PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यो वर्ष टुँडिखेलमा मनाइएन घोडेजात्रा, अधुरै रह्यो प्रमुख सुवेदारको 'कृष्ण' बन्ने सपना



स्वेच्छा राउत

यो वर्ष टुँडिखेलमा मनाइएन घोडेजात्रा, अधुरै रह्यो प्रमुख सुवेदारको 'कृष्ण' बन्ने सपना

चैत कृष्णपक्षको औंसीका दिन हरेक वर्ष टुँडिखेलभित्र र बाहिर मानिसहरुको भिड लाग्ने गर्थ्यो। घोडेजात्राको अवसरमा नेपाली सेनाले त्यहाँ राइड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, सो जम्प, टेण्ट पेगिङ लगायत आकर्षक प्रस्तुति दिन्थे। ती जादुमय प्रस्तुतिको चर्चा पनि हुन्थ्यो।

वाहवाही पाउँथे घोडचढी सैनिकले पनि। श्रृङ्गारिएका, पुच्छर बाँटिएका, रङ्ग पोतिएका अनि गरगहना लगाएका घोडाका फोटोहरु मिडियामा छाउँथे। उनीहरूले विभिन्न खेलमा जितेको मेडल र पुरस्कारको समेत समाचार बन्थ्यो।

तर, यस वर्ष त्यसमा क्रमभंग भयो।

बिहानै सूचना जारी भयो – घोडेजात्रा समारोह स्थगन।

घोडेजात्राकै दिन घोडेजात्रा स्थगित भएको सूचना। घोडेजात्राका लागि गरिएको साजसज्जा र तयार पारिएको संरचनामा जात्रै नभएपछि पूरा प्राण भरिनै सकेन।

 महिनौंदेखि यसै दिनका लागि खेल, प्रस्तुति, कथाको तयारी गरिरहेका घोडचढी सैनिकहरु खिन्न भए। तर, उनीहरुले बुझेका थिए - यो सबै विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध सावधानीका लागि हो।

सोमवार नै सरकारले देशव्यापी ‘लकडाउन’ घोषणा गरेपछि कार्यक्रम नहुने निश्चित जस्तै थियो। 

‘तर हामीले सैन्य परम्परा ठप्प पार्न सकेनौं। त्यसैले दुई वटा घोडा लगेर सैन्य मञ्चमा प्रस्तुति दियौं,’ नेपाल क्याभलरीका मेजर राजन पाण्डेले पहिलोपोस्टसँग भने। 


यस पटक घोडेजात्रामा केही फरक देखियो टुँडिखेलको दृश्य। खाली दर्शकदिर्घा अनि दुई वटा घोडा र दुई सेना। यही दिनको विशेष कार्यक्रमका लागि तयार पारेको अश्वकला प्रस्तुत गरेर फर्किए। 

औपचारिकता त पूरा भयो। तर, ३० वर्ष सेनाको तबेलामा बिताएका प्रमुख सुवेदार हरि खत्रीलाई भने निकै खल्लो लागिरह्यो। किनकि उनको तीन दशक लामो कार्यकालको इतिहासमा पहिलो पटक यस्तो भयो - घोडेजात्रा नै स्थगित। 

यसवर्ष उनी थप उत्साहित थिए। किनकि उनी कृष्णको रुपमा प्रस्तुत हुँदै थिए घोडेजात्रामा। 

‌‌‌‌+++

महाभारतको युद्ध शुरु हुनुअघि अर्जुन निकै द्विविधामा थिए। त्यसैले उनी युद्धका लागि कृष्णको साथ माग्न द्वारका पुगे। अर्जुनको अन्तरद्वन्द्व देख्दा कृष्णलाई लाग्छ - अर्जुनलाई उपदेश खाँचो छ।

 त्यसैले उनी अर्जुनको प्रस्ताव स्वीकार्छन्। र, उनको सारथी बनेर युद्धमा होमिने तयार हुन्छन्, क्षेत्रीय धर्मको पालन गर्नुपर्छ भन्ने उपदेश सहित।  

युद्ध शुरु हुनुअघि कृष्ण अर्जुनको शिविरमा पुग्छन्। अर्जुन आफ्नो शस्त्रसहित निस्कनुअघि कृष्णले रथ तयार पार्छन्। रथका चार वटा सेतो घोडा श्रृङ्गार्छन्। सुरक्षाका खातिर रथको पछिल्लो भागमा हनुमानको ध्वजा राख्छन्। 

पहिले अर्जुनलाई चढाउँछन् र त्यसपछि मात्र आफू चढ्छन्। अन्ततस् उनीहरु युद्धका लागि कुरुक्षेत्रतर्फ लाग्छन्।  
महाभारत सम्बन्धी यस प्रसङ्गलाई चित्र, तस्विर, फिल्म अनि टेलिश्रृङ्खलामार्फत् दृश्यमा उतारिएको छ। जसमा घोडाहरुजस्तै श्रृङ्गारिएका देखिन्छन् कृष्ण र अर्जुन पनि। 

ती दृश्यमा जस्तै गरी सैनिक मञ्च टुँडिखेलमा प्रस्तुत हुँदै थिए, राजु खत्री। चार वटा घोडाले तान्ने बग्गी। बग्गीको पछाडि कृष्णकै भेषभुषामा प्रस्तुत हुने तयारी गरेका थिए उनले। अनि उनका साथी अर्जुन बन्दै थिए। 

महिनौं अघिदेखि उनीहरुले रिहर्सल गरिरहेका थिए। जसअनुसार उनीहरुको बग्गी सैनिक मञ्च वरपर घुम्थ्यो। उनीहरु घुम्दै गर्दा मञ्चको एउटा कुनामा घोडाको बारेमा कथा वाचन हुन्थ्यो। उक्त कथाले जङ्गलमा रहने घोडा कसरी मानव सभ्यतासँगै मानिसको नजिक भयोरु कसरी घोडाले मानिसलाई दिने सेवाको क्षेत्र फराकिलो बन्योरु धार्मिक ग्रन्थमा जस्तै ऐतिहासिक युद्धहरुमा पनि घोडाले निर्वाह गरेको भूमिकाको बखान समेट्थ्यो। 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, रक्षामन्त्री लगायतको उपस्थितिबीच नेपाली सेनाको इतिहासमा घोडाको प्रयोग र घोडचढी सेनाको महत्वबारे सुनाउने योजना थियो। 

तर, राजु कृष्ण बन्न पाएनन्। 

२०४७ सालदेखि सेनाकै घोडा र घोडचढी सेनाहरुसँग बिताएका उनको अनुभवले भन्छ – पहिलो पटक घोडेजात्रा स्थगित भयो। नत्र कडाभन्दा कडा कर्फ्यु लाग्दा पनि सैनिक मञ्चमा घोडेजात्रा भने चलेकै हुन्थ्यो। 

‘हामी घोडचढी सेनाको लागि निकै महत्वपूर्ण र खुशीको दिन हो घोडेजात्रा। यही दिनका लागि हामी महिनौंदेखि तयारी गर्छौं। आ- आफ्नो विशेष घोडाको सरसफाइ र श्रृङ्गार पटार गर्छौं,’ उनले केही मधुरो स्वरमा सुनाए, 'तर यस पटक रिहर्सल नै अन्यौलता बीच भयो। बिहान एक्कासी कार्यक्रम स्थगनको सूचना जारी हुँदा नराम्रो महसुस भयो। तर, निर्णय सबैका हितका लागि हो। यही भनेर चित्त बुझायौं।'

 नेपाली सेनाको क्याभ्लरीमा तीनवटा तबेला छन् - भाग्य, नारायणी र डमरु। यी तबेलामा कुल १ सय ७ घोडा छन्। तीमध्य केही नेपालकै हिमाली भेग बाँकी भारत, पाकिस्तान, स्पेन लगायत देशहरूबाट भित्र्याइएका हुन्। 

यी घोडाको सेवामा दुई सय २२ जना सेना खटिएका छन्। सेनाको 'दाइ टोली' अर्थात् घोडचढीहरू। अनि ‘भाइ टोली’को जिम्मेवारी चाहिँ घोडाको रेखदेख, दानापानी दिनु आदि। तहको आधारमा भाइ र दाइ टोली छुट्याइएको छ।

 घोडेजात्राका लागि भने यी दुवै टोलीको तयारी भव्य हुने गर्छ। किनकि सेना र घोडा सेवाको हिसाबले मात्र होइन भावनात्मक रुपमा पनि नजिक छन्।

सेनाका लागि विशेष यस जात्रा सम्बन्धी अन्य किम्बदन्ती पनि प्रचलित छन्। 

गुरुमापा भनिने राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको कथन छ। तर, शहरवासीले राक्षसको आत्मा टुँडिखेलको पूर्व दक्षिणमा रहेको खरीको रुखको फेदमा जिवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको मानिन्छ।

२०१९ मा प्रकाशित धनवज्र बज्राचार्यले सम्पादन गरेको त्रिरत्न सौन्दर्यगाथामा टुँडिखेलमा घोडा ढौडाउने परम्परा मल्लकालदेखि सुरु भएको भनेर उल्लेख गरेका छन्। मल्लकालदेखि नै टुँडिखेलमा नेवारहरुले आफ्नो सांस्कृतिक चाडपर्व मनाउँदै आएका थिए। फागु पूर्णिमाका दिन टुँडिखेलमा गुरुमापा राक्षसलाई भोज खुवाउने गरिन्छ भने पाहँचह्रेको एक दिनपछि त्यहाँ द्यस् ल्वाकिगु ९खट जात्रा० गरिन्छ। गुरुमापा राक्षसको संहारस्वरुप टुँडिखेलमा त्यसअघि सिपाही गुठीका भोसीको र बागबजारका खड्गीहरुले घोडा दौडाउने गरेको स्थानीयहरूको दाबी छ।

अहिलेको सैन्य 'घोडा दौड' गर्ने परम्परा भने जंगबहादुरले बेलायत भ्रमण गरी फर्किएपछि सुरु गरेका बताइन्छ।

त्यसयता टुँडिखेलमा हरेक वर्ष घोडाहरु दौडिए। तर यो पटक रीति पुर्‍याउन दुई घोडामात्रै कुदे। राजु क्याभलरी मै बस्न बाध्य भए। घोडचढीको रुपमा यो पटक अन्तिम घोडेजात्रा मनाउने सोचेका थिए उनले।

किनभने अर्को वर्ष मंसिरदेखि त राजुले अवकास पाउँदै छन्। यससँगै अब उनको कृष्ण बन्ने उत्सहाजस्तै हुने भयो अन्तिम घोडेजात्रा मनाउने सपना जुन अब कहिल्यै पूरा हुने वाला छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell