PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

लकडाउनमा प्रहरीलाई अटेर गरेपछि विराटनगर महानगरमा सेना परिचालन, चोकचोकमा मार्चपास गर्दै सैनिक



अनन्तराज न्यौपाने

लकडाउनमा प्रहरीलाई अटेर गरेपछि विराटनगर महानगरमा सेना परिचालन, चोकचोकमा मार्चपास गर्दै सैनिक

विराटनगर : लकडाउनको उल्लंघन गर्ने घटना बढेपछि विराटनगर महानगरमा शुक्रबार साँझदेखि नेपाली सेना परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका एक अधिकारीका अनुसार प्रहरीको अनुरोध र कारवाहीलाई स्थानीय बासिन्दाले अटेर गर्दै लकडाउन उल्लंघन गरेपछि सेनाको परिचालन गरिएको हो।

शुक्रबार साँझ सेनाले शहरको तरकारी बजार गुद्रीमा गएर पसल बन्द गर्न आदेश दिएको थियो। साथै शहरका मुख्य सडक र चौकभरि सेनाको मार्च पास राति अबेरसम्म भइरहेको छ।

गुद्री बजारमा बिहान ४ देखि ६ बजेसम्म र साँझ ५ देखि ७ सम्म लकडाउनको समयमा ठूलो भिड लाग्ने गर्छ। बजारमा पुग्नेहरुले सामाजिक दूरी समेत कायम गर्दैनन्।

विराटनगरमा तीन टोलियाको शान्ति चौक, पीपल चौक, घोगापुल चौक, जहदा चौक, मिलन चौक, घोघा पुल चौक, केसलिया रोड, सरौँचिया, रानी, रानीको सैनिक टोल, मधुमारा लगायतका मुख्य स्थानमा लकडाउनको ठाडो उल्लंघन हुँदै आएको छ।

यता, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेना उत्रिएका बारेमा अनभिज्ञता प्रकट गरे।

‘हतियार नबोकी उहाँहरू पहिले पनि हिँडिरहनु भएकै हो’, प्रजिअ भुजेलले भने, ‘सेना परिचालन गर्ने भन्ने विषयमा स्थानीय सुरक्षा समितिमा कुनै छलफल र निर्णय भएको छैन।’

प्रजिअको भनाइलाई चुनौती दिँदै एक प्रहरी अधिकारीले भने, ‘सल्लाहमा नै सेना उत्रिएको हो। हामी प्रहरीले अलिकति कडा आवाज गर्यौँ भने पनि मानव अधिकारका नाममा कारबाही भोग्नुपर्छ। हामीलाई यहाँका बासिन्दाले हामीलाई टेरेनन्। त्यसैले सल्लाहले नै सेना उतारिएको हो।’

लकडाउन उल्लंघनको घटना बढेसँगै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समेत केही दिन अघि सेना लगाएर भए पनि लक डाउन सफल पार्नुपर्ने बताएका थिए।

सम्बन्धित समाचार : विराटनगरमा लकडाउनको ठाडो उल्लङ्घन, सेना प्रयोग गर्न मेयरको आग्रह

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell