PahiloPost

Aug 10, 2025 | २६ साउन २०८२

संकटा महांकालमा भक्तजनलाई प्रवेश निषेध, कोरोनाविरुद्ध लड्न जात्रापर्वमा सतर्कता अपनाउँदै नेवार समुदाय



पहिलोपोस्ट

संकटा महांकालमा भक्तजनलाई प्रवेश निषेध, कोरोनाविरुद्ध लड्न जात्रापर्वमा सतर्कता अपनाउँदै नेवार समुदाय
PHOTO : PURUSHOTTAM MANANDHAR/FACEBOOK

काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर धार्मिक कार्यहरु समेत प्रभावित भएका छन्। साउदी अरब, भारत, अमेरिका, इटालीमा रहेको धार्मिक स्थान सर्वसाधरणका लागि बन्द गरिएका छन्।

विश्वका अधिकांश देशमा कहर मचाएको भाइरसको न्यूनीकरण गर्न भन्दै काठमाडौँ उपत्यकाका धार्मिक क्षेत्रमा सतर्कता अपनाउन सुरु गरिएको छ।

न्यूरोड, टेबाह: मा रहेको संकटा मन्दिर, महांकाल मन्दिर, तेबहा: स्थित भद्रकाली मन्दिर वटुको भद्रकाली मान्दिरमा शुक्रबारबाट भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ। नियमित नृत्य पूजा भने सञ्चालन गरिनेछ। शनिबार संकटा महांकालमा पूजा गर्नेहरुको भीड लाग्ने गर्छ।

काठमाडौँ महानगरपालिका वडा २२ का अध्यक्ष चिरिबाबु महर्जनले यी क्षेत्रहरुमा अत्याधिक भीड हुने हुँदा र सरकारले समेत धेरै भीडभाड नगर्न भनेको अवस्थामा सतर्कता अपनाउँदै यो निर्णय गरेको बताए।

विज्ञप्ति जारी गर्दै उनले यो निर्णयमा सहयोग गर्न भक्तजनहरुलाई आग्रह समेत गरेका छन्।

कोरोनाकै कारण सेतो मछिन्द्रनाथको रथ यात्रा समेत अन्योलमा परेको छ। जमलदेखि सुरु हुने रथ यात्रा तीन दिनसम्म सञ्चालन हुने गर्छ। जात्रामा धेरै संख्यामा मानिस सहभागी हुने भएकाले यसपटक जात्रा सञ्चालन कसरी गर्ने भन्नेबारेमा आज छलफल हुँदैछ। यसपटक सेतो मछिन्द्रनाथलाई रथमा नभई खटमा राखे जात्रा गर्न सकिनेबारे छलफल हुने बताइएको छ।

पाहाँ: चह्रेसँगै नेवार समुदायभित्र जात्रापर्व सुरु हुने भएकाले अधिकांश जात्रा पर्वमा सतर्कता अपनाउनेबारे सरोकारवालाबीच छलफल भइरहेको छ। भक्तपुरमा हुने बिस्का: जात्रा शान्तिपूर्ण र भयररहित वातावरणमा सम्पन्न गर्नेबारे नगरपालिकाले छलफल अघि बढाएको छ। यसअघि नै पाहाँ: चह्रेमा असन र टुँडिखेलमा अजिमाहरुको खट नजुधाउने निर्णय सम्बन्धित गुठी खल:ले गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell