PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भरियो पाटन अस्पतालको आइसोलेसन वार्ड, बाह्रै घण्टा सेवामा स्वास्थ्यकर्मी



फूलमाया पुरी

भरियो पाटन अस्पतालको आइसोलेसन वार्ड, बाह्रै घण्टा सेवामा स्वास्थ्यकर्मी

काठमाडौं : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) ले कोरोना भाइरस संक्रमण उपचारका लागि छुट्याएको ६ वटै आइसोलेसन वार्ड भरिएका छन्। शुक्रबार साँझसम्ममा कोरोनाको लक्षणसँग मिल्दो समस्या देखिएका र स्वाब परीक्षणका लागि पठाउनु पर्ने बिरामीहरु भर्ना भएका हुन्।

अस्पतालका निर्देशक डाक्टर विष्णु प्रसाद शर्माका अनुसार परीक्षणको नतिजा नआएसम्म उनीहरु आइसोलेसनमै रहनेछन्। अस्पतालमार्फत् हालसम्म ३१ जनाको कोरोना परीक्षण भएको उनको दावी छ। जसमध्य सबै विदेशबाट फर्किएकाहरु थिए।  उनीहरु सबैको रिपोर्ट नेगेटिभ आयो। 

‘उनीहरुको ट्राभल हिस्ट्रीका आधारमा नमूना संकलन गरिएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएपछि थप केही समय सेल्फ क्वारेन्टाइनमा बस्ने सुझावसहित डिस्चार्ज गरिएको हो’ निर्देशक शर्माले भने।

पाटन अस्पतालले कोरोना भाइरस संक्रमणको खबर लगत्तै कोरोनाविरुद्ध लड्ने संयन्त्रहरुको व्यवस्थापन गरेको थियो। अस्पतालकै संक्रामक रोग रोकथाम समितिको संयोजनमा कोरोना संक्रमणको उपचारका लागि चरणवद्ध योजनाहरु बनाएको बताए।

यस्ता छन् योजनाहरु :

पहिलो चरण

चीनमा कोरोना भाइरस संक्रमणको असर तिव्र रुपमा देखृ लगत्तै स्वास्थ्य मन्त्रालयले एउटा निर्देशन जारी गरेको थियो। त्यसमा प्रत्येक अस्पतालले नेपालमा पनि संक्रमण देखिएको अवस्थामा उपचारका लागि तयारी गर्ने उल्लेख गरिएको थियो। मन्त्रालयको निर्देशन लगत्तै पाटन अस्पतालले पाँचवटा आइसोलेसन वार्ड तयार पार्‍यो।

आइसोलेसन वार्डसँगै फिभर क्लिनीकको पनि व्यवस्थापन गर्‍यो। यी वार्ड र क्लिनिककै लागि अस्पतालले नयाँ भवन प्रयोगमा ल्याएको हो।

यहाँको फिभर क्लिनिकमा कोरोना भाइरसको लक्षण भए नभएको जाँच गरिन्छ।

यस क्लिनिकमा कोरोना संक्रमणको शंकास्पद व्यक्तिहरुको पहिलो चरणको जाँच गरिन्छ। विशेषगरी ट्राभल हिस्ट्रीका आधारमा आइपुग्नेहरुको संख्या धेरै देखिएको छ। कोही भने सामान्य रुघाखोकी लाग्दा पनि डरकै कारण अस्पताल पग्‍ने गरेका छन्।

शंका लागेर पुगेका बिरामीको लक्षण जाँच सँगसँगै ट्राभल हिस्ट्री र कन्ट्र्याक्ट हिस्ट्री पनि 'ट्रेस' गरिने अफिसर गरीमा ठाकुरले बताइन्।

‘विदेशबाट आएको वा तीन वा चार हप्ताभित्रमा भारत वा अन्य देशबाट आएकालाई डिजीटल थर्मल गनबाट ज्वरो चेक गरिन्छ। अनि थप जाँचका लागि सोधपुछ गरी आइसोलेसन वार्डमा लगिन्छ’, ठाकुरले भनिन्।

सामान्‍य रुघा खोकी लाग्दा डराएरै फेभर क्लिनीक पुगेकाहरुलाई भने आवश्यक जाँचपछि परामर्श दिइन्छ। रुघा, भाइरल फिभर र कोरोना भाइरस संक्रमण बीचको भिन्नता बारे बुझाइन्छ। केहीलाई भने ओपीडी वा इमर्जेन्सी वार्डतर्फ पठाइन्छ।

सुरुका दिनमा त ४५ जनासम्म फिभर क्लिनीकमा आउने गरेको उनको अनुभव छ। लकडाउनको अवधि लम्बिएसँगै त्यहाँ धाउनेको संख्यामा कमी आयो।

‘सायद मानिस केही सचेत भए। मानिस कम भएसँगै बाहिरबाट सर्ने जोखिम पनि कम भयो’, उनले भनिन्।

सचेत रहेरै पनि स्वास्थ्यमा केही अप्ठ्यारो महसुस गरेकाहरु कोही आफै क्लिनिकसम्म पुग्छन् र कोही आफन्त वा साथीभाइसँग। केहीलाई गाह्रो भएको हुन्छ त्यसैले एम्बुलेन्स चढेरै आउँछन्।

अस्पतलले २४ सै घण्टा सेवा प्रदान गरेको छ। उपचारका लागि पाटनका स्वास्थ्यकर्मीहरु दुई चरणमा १२/१२ घण्टा खट्छन्।

४० जना दक्ष स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ। जसमध्य एक चरणमा १२ जना मात्र सक्रिय रहन्छन् फिभर क्लिनिकमा। सुरक्षाकर्मीसहित। आइसोलेसन वार्डमा भने बिरामीको चाप अनुसार व्यवस्था गरिएको छ। दिउँसोको सिफ्टमा ८ जना र रातीका लागि ४ जना स्वास्थ्यकर्मीको टोली छ।

हालसम्‍म उपचार गराएका कसैमा पनि संक्रमण नदेखिएकाले थोरै जनस्रोत सक्रिय गरिएको निर्देशक बताउँछन्। भन्छन्,'त्यसो हुँदा पीपीईको कम प्रयोग हुन्छ। र, सम्भावित चुनौतीको सामना गर्नु परेको अवस्थामा पीपीईको अभाव हुँदैन।

दोस्रो चरणको योजना अर्थात् 'प्लान बी'

फिभर क्लिनिक पछाडि आवश्यक बिरामीलाई लाने भनिएको

अस्पतालको प्लान बि अन्तर्गत ६ वटा आइसोलेसन बेड तयार गरिएका छन्। परीक्षणको नतिजा सकारात्मक आएको खण्डमा बिरामी सार्नका लागि थप १५ वटा राखिएका छन्। संक्रमितहरुको त्यहाँ उपचार हुनेछ।

संक्रमितको अवस्था गम्भिर भएको खण्डमा बिरामीलाई आइसियूमा सारिने छ। आइसियूमा २१ वटा बेड छन्।

प्लान बिले संक्रमितको संख्या ह्वात्तै बढेको अवस्थामा काम गर्ने निर्देशक शर्माको दावी छ। त्यसका लागि दोस्रो चरणको तयारीलाई 'प्लान बि २' नाम दिइएको छ।

यस्तो छ 'प्लान बि २' :

कोरोना भाइरस संक्रमणले ठूलो रुप लिएको अवस्थाका लागि ७० वटा आइसोलेसन र २१ वटा आइसीयु बेड तयारी अवस्थामा रहनेछ।

नेपालमा पनि यस संक्रमणले माहामारीको रुप लिएमा अस्पतालले अन्य स्वास्थ्य सेवा ठप्प पारी पूर्ण रुपमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिने योजना बनाएको छ। यसलाई तेस्रो चरणको उपचार योजनाका रुपमा अघि सार्छन् निर्देशक शर्मा। 

‘यदि त्यस्तो परिस्थिति आएमा अस्पतालले प्रसुति सेवालाई भने सुरक्षित ढङ्गमा निरन्तरता दिनेछ। किनकि त्यो आपत्कालिन स्थिति हो जसलाई कसैले रोक्न सक्दैन’, उनले योजना सुनाए।

‘तर अन्य बिरामीको उपचार सेवालाई भने अरु अस्पतालले व्यवस्थापन गर्नुपर्ने हुनसक्छ। तर त्यस्तो अवस्था भोग्न नपरोस्’, निर्देशक शर्माको भनाइ।

करिव ६ सय बेड भएको अस्पतालको क्षमताले भ्याएसम्म सबै प्रकारको उपचार गरिरहेको उनले बताए। भने,'अन्य अस्पतालले कोरोनाकै त्रासले बिरामी नलिएको अवस्थामा पनि हामीले फर्काएका छैनौं। चाहे ती बिरामी कोरोनाको शंका लागेर जाँच गराउँन आएका हुन् या अन्य केही समस्या लिएर।'

हालसम्म ओपिडी सेवा ठप्प नपारेको पाटन अस्पतालले हरेक खालका बिरामीलाई आवश्यक सेवा दिइराखेको उनको दावी छ। भलै कोरोना त्रास सँगसँगै लकडाउनका कारण अस्पतालमा बिरामीको संख्या भने ज्याँदै न्यून रहेको छ।  

उनी भन्छन्, ‘अन्य बिरामी त कोरोना फैलिनु अघि पनि थिए र आज पनि छन् र भोली पनि हुनेछन्। त्यसैले हाम्रो क्षमताले भ्याएसम्म कुनै पनि रोग वा समस्या भएका बिरामीको उपचार नै हाम्रो पहिलो प्राथमिक हो।'

कोरोना भाइरस मात्र नभएर कुनै पनि रोग वा समस्याको उपचार नपाएकै कारण मानिसले ज्यान गुमाउन नहुने उनको तर्क छ। 

यो पनि पढ्नुस् : कोरोनाविरुद्ध जुध्न तयार पाटन अस्पताल : व्यवस्थित आइसोलेसनदेखि आफै सिलाउँदै पिपिई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell