PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सत्ताको मह चाख्‍न पार्टी फुटाल्नेहरुको एकता : कतिञ्जेल अटाउलान् एकै घारमा?



नेत्र तामाङ

सत्ताको मह चाख्‍न पार्टी फुटाल्नेहरुको एकता : कतिञ्जेल अटाउलान् एकै घारमा?

पूर्व पञ्चहरुको पार्टी भनेर चिनिएको राप्रपाहरुको बुधवार राष्ट्रिय सभागृहमा एकता भयो। सत्ताको स्वाद चुस्ने लोभले टुक्रिँदै गएको राप्रपाका नेताहरुलाई गणतन्त्र अफापसिद्ध भएपछि बल्ल एकै घारमा भेला गरायो।

राजतन्त्र हुँदा चौथो/पाँचौं शक्तिका रुपमा उभिने राप्रपाका नेताहरुले प्रधानमन्त्री पद पनि हत्याइरहेका थिए। हलो र गाई देखाएर हिन्दुको नारा फलाक्दै दोस्रो संविधानसभासम्म पनि राप्रपाले राज गरेकै हो।

तर, गणतन्त्रले राप्रपालाई उप प्रधानमन्त्रीमाथि नपत्याइदिएपछि पशुपति शम्शेरदेखि कमल थापासम्मले अब कङ्कल बनेको राजतन्त्रको खोजी गरेका छन्। किनकि, चौथो पाँचौं शक्तिका रुपमा उभिँदा पनि प्रधानमन्त्री पद पाउने भनेको राजतन्त्रको समयमा मात्र रहेछ भन्ने सिद्ध भइसकेको छ।

संविधानसभाको निर्वाचनपछि वाम गठबन्धनले कांग्रेसलाई नै कर्नरमा पुर्‍याएको अवस्थामा तीन फ्याक भएको राप्रपा पानीबिनाको माछा जस्तै हुन पुग्यो। कांग्रेसले काँध थाप्दा पनि फुटेको राप्रपाको उचाई भुँईमै बिलायो।

प्रजातान्त्रिक शक्तिहरुको गठजोडका नाममा कांग्रेसले काँध थापे पनि हार व्यहोरेपछि उल्टै कांग्रेसकै असहयोग भएको आरोप लगाउन पछि परेनन्, राप्रपाका नेताहरु।

पछिल्लो निर्वाचन अघिसम्म केपी ओलीको पहिलो प्रधानमन्त्री कार्यकालमा २०७२ असोज २५ देखि २०७३ साउन २० गतेसम्म उप प्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकास मन्त्री, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा २०७३ फागुन ४ देखि २०७३ चैत २२ गतेसम्म उप प्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री बनेका कमल थापा शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारमा पनि उप प्रधानमन्त्री थिए। उनी बाहेकका राप्रपाका अरु नेताले खासै सत्ताको स्वाद चाख्न पाएका छैनन् पछिल्लो समय। दुई वर्षको अवधिमा सत्ता र शक्ति नपाएको झोकमा रन्थनिका छन्, थापा।

अनि नुहेका छन् अहिले। र, कमजोर मानिएका पशुपति शम्शेर र डा प्रकाशचन्द्र लोहनीसँग अध्यक्षमा साझेदारी गर्दै एउटै घारमा अटाउन वाध्य भएका छन्।

यो भोक पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र लिङ्देनले बुधवार प्रयोग गरेका दुई/चार वाक्यबाटै प्रष्ट हुन्छ। लिङ्देन एकता सभामै भन्दै थिए, 'म एक जना राजेन्द्र लिङदेनलाई बचाउनु भएको छ। साथीहरु कहाँ पुगे? तपाईँहरुले पार्टी फुटाउने आफ्नो स्वार्थका लागि? तपाईँहरुको स्वार्थको जाँतोमा हामी पिसिएका छौं।'

यसरी स्वार्थै स्वार्थमा सलत्तसुलुत्त हुन सक्ने पार्टीका नेताहरु अहिले एकै घारमा भित्रिएका हुन्। यो एकता धेरै टाढासम्म पुग्नेमा विश्वस्त देखिँदैनन् पार्टीका मध्यम वर्गीया नेता नै। त्यसैले यसमध्येकै एक नेता हलमै हस्तक्षेप गर्न पुगे। अनि गीता छोएर कसम खान लगाए। यो उनकै काम हो या कमल थापाको 'स्टन्ट' यसै भन्न सकिन्न।

एकता समारोहको शुरुवातमै काठमाडौं राप्रपाका अध्यक्ष नवराज सिंखडाले खोसेको एक मिनेटले झन्डै हुलदंगा मच्चिएको थियो।

त्यो क्षणलाई अध्यक्ष कमल थापाले शान्त बनाउने प्रयास गरे। दीपक बोहोरा बोलिसकेको मौकामा चौका हान्न पुगेका सिंखडाले पार्टीका नेताहरुलाई गीता छोएर कसम खान बाध्य बनाए। गीता छोएरै राप्रपा नेपालका अध्यक्ष थापाले भने, 'पार्टी कहिल्यै फुटाउने छैन।'

त्यही बेला होहल्ला मच्चियो हलमा। त्यसपछि जंगिनुपरेको थियो कमल थापालाई। माहोल त शान्त भएन। त्यही बेला वाग्मती प्रदेशकी सदस्य रीना गुरुङले आफ्नो सम्बोधन शुरु गरिन्।

'जय हिन्दुराष्ट्र', 'जय राजतन्त्र'भन्दै दर्शकदीर्घाको साथ खोजिन् उनले। पूर्व मन्त्रीसमेत रहेका विक्रम पाण्डे निकट मानिएकी रीना बोल्न थालेपछि माहोल झनै बिग्रन थालेको थियो। लगत्तै प्रवक्ता राजेन्द्र लिङ्देन पोडिएममा देखिएपछि माहोल केही शान्त भयो।

हिन्दुत्व र राजतन्त्रको नारा उछालेर राजनीतिक वैतरणी तर्ने दाउमा रहेको राप्रपाको एकतामाथि पहिलो गाँसमै लागेको ढुंगा थियो यो।

कुनै बेला अदालतमा गीता छोएर कसम खुवाइन्थ्यो। अहिले भारतका कतिपय शपथमा गीता नै छोइन्छ। भारतीय फ्याक्टरलाई खुशी बनाउन पनि हुन सक्छ, राष्ट्रिय सभागृहको एकता घोषणासभामा कमल थापाले सानो गीता प्रदर्शनी गरे।

राप्रपा नेपाली राजनीतिक इतिहासमा जुट र फुटको प्रशस्त अभ्यास गर्ने पार्टी हो। जबजब देशमा नयाँ सरकार बन्छ, तेस्रो/चौथो शक्तिमा रहेको राप्रपालाई कतै न कतै पट्टि ढल्कने अवसर पाउँछ।

यसरी नै तेस्रो अथवा अन्तिम शक्ति भएर पनि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दलाई फलिफापै फलिफाप भयो। प्रधानमन्त्री पद पड्काइरहन पाए प्रजातान्त्रिक अभ्यासको कार्यकालमा।

गणतन्त्रको स्थापनापछि भने राप्रपाका लागि लागि यात्रा सुखद् रहेन। कमल थापाको 'सोलो पर्फर्मेन्स' चाहिँ भयो लगातार उप प्रधानमन्त्रीमा।

गणतन्त्रपछि पार्टी जुटफुटको शृङ्खला

चन्द र थापाको रजाई चल्ने पार्टी समय अनुसार फुटिरह्यो, जुटिरह्यो। पछि सूर्यबहादुर थापाले जनशक्ति पार्टी भनेर नयाँ पार्टी पनि बनाए।

२०७३ मंसिर १ मा कमल थापा र पशुपति शमशेरको राप्रपाबीच एकता पनि भयो। त्यही वर्षको चैत १६ मा डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) घोषणा भयो।

हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनालाई नै मूल लक्ष्य बनाएर उनी मुल पार्टीबाट अलग भएका थिए।

२०७४ साउन २२ गते थापा र शम्शेर पनि अलग अलग भए।

राष्ट्रिय सभागृहमै २०७५ माघ १८ गते पशुपति र प्रकाशचन्द्र एकीकरण भएर राप्रपा संयुक्त बन्यो। यसरी टुटफूट भएको पार्टी राप्रपा संयुक्त र राप्रपाबीच फेरि एकता भएको हो।

पुरानो एकताको ओहोरीदोहोरी

२०४७ जेठ १५ गते यी दुई समूहले अलग–अलग पार्टीको रूप लिए। फलस्वरूप, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टी जन्मिए। थापाले गाई र चन्दले हलो चिन्ह बोकेर निर्वाचन आयोगमा दर्ता गराएका थिए। २०४८ सालको माघमा राप्रपा (चन्द) र राप्रपा (थापा) पार्टी एकता भयो। पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी।

२०५६ तिर छुट्टेका थापा र चन्द एक वर्षमै फेरि मिले। २०६१ सालमा सूर्यबहादुर थापा राप्रपाबाट बाहिरिँदै राष्ट्रिय जनशक्ति पार्टीको निर्माण गरे। यता कमल थापाले राजाको कदमलाई समर्थन गर्दै राप्रपा नेपाल गठन भयो। अनि राप्रपा तीन समूह बन्यो। सूर्यबहादुर नेतृत्वको राजपा र राणा नेतृत्वको राप्रपाले गणतन्त्र र धर्मनिरपेक्षता स्वीकार्यो। तर, कमल थापाले राजसंस्था र सनातन हिन्दुराष्ट्रको पक्षमा निर्वाचनमा गयो।

२०५९ मा सूर्यबहादुरको राजपा र पशुपतिको राप्रपा एक भयो। त्यसमा चक्रीय प्रणालीअनुसारको अध्यक्ष बनाइयो। जसअनुसार सूर्यबहादुर थापा, पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष हुने व्यवस्था भयो। कमल थापाको राप्रपा नेपाल एकतामा सहभागी भएन।

दोस्रो संविधानसभाको निर्वाचनमा राप्रपा नेपाल २५ सिटसहित मुलुकको चौथो शक्तिका रुपमा उदायो। उता, राप्रपाले १३ सिट प्राप्त गर्‍यो। तिनै दुई पार्टी २०७३ मंसिर १ मा एक भएका थिए।

राप्रपाको जुटफुटको इतिहास हेर्दा सत्ता र शक्तिको रस चुस्न पाउने भएपछि फुटिहाल्ने र कमजोर भएपछि जुटिहाल्ने प्रवृत्ति दोहोरिएको देखिन्छ। अहिले दोस्रो अर्थात् कमजोर भएको अवस्था हो। त्यसैले कमल थापा, पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनी तीनै जना अध्यक्ष बनेर एकै घारमा हुलेका छन् पार्टीहरुलाई।

कति दिनसम्म कर्मशील मौरीजस्ता नेताहरुबाबाट मह संकलन गर्न लगाउने हो यसको दिनगन्ती सायद शुरु नै भएको होला। सत्ता र शक्तिको स्वाद वरपर चुस्ने मौका पाउनसाथ कुन चाहिँ अध्यक्ष रानो बनेर रडाको मच्चाउने हो त्यो भने भने हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell