PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्दा जे देखियो ...



प्रकाश भण्डारी

प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्दा जे देखियो ...

काठमाडौं : मिर्गौला प्रत्यारोपणको १२ दिनपछि शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री केपी शर्मा ओली। पिएम ओली कहिले डिस्चार्ज हुन्छन् भन्ने प्रश्नको उत्तर अस्पतालले शुक्रवार अपरान्ह मात्र दियो, विज्ञप्तिमार्फत्। साढे चार बजे अस्पताल पुग्दा सञ्चारकर्मी, कार्यकर्ता र शुभचिन्तकको भिड जम्मा हुन थालिसकेको थियो। त्यही बीचमा देखिए सरकारका केही मन्त्रीहरु पनि। ओली बाहिरिँदा सञ्चारकर्मीको तछाडमछाड नै भयो। अस्पतालबाट हात हल्लाएर मुस्कुराउँदै बाहिरिएका ओली सिढीमा झण्डै लडेका थिए।

झण्डै लडेका ओली

नीलो ज्याकेट कटराइजको खैरो पाइण्ट कालो टोपी र चस्मा लगाएका ओलीलाई अस्पतालले शुक्रबार साँझ पौने ७ बजे बाहिर ल्यायो। अप्रेशनपछि उनलाइ मिर्गौला दिने समीक्षा संग्रौला र प्रधानमन्त्री पत्नी राधिका शाक्यले मात्रै भेट्न पाएका ओलीलाई धेरैले आज साँझ देख्न पाए। उनी अस्पतालबाट कुन बेला डिस्चार्ज हुन्छन् भन्ने कौतुहलता थियो, जम्मा भएको भिडलाई।

त्यही बीचमा उनलाई अस्पतालबाट बाहिर ल्याइयो। बाहिर ल्याउँदा उनलाई अरुले थेग्न परिरहेको देखिन्थ्यो। त्यहीँ हो उनी झन्डै नलडेका। समर्थक र फोटोग्राफरलाई हात हल्लाउँदै त्यतै हेरेका ओलीको खुट्टा सिंढीमा लरबरियो। धन्न दायाँ बायाँ रहेकाले समातेर थामे।

मुस्कुराउँदै फर्किए घर

लामो अस्पताल बसाइपछि देखिएका प्रम ओलीलाई रोकिँदै निकालिएको थियो। उनी सञ्चारकर्मीका अगाडि देखापर्दा सुरुमा मुस्कुराए। त्यसपछि हात हल्लाए।

यसअघि सधैजसो अस्पतलालले सार्वजनिक गरेको विज्ञप्तिमा प्रमलाई व्यायाम गराउन थालिएको भने पनि आज भने उनलाइ समातेर नै हिँडाउन परेको देखियो।

त्यसपछि उनलाई किन थामेर हिँडाइयो भनेर पत्रकारले प्रश्न गर्दा अस्पतालका निर्देशक डा प्रेम कृष्ण खडगाले भने, 'सबै अप्रेशन गरेका विरामीलाइ सुरुमा अप्ठेरो हुन्छ। घाउ दुखेको हुन्छ। त्यही भएर पनि थाम्नु परेको हो।'

औषधी सुरक्षाकर्मीको गाडीमा

ओली डिस्चार्ज हुँदैछन् भनेपछि पत्रकारको तछाडमछाड नै थियो अस्पतलामा। तर, तछाडमछाड त्यतिखेर झन् बढ्यो जब ओलीको सुरक्षाका लागि अघिपछि हिँडने गाडीमा केही औषधी हालियो। अस्पतालका निर्देशक खड्गाले भने वालुवाटारमा कुनै औषधी नलगिएको प्रतिक्रिया दिए।

अस्पतालभित्र मात्रै होइन, अस्पतालबाट निस्किएर बालुवाटार जाने सडकको समेत कडा सुरक्षा गरिएको थियो आज। त्यही बीचमा मन्त्रीहरु देखिए अस्पतलामा। गृह तथा रक्षा मन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेता तथा मन्त्री अस्पताल पुगेका थिए।

डाक्टरलाई थ्याङ्क यू मात्रै भने ओलीले

प्रम ओली अस्पतालबाट निस्किँदा हात हल्लाएर निस्किए। त्यसअघि उनले चिकित्सकलाई के भने त? उत्तर दिँदै निर्देशक खडगाले भने, 'उहाँले त्यस्तो केही बोल्नु भएन। त्यति हो, अन्तिममा डाक्टरहरुलाइ थ्याङ्क यू भन्नु भयो।'

उनको भनाइले चिकित्सक उत्साहित भएको प्रतिक्रिया दिए खड्गाले। तर, प्रम ओलीलाई अस्पतालले दिएको सेवा कस्तो लाग्यो भन्ने आफूले भन्न नसक्ने सुनाए।

अस्पतालले सार्वजनिक गरेन कुनै ल्याब रिपोर्ट

ओलीको १२ दिन लामो बसाई शुक्रबार सकियो। १२ दिनसम्म हरेक दिन अस्पतलाले जानकारी दिन्थ्यो, ओलीको स्वास्थ्यको। तर, उनलाई अस्पतालबाट सार्वजनिक गर्दा पनि पनि ल्याब रिपोर्ट भने सार्वजनिक गरिएको छैन। ल्याब रिपोर्ट जनताले जान्न पाउनुपर्ने विषय भएको चिकित्सक बताउछन्। साथै उनको स्वास्थ कस्तो छ भन्ने थाहा पाउन ल्याब रिपोर्ट आवश्यक ठान्छन चिकित्सक। सञ्चारकर्मीलाई ओलीको स्वास्थ्यबारे जानकारी दिएका निर्देशक खडगा पनि ल्याब रिपोर्टबारे भने मौन रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell