PahiloPost

May 14, 2024 | १ जेठ २०८१

आज फेरि ३ जना महाकालीमा पौडेरै नेपाल छिरे, प्रहरीले समातेपछि भने : नाका खोल्ने कुरा गर्न आयौं



कमलराज भट्ट

आज फेरि ३ जना महाकालीमा पौडेरै नेपाल छिरे, प्रहरीले समातेपछि भने : नाका खोल्ने कुरा गर्न आयौं
तस्विर : भोजराज जोशी

काठमाडौं : भारतबाट आएका ३ जना महाकाली नदीमा पौडी खेलेर दार्चुलाबाट नेपाल छिरेका छन्। महाकाली नदीको बीचमा नेपालीहरु ओहोरदोहोर गर्ने झोलुंगे पुलको ताला तीन दिनसम्म नखुलेपछि भारतको पिथौरागढ जिल्लाको धारचुलामा अलपत्रका ३ जना नेपाली सोमवार महाकालीमा जोखिम मोल्दै पौडिएर नेपाल छिरेका हुन्।

नदीमा पौडिएर आउनेमा बैतडी डिलासैनीका धनबहादुर बिष्ट, ईन्द्रसिंह खाती र दार्चुलाको मार्मास्थित लटिनाथका रमेशसिंह बिष्ट रहेको धारचुलामा तीनदेखि अलपत्र नेपाली युवा दिलेन्द्र महताले बताए।

उनका अनुसार नेपाल छिरेलगत्तै तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाले तीनै जनालाई हिरासतमा राखेको छ। पक्राउ परेकाहरुले प्रहरीलाई गेट खोल्नका लागि आग्रह गर्न पौडेर पारी आएको बयान दिएका छन्। उनीहरुले शनिवारदेखि सिमानामा बसेर नेपाल आउन दिन याचना गरे पनि सरकारले नसुनेपछि बाध्य भएर नदीमा हाम फालेको बताए।

'पारीबाट नाराबाजी गरे पनि हाम्रो आवाज नसुनिएपछि नदीमा हामफालेर आएका हौं', लटिनाथका बिष्टले भनेका छन्।

धारचुलाको महाकाली बगरमा अलपत्र महताले नेपालतिर प्रशासनले पुल खोल्न नमान्दा ६ सय भन्दा बढी नेपाली तीन दिनदेखि अलपत्र परेको बताए। धेरैले खान नपाएको र तिर्खा मेटाउन महाकालीको पानी खानुपरेको उनको भनाई छ। उनका अनुसार सामान किन्न समेत भारतीय बजारतिर जान भारतीय प्रहरीले रोकेका कारण नेपालीहरु भोकै बगरमा अलपत्र छन्।

नेपालीहरुले आइतवार स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै धारचुला बगरमै नाराबाजी गरेका थिए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले गृह मन्त्रालयको आदेश नभएसम्म सीमा नखुल्ने बताए।

उनले केन्द्रको अनुमतिपछि सीमामा फसेका नेपालीलाई उद्धार गरेर घरसम्म पुर्‍याउने तयारी भइरहेको बताए।

'उनीहरुमध्ये बिरामी र केही लक्षण देखिएमा जिल्ला अस्पताको आइसोलेसन बेड र क्वारेन्टाइनमा राख्छौं। अरुलाई घरसम्म पुर्‍याउने तयारी हुँदैछ,' उनले भने।

यसअघि शुक्रबार राती जिल्ला प्रशासन कार्यालयले २ सय जनाको उद्धार गरेको थियो।

यो पनि पढ्नुस् : नेपाल छिर्न नपाएपछि ज्यान माया मारेर महाकालीमै बाँकटे हान्दैछन् सक्नेहरु, नसक्ने १ सय ६४ जनाको बगरमै बास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell