PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

के यसरी नै मानिसलाई थुनेरमात्र रोकिन्छ कोरोना? लकडाउनको औचित्य पुष्टि गर्न खोई परीक्षण?



विधुर ढकाल

के यसरी नै मानिसलाई थुनेरमात्र रोकिन्छ कोरोना? लकडाउनको औचित्य पुष्टि गर्न खोई परीक्षण?

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक भन्छ पाँच जना व्यक्तिमा कोभिड-१९ को संक्रमण देखियो। एक जना उपचार पछि निको भए। चार जना आइसोलेसनमा छन्।

यो तथ्यांक निकाल्नका लागि ८ सय ७५ जनाको नमुना परीक्षण गरियो। यसमा ८ सय ७० जनामा नेगेटिभ परीणाम आयो। शुक्रवार, चौथो संक्रमण पुष्टि भएको नेपालमा शनिवार पाँचौं संक्रमण पुष्टि भयो।

अहिले नेपाल लकडाउन गरिएको छ। लकडाउनमा मानिसहरुलाई बाहिर निस्किन दिइएको छैन। मानिस बाहिर निस्किन नपाउँदैमा कोभिड-१९ को संक्रमण रोकथाम हुनसक्छ? यतिबेला पूरै देशलाई नै क्वारेन्टाइनमा राखिएको छ।

विश्वलाई कोभिड-१९ को विषयमा प्रारम्भिक वैज्ञानिक तथ्य प्रदान गर्ने मध्यका बैज्ञानिक चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का महासचिव जोर्जी काओले संक्रमित व्यक्तिहरु आइसोलेटेड हुनैपर्ने बताएका छन्।

कोभिड-१९ बारे पहिलो अनुसन्धान गर्ने बैज्ञानिक भन्छन् : संक्रमित सबैलाई आइसोलेसन र शंका लागे क्वारेन्टाइनमा राख्नै पर्छ

'तपाईँलेले कोभिड-१९ लाई तबमात्र नियन्त्रण गर्न सक्नुहुन्छ जब तपाईँले संक्रमणको स्रोत नै बन्द गर्नुहुन्छ। यही कारण हो हामीले मोड्युल अस्पतालहरु बनायौं र रंगाशालाहरुलाई अस्पतालमा परिणत गर्‍यौं,' उनले भनेका छन्।

उनले सामाजिक दुरी कायम गर्न सुझाव दिएका छन्। उनकै भनाइअनुसार चीनले पाँच वटा रणनीति अपनायो। पहिलो,चीनले 'ननफार्मासिटिकल स्ट्राटेजी' अपनायो। किन भने अहिलेसम्म कुनै विशेष रोकथाम वा औषधी छैन र भ्याक्सिन पनि छैन।

दोस्रो, केसहरुलाई आइसोलेट गर्‍यो।

तेस्रो, संक्रमितहरुसँग नजिकको सम्पर्क भएका व्यक्तिहरु क्वारेन्टाइनमा राख्यो। चीनले धेरै समय संक्रमितसँग निकट सम्पर्कमा रहेकाहरु खोजे र उनीहरु सबै क्वारेन्टाइन्ड र आइसोलट गर्‍यो।

चौथो, सार्वजनिक भेलाहरु बन्द गर्‍यो। र, पाँचौं आउजाउलाई रोक लगायो जुन लकडाउन थियो।

चीनमा लकडाउन २३ जनवरीमा वुहानबाट सुरु भयो र हुवेइका छिमेकी शहरहरुमा पनि विस्तार गरियो। चीनमा रहेका अन्य प्रान्तमा सटडाउन भए।

त्यसका लागि स्थानीय र केन्द्रीय तहमा शक्तिशाली नेतृत्व थियो। जनतासँग नजिक रहेर काम गर्न सक्ने नेतृत्वहरु थियो। वुहानको अस्पतालमा प्रधानमन्त्री लि ख्छ्याङ पुगे।

उपप्रधानमन्त्री सुन चुनलान वुहानमा कोभिड-१९ विरुद्धको लडाइमा फ्रन्टलाइनमा रहेर काम गरिन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको मुहारको रुपमा वुहानमा एक महिना बढी खटिरहिन्।

जनताको विश्वास जितिन्। उपप्रधानमन्त्री तथा त्यहाँको संस्कृति शिक्षा तथा जनस्वास्थ्य इञ्चार्जको रुपमा रहेकी सुन चिनियाँ राजनीतिममा उच्च स्थानमा पुग्ने एक मात्र महिला नेतृ हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिटव्युरोकी एक्ली महिला नेतृ ७० वर्षीया सुन एक महिना वुहानमा रहेर तल्लो तहसम्म सरकारको कामलाई पुर्‍याइन्।

केन्द्र सरकारको नेतृत्व रहे पनि यहाँ स्थानीय नेतृत्वले काम गर्‍यो। वुहानका हरेक टोल टोलमा त्यहाँका स्थानीय नेतृत्वले अग्रपंक्तिमा रहेर काम गरे। उनीहरु मातहत रहेका जनसंख्याको जानकारी, अवस्था, उनीहरुको आवश्यकता बारे जानकार रहेका उनीले प्रभावकारी भूमिका खेले।

वुहानमा स्थानीयस्तरमा १२ हजार 'फुट सोल्जर' खटाइएको थियो। १० हजार ग्रीडमा शहरलाई विभाजन गरी स्थानीय स्तरमा नै यी सोल्जरहरु परिचालित भए। यस्ता हरेक ग्रीडमा खटिएका 'कन्टोलर'हरुलाई स्थानीयहरुको नियमन गर्ने जिम्मेवारी थियो। उनीहरुको आँखा सँधै सर्वसाधरणको गतिविधिमा हुन्थ्यो। यदि कुनै शंका लागे उनीहरुले माथि खबर गर्थे।

सर्वसाधारणको स्वास्थ्य तथा उनीहरुले खाना तथा औषधी पाएका छन् कि छैनन् भन्ने उनीहरुले हेर्नुपर्थ्यो। उनीहरु कुनै स्वास्थ्यकर्मी थिएनन्, राजनीतिक नेतृत्वमा थिए। तर, उनीहरुले हरेक व्यक्तिको तापक्रम लिए। आवश्यकता अनुसार थर्मोमिटर बाँडे। सूचना व्यवस्थापन गर्न हरेक घरको एकजनालाई वीच्याट ग्रुपमा समावेश गरे। यसरी जोडिएका परिवारका सदस्यहरुले आफ्नो परिवारका सबै सदस्यको शरीरको तापक्रम समूहमा राखिदिन्थे। यही आधारमा ग्रिड कन्ट्रोलरले उनीहरुको अवस्था पत्ता लगाउँथे।

शंकास्पद भए क्वारेन्टाइनसँगै आइसोलेसनमा राखिन्थ्यो। आइसोलेसनमा राखिएकाहरुलाई परिवारका सदस्यहरुसँग पनि सम्पर्क दिइएन्। चिनियाँ रणनीति थियो- 'कोभिड-१९ लाई तब मात्र नियन्त्रण गर्न सक्नुहुन्छ जब तपाईँले संक्रमणको स्रोत नै बन्द गर्नुहुन्छ।'

यही कारण हो चीनले मोड्युल अस्पतालहरु बनायो र रंगशालाहरुलाई अस्पतालमा परिणत गर्‍यो। चीन पछि संक्रमण फैलिएको दक्षिण कोरियाले १५ दिन लामो सामाजिक दुरी कायम गर्ने नीतिलाई कडाइका साथ लागू गरेको छ।

दक्षिण कोरियाले तीब्र रुपमा कोरोना भाइरसको परीक्षण अगाडि बढाएको छ। सबै नागरिकलाई नि: शुल्क परीक्षण अभियान नै छेडेको छ। यो नै कोरियाको कोभिड-१९ नियन्त्रणको मुख्य हतियार बन्यो। शोलले अन्य देशहरुलाई पनि एउटा उदाहरण प्रस्तुत गरेको छ।

दक्षिण कोरियाले घुम्ती परीक्षण केन्द्र सञ्चालन गरिरहेको छ। त्यहाँको सरकारले प्रविधिको प्रयोग गर्दै आफ्ना नागरिकहरुलाई सिसिटिभी, बैंक कार्ड, मोबाइल प्रयोग लगायतका उपकरणबाट निगरानी बढाइरहेको छ।

हाल दक्षिण कोरियाले प्रति दिन १५ हजार जनाको कोभिड-१९ परीक्षण गरिरहेको छ। यो परीक्षण संख्या चीनपछि दोस्रो हो।

यदि कोही संक्रमित भइहाल्यो भने उसको सम्पर्कमा रहेका व्यक्तिहरुलाई तत्काल ट्र्याक गरी परीक्षण गरिएको छ। त्यसका लागि पहिलो चरणमा क्रेडिड कार्ड वा डेबिड कार्डको प्रयोगलाई ट्र्याक गर्दै उनीहरु समक्ष पुगिन्छ। दोस्रो मोबाइल फोनको ट्र्याकिङ। त्यतिले मात्र पुगेन भने सिसिटिभी ट्र्याकिङ गरेर सम्पर्क गरिँदै आएको छ।

यो पनि:नेपालले कोरोनासँग लड्न कोरियासँग सिक्ने कि इटालीको पदचाप पहिल्याउने?

अब हाम्रा कुरा

नेपालमा जम्मा ५ जनामा संक्रमण देखियो। संक्रमित मध्ये दुई जना टेकु अस्पतालमा छन्। एक जना धनगढी एक जना बाग्लुङमा।

लकडाउनले गर्दा मानिसहरु आउजाउ बन्द भएको छ। तर, संक्रमित देखिएका छैनन्। यसैलाई हामीले ठूलो उपलब्धी मानेका छौं भने ठूलो गल्ती हुनेछ।

नेपालमा संक्रमित पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका मानिसहरु ट्रेसिङ हुन सकेको छैन। हामीले विमानस्थलमा ढिलो गरी हेल्थ डेस्क बनायौं। भारत तर्फको सीमा ढिलो गरी बन्द गर्‍यौं। सीमा बन्द भइसके पछि पनि जबरजस्ती मान्छे भित्र्यायौं। विमानस्थल बन्द भइसकेपछि पनि कोभिड-१९ को संक्रमणमा थलिएका देशहरुबाट हामीले यात्रु नेपाल भित्रायौं। तर, क्वारेन्टाइनमा राखेनौं।

यसबीच नेपालमा संक्रमण देखिएका चार पाँच मध्ये एक जना निको भइसकेर फर्किए। बाँकी चार जनाको सम्पर्कमा रहेका व्यक्तिको ट्रेसिङमा नेपालले विलम्व गरिरहेको छ। मुख्य गरी कोभिड-१९ को संक्रमण भएका व्यक्तिहरु सवार रहेका विमानहरु, भिस्तारा, कतार एयरबाट नेपाल आएका सबै व्यक्तिहरु ट्रेसिङ गर्न सकिरहेको छैन, सरकारले।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचान गर्न र त्यसलाई नियन्त्रणमा राख्न सजिलो उपाय दिएको छ। त्यो हो ‘परीक्षण, परीक्षण र परीक्षण।' कोरोना भाइरसको लक्षण देखिन कम्तीमा १४ दिन लाग्ने भएकोले डब्लुएचओ भाइरसको ‘ट्रेसिङ र टेस्टिङ’ मा जोड दिँदै आएको हो। परीक्षणविना भाइरस पत्ता नलाग्ने भएकाले जति धेरै ‘टेस्ट’ गर्‍यो त्यति नै भाइरसलाई नियन्त्रण लिन सजिलो हुने डब्लुएचओले बताएको छ।

कोभिड-१९ आउटब्रेक भएको चीनलाई संक्रमितको संख्यामा अमेरिका र इटालीले उछिनिसकेका छन्। ६ लाख ६५ हजार संक्रमितको संख्या नाघ्दैगर्दा अमेरिका एक लाख २५ हजारको संख्यामा मानिसहरु संक्रमित भइसकेका छन्। इटालीमा ९२ हजार संक्रमित पुगिसकेका छन्।

कोभिड-१९ विरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका देशहरुले परीक्षण गर्दै संक्रमितलाई आइसोलेसनमा राख्दैछन्। तर, नेपालले प्रयाप्त मात्रामा संक्रमण परीक्षण गर्न सकिरहेको छैन। शंका लागेका विरामीहरुको पनि परीक्षण नहुँदा नयाँ संक्रमण हाललाई नदेखिएला तर दुई हप्ता पछिको अवस्था भयावह बन्न सक्छ।

अनुसन्धानहरुले कोभिड-१९ को लक्षण नदेखिएका संक्रमित व्यक्तिहरुबाट पनि सर्न सक्ने देखाएका छन्। यस्तोमा हाल देखिएका संक्रमित व्यक्तिहरुको संक्रमणमा रहेका व्यक्तिलाई कोभिड-१९ को लक्षण नदेखिए पनि उनीहरुमा संक्रमण हुने सम्भावना उत्तिक्कै छ। उनीहरुबाट अन्य व्यक्ति पनि संक्रमित हुने सम्भावना पनि उत्तिकै। हालसम्म नेपालमा पुष्टि भएका सबै पाँच केस इम्पोर्टेड केस हुन्। स्थानीय संक्रमण फैलिसकेको छैन।

यस्तोमा नेपालले अपनाउने उपाय भनेको संक्रमित हरुको सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ, क्वारेन्टाइन र आइसोलेसन नै हो। नेपालमा देखिएको दोस्रो संक्रमणसँग पाँचौं संक्रमण जोडिएको छ- कतार एयरको क्यु आर ६५२ सँग। सोही विमानबाट नेपाल आएकाहरु पूरै ट्रेसिङ भएका छैनन्। ट्रेसिङ भएकाहरुलाई पनि लक्षण नदेखिएको भन्दै परीक्षण गरिएको छैन। र दोस्रो केस देखि पाँचौं केस पुस्टि हुन् पाँच दिन लाग्यो। उनलाई पनि लक्षण नदेखिएको भन्दै तत्काल परीक्षण गरिएन। यसबीच उनको सम्पर्कमा कति पुगे। ट्रेसिङ थप जटिल बन्दै छ।

के गर्न सकिन्छ?

नेपालमा ७ सय ५३ वटा स्थानीय सरकार छन्। यी स्थानीय सरकार मातहत टोलटोलमा जनप्रतिनिधि छन्। यी जनप्रतिनिधिलाई परिचालन गरेर संक्रमित तथा संक्रमितको सम्पर्कमा रहेका निकट व्यक्तिलाई ट्रेसिङ गर्न सकिन्छ। त्यसबाट थप संक्रमित भए नभएको पत्ता लाग्छ।

अर्को कुरा नेपालमा यसबीच विदेशबाट आउनेहरुको तथ्यांक पनि डाटावेस मार्फत् राहदानी मार्फत ट्रेस गर्न सकिन्छ। अर्को डाटावेस भनेको निर्वाचन आयोगको मतदाता नामावली हो। यसको पनि प्रयोग गर्न सकिन्छ। यस्ता डाटावेसको प्रयोग भने नेपालले गरिरहेको छैन।

केन्द्रमा उच्चस्तरीय समिति बनाए पनि यसले पनि प्रभावकारी समन्वय गर्न सकिरहेको छैन। मन्त्रालयहरुबीच नै प्रभावकारी समन्वय हुन सकिरहेको छैन। चीनले स्थानीय नेतृत्वलाई प्रभावकारी र शक्तिशाली बनाउँदै कोरोना नियन्त्रण गर्‍यो। नेपालमा प्रदेश सरकारले सीमा पारीबाट नेपाल आउन रोकिरहेका नेपालीलाई केन्द्रबाट एक पटकलाई भन्दै नेपाल प्रवेश गराइन्छ। नेपालीहरु क्वारेन्टाइनमा नबसी घरमै पुग्छन्। संक्रमणको उच्च जोखिममा रहेका जनसंख्यालाई सरासर बाँकी जनसंख्यासँग सम्पर्कको छुट दिँदा स्थानीय संक्रमण बढिरहेको जोखिमलाई सरकारले नजरअन्दाज गरिरहेको छ।

लकडाउन गरेर मानिसहरुको चहलपल र भेटघाट बन्द गराउनु एउटा उत्तम उपाय हो। यसको प्रभावकारीता परीक्षण र ट्रेसिङसँग जोडिन्छ। परीक्षण र संक्रमित र संक्रमितहरुसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ नहुँदासम्म 'लकडाउन'को औचित्य पुष्टि हुन सक्दैन्। त्यसैले सरकारले बेलैमा यसतर्फ कदम चाल्न जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell