
काठमाडौं : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाउन शुरु गरेको छ।
४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइएको हो। त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ यसअघि नै खेलाडीको खातामा पठाइएको राखेपले जनाएको छ। त्यस्तै प्रशिक्षक र संघको पुरस्कार क्रमैसँग पठाउने बताएको छ।
१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो। १३ औं सागको उपलब्धि नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिले सम्मकै ठूलो उपलब्धि हो। व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाखका दरले पुरस्कार पठाइएको छ। पुरस्कार रकममा कर कट्टा गरिएको छैन।
'हिजो ४ करोड प्रोसेस भएको थियो। आज चाहिँ १९ करोड ५३ लाख रुपैयाँ गएको छ। उपत्यकाको शाखामा खाता हुनेले आजै रकम पाएका छन् भने उपत्यका बहिरकाले भोलि सम्ममा पाउनेछन,' मन्त्रालयका उपसचिव (लेखा) नवराज घिमिरेले भने।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले केही खेलाडीहरुको पैसा आएको र धेरैको बाँकी रहेको बताए।
‘केही खेलाडीहरुको पैसा आज आएको छ। अब भोलि सबैको आइसक्छ भन्ने आश्वासन छ’, श्रेष्ठले भने,
कहिले प्राविधिक कारण, कहिले बैङ्कको सर्भर जस्ता कारण देखाउँदै पुरस्कार बितरण पछि सर्दै आएको थियो।
सरकारले गत मंसिरमा सागमा पदक जित्ने खेलाडीको लागि नगद पुरस्कारको घोषणा गरेको थियो।