरुलाइ चूनौति दिएका थिए।

पार्टी कार्यक्रममा किन यसरी अराजक रुपमा प्रस्तुत भए त सिंखडा? पहिलोपोस्टका प्रकाश भण्डारीले सिंखडासँग यसबारे प्रश्न गरेका छन्।

जबरजस्ती माइक तानेर पार्टीका नेताहरुलाई चुनौति दिन केले प्रेरित गर्‍यो तपाईंलाई?

हामी हिन्दु धर्ममा विश्वास गर्ने मान्छे हौं। राप्रपा पाँच पटक फुटिसकेको छ। बेलाबेलामा हामीले धोका खाएका छौं। अब मैले राप्रपाको केन्द्रीय कमिटिमा बारबार गीता छुनुपर्छ भनेको थिएँ। तर कसैले सुनेन। आजको एकता सभामा पनि म लगाएतका कार्यकर्तालाइ बोल्ने कुनै सुची दिइएन।

अनि बेला बेला फुट्न र बेला बेला मिल्ने भएकाले अरु बेलाको जस्तो धोका नहोस भनेर गीता छुन भनेको हो। हेर्नुस संसारमा गीता भन्दा ठुलो केही छैन। त्यही भएको भएर माइक जबरजस्ती समातेर गीता छुन भनेको हुँ। सबै नेताहरुले छुनु भो।

यसरी अराजक बन्दा कार्यक्रम बिथोलिएको भए?

मैले बारबार भन्ने गरेको थिएँ। तर कसैले सुनेनन्। हामीजस्तालाइ बोल्न दिने कुरा पनि भएन। मैले त्यसो भनेपछि माहोल हेर्नुस न। कस्तो भयो? विथोल्यो त? आम कार्यकर्ताको मनमा थियो यो कुरा। तर कसैले भन्न सकेका थिएनन्।

नेताहरुले गीता छुँदैमा पार्टी फूट्दैन भन्ने के छ त ग्यारेन्टी?

नेताहरुलाइ लागेको थिएन होला आम कार्यकर्तालाई लागेको थियो। मैले बोल्दा खेरी पनि कार्यकर्ताको साथ हेर्नुस त। नेताहरु खुसी भएन होलान्। तर कार्यकर्ता खुसी छन्। हामीले धोका खाएका छौं। नेताहरुले हो पार्टी फुटाएको। हामीले त कैले पनि फुट्नुपर्छ भनेका छैनौ। मैले त फेसबुकमै पनि स्टाटस लेखेर भनेको थिए। गीता छुनुपर्छ भनेर। अब गीता नै छुएपछि कसरी पार्टी फुटाउँछन् सनातन धर्म मान्ने पार्टीका नेताहरुले। मैले राप्रपाको केन्द्रीय कमिटिका वैठकमा भनेको थिए। तर एकता वार्तामा त म थिएनँ। अनि राप्रपा संयुक्तसँग पनि मैले भनेर हुने कुरा भएन। त्यसैले पनि मैले जबरजस्ती गर्नु परेको हो।

पार्टीका केन्द्रीय नेताहरु त तपाइसँग रिसाए होलान् नि?

मैले अहिले पशुपति शम्शेरलाइ पनि नमस्कार गरेको थिएँ। उहाँले 'ठीक गर्नुभो' भन्नुभयो। डा प्रकाशचन्द्र लोहनी पनि मलाई देखेर हास्नुभएको थियो। अब कमल थापा त हाम्रो राप्रपाका अध्यक्ष नै हुनु भो। मलाइ लाग्छ उहाँको अनुहार हेर्दा उहाँले पनि 'ठीक गरिस्' भनेजस्तो लाग्यो। कार्यकर्ताले हेर्नुस् त, अहिले मलाई कसरी बधाई दिइरहनुभएको छ। हामीले नेताहरुका लागि राजनीति गरेको हो र? देशले अहिले के खोजिरहेको छ। त्यसको मतलव गर्नु पर्दैन? राप्रपाका सबैजसो नेताले आफ्नो स्वार्थका लागि राप्रपा फुटाए। कहिले फुट्ने कहिले जुट्ने रोगले कार्यकर्तामा निरासा छ।

अब त्यसो भए पार्टी फुटदैन अब?

हेर्नुस्, हिन्दु धर्म मान्नेका लागि सबभन्दा ठुलो गीता हो। यही गीतालाइ राखेर खाएको कसम तोड्ने दुस्साहस नेताहरुले नगर्लान्। गीता छोएपछि नेताहरुमा पनि नैतिकता पलाउँला। अर्कोतिर आम कार्याकर्ता र नागरिकमा के म्यासेज गएको छ भने - अब राप्रपा फुट्दैन भन्ने हो।

आफ्नो कुरा नेताहरुले मानिदिएकोमा खुसी हुनुहुन्छ होला हैन?

म भन्दा पनि कार्यकर्ता खुसी भएका छन्। कार्यकर्ता खुसी भएको हेर्ने मन थियो। त्यो पुरा भयो। सबैले 'राम्रो गरिस्' भनेकाले म एकदमै खुसी छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell