PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

'रिप'देखि 'गेट वेल सुन' अन्तत: फेरि 'रिप' : कोरोनाकै कहरमा जो दुई पटक मरे



पहिलोपोस्ट

'रिप'देखि 'गेट वेल सुन' अन्तत: फेरि 'रिप' : कोरोनाकै कहरमा जो दुई पटक मरे

काठमाडौं : अप्रिल ५ गते, बिहान साढे पाँच बजे बेलायत बस्ने लाक्पा यौला शेर्पाले एउटा दु:खद् स्टाटस लेखे। उनले अमेरिकामा बस्ने आफ्नो माइलो भाइ ङिमा तेम्बा शेर्पाको मृत्युको खबर दिएका थिए त्यसमा। लेखेका थिए - 'भाइ तिमी जहाँ जुन स्थितिमा भए पनि लामा गुरुहरूले देखाएको बाटोमा गइ (देवाच्येन) स्वर्गमा बास लिनु। तिम्रो भौतिक शरीर हामी बीच नभए पनि तिमी हाम्रो मन मुटुमा सधैं रहिरहने छौ।'

स्टाटसमा मृतकको उमेर, मृत घोषणा भएको समय र अस्पतालको नाम समेत लेखिएको थियो। मृत भनिएकाको दाजु स्वयंले त्यसरी जानकारी सार्वजनिक गरेपछि आम मानिसलाई विश्वास नहुने कुरै भएन। सबैले कमेन्टमा लेखे – आर.आइ. पी।

परिवारले उनको मृत्यु कर्मको पूजापाठ समेत सुरु गर्‍यो।

अमेरिकामा नेपालीको मृत्यु शीर्षकमा समाचारहरु समेत बने।

राष्ट्रिय समाचार समितिले पनि समाचार लेख्यो : 'अमेरिकामा कोरोना भाइरसबाट एकैदिन चार नेपालीको निधन। न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र अजयमान छोचुको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो।'

समाचार केही नेपाली राष्ट्रिय सञ्चार माध्यमहरुमार्फत्‍ प्रवाह भए।

तर, खबर सार्वजनिक भएको बाह्र घण्टा नबित्तै खण्डन भयो।

लाक्पा शेर्पाले पुन: नयाँ स्टाटस लेखे। जसमा भनिएको छ – 'हाम्रो भाइ ङिमा तेम्बा शेर्पाको सम्बन्धमा हिजो अस्पातलले परिवारलाई अब संक्रमित मानिस काम नलाग्ने जानकारी दिएको थियो। अहिलेको परिस्थितिमा परिवारको सदस्य समेत त्यहाँ जान मिल्दैन। त्यसैले हामी अस्पतालले नै दिएको सूचनामा भर पर्‍यो। सोही अनुसार खबर प्रवाह भयो। तर, आज बिहानको सम्पर्कमा अस्पतालले उनको मुटु चलिरहेको जानकारी दियो।' 

अस्पतालले दिएकै जानकारी अनुरुप जिउँदै रहेका ङिमालाई श्रद्धाञ्जली मात्र दिइएन मृत्यु कर्मको पूजापाठ समेत सुरु भयो। दाजु लाक्पाले फेसबुकमार्फत् माफी मागे। त्यसपछि 'आर.आइ.पी' 'गेट वेल सुन'मा बद्लियो।

कोरोना भाइरस संक्रमण मात्रको खबरले पनि मानिसलाई अत्याएको छ। यो अवस्थामा संक्रमणकै कारण मृत्यु भएको खबरले धेरैलाई आतंकित बनायो। अमेरिकामा हालसम्म पाँच कोरोना संक्रमित नेपालीको मृत्यु भन्ने खबर प्रकाशित भएका छन्। ङिमाको दाजुले त गल्ती स्वीकारेर माफी मागे। तर, राससबाट साभार गरिएका समाचार कसले सच्याउनु?

ती खबर सामाजिक सञ्जालहरुमा सेयर हुँदै घुमिरहँदा फेरि एक पटक ङिमा तेम्बा शेर्पाको निधनको खबर आयो। जानकारी दिए उनै लाक्पाले नै। यस पटक धेरै भूमिका बाँधेनन्। लेखे : 'मलाई माफ गर भाइ, तिमीलाई बचाउॅंन सकिँन।'

यस पटक न्यूयोर्क निवासी ४३ वर्षीय ङिमाको मृत्युको खबर युनाइटेड शेर्पा एसोसियसनले पनि पुष्टि गर्‍यो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतको कार्यालयका प्रमुख पुष्पराज भट्टराईले पनि फेसबुकमा उनलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्।

सोलुखुम्बुका स्थानीय ङिमा केही सातायता संक्रमणका कारण उपचाररत् थिए। शेर्पाको बुधवार राती न्यूयोर्क, क्वीन्सस्थित एल्महर्स्ट अस्पतालमा निधन भएको हो। मृतक श्रीमती र दुई सन्तानसँग न्यूयोर्कमै बस्दै आएका थिए।

यसअघि अमेरिकामा रहेका नेपालीहरु सोनाम लामा, निमा तेम्बा शेर्पा, थोक्मे बिष्ट, अनिल लिम्बुको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो। तर, अमेरिकामा नै रहेर कोरोना जित्नेहरु पनि छन्। 

सम्बन्धित समाचार : न्युयोर्कमा कोरोनासँग लडाई जितेका नेपाली भन्छन् : रक्सी नखानु, रोग नलुकाउनु

अमेरिकामा थप एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell