रामवीर चौधरी बाँकेबाट पछिल्लो पटक तीन महिना अघिमात्र काठमाडौं आएका थिए कामको खोजीमा। पैसा कमाउनु उनको वाध्यता। यसै वर्ष एसईई दिने तयारीमा थिए, भाइ महावीर। उसले राम्रो अङ्क ल्याएर पास गरे नाम चलेको कलेजमा पढाउने धोको थियो उनको।
तर, खेती किसानी गर्ने बुबाआमासँग कहाँबाट त्यत्रो पैसा हुनु?
त्यसैले रामवीरले भाइको पढाइको जिम्मेवारी आफ्नो काँधमा लिए। हुन त प्लस टूको परीक्षा सकिए लगत्तै काम खोज्न थालेका हुन् उनले। कार्यालय, विद्यालय, सहकारी संस्था सबैतिर धाए। तर, काम पाउन कहाँ सहज थियो र?
एसईई नजिकिए पछि चाहिँ काठमाडौं हान्निए, अवसरहरुको शहरमा। रामवीरको ठूलो सपना थियो शिक्षक बन्ने। गाउँकै कुनै विद्यालयमा पढाउने। सर्टको खल्तीमा रातो कलम बोक्ने। तर, सोचेजस्तो भएन। पढाउने सपना काठमाडौं आइपुग्दा तुहियो। उनले ज्यालादारी मजदुरी गर्न थाले, घर बनाउने ठाउँमा। अक्षरहरु खेलाउने योजना बोकेर आएका उनले बालुवा, इट्टा र सिमेन्ट केलाउन थाले।
भाइलाई पढाउने बचन दिएका थिए। बुबाआमाको मेहनत दुई छाक जोहो गर्नमै सकिने।
दैनिक ८ सय रुपैयाँमा ज्याला मजदुरी गर्न थालेका थिए, मिस्त्रीको सहयोगीको रुपमा, कागेश्वरी मनोहरा नगरपालिकाको ग्रिनहिल सिटी हाउजिङभित्र। बस्नका लागि त्यहीँ टहराहरु बनाइएको थियो। ती टहरामा उनी बाध्यताले पुगेका थिए। उनका सपनाहरु भने आफैँ मसला हालेर गारो लगाएका भवनहरु जस्तै अग्ला थिए।
भाइको र आफ्नै पढाईको निरन्तरताको लागि केही समय हाडछाला घोट्नु थियो उनलाई।
दोस्रो महिना पहिलो महिनाभन्दा राम्रो रकम जम्मा भयो। खानाखर्च कटाएर घरमा पठाए। तेस्रो महिना त भाइको परीक्षा थियो। भाइ जत्तिकै उत्साहित थिए उनी। बुबा कमानसिंहको मोबाइलमा फोन गरेर पटकपटक भन्थे – राम्रोसँग पढ्ने नि त्यहाँ। मैले तेरै लागि कमाइ हिँडेको छु।
तर, भाइको परीक्षा सुरु हुनुभन्दा ठीक एकदिन स्थगित भएको खबर आयो।
अनि त्यसको ठीक पाँच दिन पछाडि रामवीरको काम पनि स्थगित भयो। देश लकडाउनमा।
'एक हप्ता त हो। आराम मिल्छ। भाइको परीक्षा नि सरेको छ, पैसा जम्मा गर्न हतार छैन भन्ने सोचेको थिएँ। तर, यत्रो समय बन्द भयो। पैसा त सकियो नि। यता के गरेर बस्नु?', खर्च सकियो बाँकी रह्यो त प्रश्नमात्र।
सोमवार लकडाउनको तेस्रो साता समाप्त हुनु एकदिन अघि पुतलीसडकमा भेटिए उनी। गाउँ, बर्दिया फर्कन हिँडेका। उनीसँगै अरु २२ जना थिए लस्करमा। प्रहरीले रोकेर राखेको रहेछ। प्रहरीले केरकार गर्दै थिए उनीहरुलाई। अनि रामवीर भने सबैलाई पेटीमा जम्मा हुन निर्देशन दिँदै थिए। उमेरले भर्खर २१ लागेको भए पनि उनी पाका मानिस जसरी आफ्नो टोली व्यवस्थापन गर्दै थिए।
टोलीका सबै ज्यालादारी मजदुर। प्राय सबै एकै ठाउँका पनि। काम पनि सँगै गर्ने। चार, पाँच जना बालबालिका पनि थिए उनीहरुको टोलीमा। उनीहरुले लगाएको लुगा नयाँ देखिन्थ्यो। सायद् फिते चप्पल लगाएर हिँडेका तिनै बुबाआमाले किनिदिएका हुन्, 'बाहिर हिँड्दा' लगाउन। बाहिर त हिँड्दै थिए उनीहरु, तर लामो यात्रामा। ती बालबालिकालाई सायदै थाहा थियो – त्यो यात्रा भयंकर कष्टकर हुनेवाला छ।
सरासर हिँड्न सके १२ दिनमा पुग्ने अनुमान थियो उनीहरुको। यात्राका लागि झोलाभरी च्युरा, दालमोठ र भुजा बोकेका थिए सबैले।
रामवीरकी सहकर्मी ललिता थारु ससाना नानीहरुलाई हेर्दै बोलिन्, 'हामी त भोक, तिर्खा सहौंला। सरासर हिँड्न आँटौला तर यी बच्चाबच्चीलाई पो कसरी पुर्याउने हो? मुलपानीबाट यहाँ आइपुग्दा गलिसके।'
रामवीरले भरोसा दिलाउँछन्, 'हामी बोक्छौं नि।'
काम ठप्प हुनु। रासन पानी रित्तिँदै जानु अनि खर्च सकिनु नै उनीहरु हिँड्नुको मुख्य कारण बन्यो।
'अब घर पुग्नुको विकल्प छैन। आमाबुबालाई पनि खर्चभन्दा अगाडि छोरो आइपुगोस् जस्तो लागेको छ,' रामवीरले सुनाए।
करिब आधा घण्टा पुतलीसडक चोकमा उभिएपछि एक प्रहरीले उनीहरुको टोलीलाई अघि बढ्ने अनुमति दिए। प्रहरीले गरुन् पनि के? सरकार उनीहरुलाई सहजै जान पनि दिँदैन्, बसेर खान पनि दिँदैन। अलपत्र परेकाहरुलाई आफ्नै जोखिममा हिँड्न छाडेपछि ठीक साढे ११ बजे फेरि हिँड्न सुरु गरे उनीहरु। रामवीरका साथी रमेश थारुले चप्पल खोलेर पैतालाको पसिना भुईंमा पुछे। फेरि लगाए अनि टोलीको नेतृत्व गर्दै अघि बढे।
लकडाउनले भोको बनाएकै कारण गाउँ फर्कने अरु लस्करभन्दा फरक देखिएनन्, उनीहरु। उस्तै कथा, उस्तै बाध्यता। थाहा छैन – अन्त कता कति ठाउँमा यसैगरी रोकिनु पर्छ।
दिउँसो साढे दुई बजे फोन सम्पर्कमा आए, रामवीर। फेरि प्रहरीले रोकेका रहेछन् उनीहरुलाई। ठाउँको नाम भन्न सकेनन्। 'कलंकी कटियो, थानकोट पुगिसकेका छैनौं,' उनले यसैगरी जानकारी दिए।
आफू उभिएको ठाउँ चिनेनन् उनले। पुग्नुपर्ने गन्तव्यमात्र थाहा छ, उनीहरुलाई। तर, त्यो गन्तव्यतर्फको यात्रा अनुमान गरेजस्तो सहज छैन भन्ने कुरा उपत्यकाबाट ओरालो नलाग्दै चाल पाइहाले।
'हाम्रो गाउँभन्दा टाढा टाढासम्म मानिस हिँडेरै पुगेको समाचार सुनेथ्यौं। उनीहरुलाई पनि रोके होलान् त?', उनको आवाजमा कोठामै फर्कनुपर्ने चिन्ता सुनियो।
केहीबेरमै पुन: फोन गरे। यस पटक बोलीबाट प्रष्ट भयो केही खुशीको खबर सुनाउँदै छन् उनी।
'हिँड्न दिए त?'
प्रश्न खस्न नपाउँदै भने, 'पुलिसले त गाडी चढाइ दिनुभयो। सब्जीको गाडी रै'छ हामी पछाडि पट्टी बसेर जाँदैछौं। कहाँसम्म पुग्छ था'छैन।'
ढुङ्गेअड्डा, सतुंगल, नैकाप कतै प्रहरीले रोके होलान् यिनीहरुलाई। भेटिइन्छ कि भन्दै पच्छ्याउनुको तुक रहेन आखिरमा। नागढुङ्गा चेकपोस्टसम्म पुग्दा पनि उनीहरु भेटिएनन्।
सकेसम्म मानिस बाहिरिन नदिन गाडीहरुको जाँच हुँदै थियो। प्रहरी खटिएका थिए – गाडीको नम्बर टिप्न, मालबाहक ट्रकको अगाडि भागमा रहेका मानिसको संख्या टिप्न। धन्न ती ट्रकको पछाडि भागमा मात्र अट्ने जमात हिँडेका थिए। ती मालवहाक ट्रकको पछाडि त्रिपालले छोपिएका होलान् या उपत्यका छाडे होलान्?
सबैकुरा ठीकठाक भएको भए उनीहरुको यात्रा छोट्टियो।
+++
गाडी फेरि झ्याप्पै रोक्कियो। यस पटक केही लामो समय अडिरह्यो। बाहिरको हल्लाखल्लाले टोलीका सबै ब्युँझिए। मोबाइलमा समय हेरे रामवीरले - पौने आठ भएको रहेछ। ट्रकको पछिल्लो भागमा मधुरो उज्यालो पर्यो। प्रहरीले टर्च बालेर हेरेका रहेछन्। सबैलाई उठेर बाहिर निस्कन निर्देशन दिए। उनीहरु एकपछि अर्को गर्दै ओर्लिए। आमाको गर्धन च्याप्प समाएर निधाएका बच्चाहरु बिथोलिएर रोए, कराए।
'थाकेको थियो नि त। गाडीमै बसिरहुँ जस्तो भएको थियो तर नियमले दिँदैन नि,' रमेशले सुनाए।
नजिकको पसलमा टाँगिएको बोर्ड पढे, रामवीरले। नारायणगढ पुगेको थाहा पाए। सबैलाई जानकारी पनि दिए।
केही परे फोन गर्नु भनेकाले उनीहरु सम्पर्कमै रहे। पुलिस देख्दा, नेता भेट्दा, बोकेर च्युरा दालमोठ सकिँदा फोन गरे।
नारायणगढमा घण्टौं रोकियो। केरकार भयो। हिँड्ने बेला भने प्रहरीले नै केही पोका बिस्कुट र पानी दिएर पठाए, उनीहरुलाई।
बाटोमा त्यस्ता केरकार भइरहे। कतिले दया देखाए कतिले वचन लगाए।
बुटवलभन्दा करिव ३० किलोमिटर वरै काठमाडौंबाट चढेको गाडीमा यात्रा टुङ्गियो। गाडीले रामवीरको टोलीलाई झार्दा कति बजेको थियो, उनीहरुलाई याद छैन। ओर्लिएर सरासर हिँडे। कसैले झोला बोके, कसैले बच्चा। बुटवल पुग्दा तीन बजेको थियो।
त्यहाँ त आफूहरु जस्तै दाङ, बाँके, बर्दिया जान हिँडेकाहरु टन्नै रहेछन्। त्यही भिडमा मिसिए, उनीहरु। कोरोनाभन्दा अगाडि भोकले तर्साएकाहरुलाई के थाहा? सामाजिक दूरी कायम गर्नुपर्ने कि शारीरिक दूरी?
बिहान स्थानीय युवाहरुले गन्ती गर्दा चाल पाए कुल १ सय ५ जना रहेछन्।
बुटवल नगरपालिकाले खाना खान दियो। दालमोठ च्युरा चपाउँदै आएका उनीहरुलाई केही राहत मिल्यो। खाइसकेर हिँड्न जो अघि बढ्न जोसिएका थिए। तर, हिँड्न पाएनन्। 'नगरपालिकाले पास उपलब्ध गराउँछ। बाटो मिल्ने गाडी आएपछि त्यसैमा राखेर पठाउने' भरोसा पाएपछि उनीहरु अडिए।
'खुशी लाग्यो नि। हामी बेक्कार डराएछौं। नियम त हामीलाई सुरक्षित घर फर्काउनका लागि पनि त बनेको रहेछ,' त्यहाँ रोकिँदा रमेशले खुशी व्यक्त गरे। दिउँसो दुई बजेसम्ममा निस्कने अनुमान थियो उनको। लकडाउनका कारण बुटवल शहर घुम्न त पाएनन् तर सोचेभन्दा छिट्टै घर पुग्ने आशाले ऊर्जावान् बनाइराख्यो।
दिउँसोको दुई बज्यो। चार बज्यो। छ बज्यो। फेरि भोक लाग्यो, सबैलाई। सात पनि बज्यो तर न कसैले उनीहरुको हातमा पास थमायो न कुनै गाडी। त्यसपछि फेरि एकफेर झोली कसे।
यात्रा थालेर केही अघि बढ्दा सडकमा घुँइचो लाग्यो। सामान बोकेर आवत् जावत् गरिरहेका गाडीहरु जाममा परे। अनि यस पटक फेरि प्रहरीले नै पहल गर्यो - पालै पालो गाडी चढाएर उद्दार गर्यो।
'स्थानीय नेताले मात्र होइन हामीले पनि आफैलाई रोकेका रहेछौं,' रामवीरले भने, 'जब हिँड्न थाल्यौं प्रहरीले सहयोग गरे नि त।'
उनीहरु चढेको मालवाहक ट्रकले भालुवाङसम्म पुर्याइदियो। त्यहाँबाट करिब १५ किलोमिटरको दूरी हिँडेरै कटाए। फेरि अर्को गाडी भेटे। तर, त्यो गाडीमार्फत् टाढासम्म पुग्न भने सकेनन्। उनीहरुलाई दाङ र बाँकेको सीमामा रोकियो।
'कोरोनाको पोका भने। हामीलाई चाहिँ डर लाग्दैन र? फेरि समूहका धेरै त बाँकेकै जनता पनि त थियौं। जनता भोट खसाल्न मात्र काम लाग्ने हो?,' मानिसहरुको भनाइले उनलाई अचम्मित बनायो।
'हिँड्नुको विकल्प छैन। हिँड्न बाटो छैन। कुरेर बस्न जोहो गरेको खाना सक्यो, पानी पनि सक्यो, ' रामवीरले सुनाए। उनी बाँकेकै भए पनि बर्दिया छेवैसम्म पुग्नैपर्छ, घरको आँगन टेक्न। घर पुग्नुअघि फोन अफ भएकाले चिन्तित थिए उनी।
बाटोमा प्रहरीलाई समस्या नसुनाएका होइनन्। तर, कसले सुन्नु?
'सबै पुलिस कलंकीबाट गाडी चढाइदिनेजस्ता नहुँदा रहेछन्। पिउनका लागि पानी समेत दिएनन्,' उनको बोलीमा थकान र दिक्कारी सुनिन्थ्यो।
बुधवार बिहानमात्र कोहलपुरतर्फको यात्रा थाले उनीहरुले। कोही छुट्यो कि?
दोहोर्याएर गने रामवीरले।
त्यहाँबाट लगभग ७५ किलोमिटर टाढा पर्छ, कोहलपुर। बीचबीचमा फाट्टफुट्ट बस्ती। बाँकी बाक्लो जंगल। सहयोग त परको कुरा, गोजीमा बाँकी पैसाले केही किनेरै खान्छु भने पनि ठाउँ छैन।
कोहलपुरमात्र पुगेर हुँदैन। त्यहाँबाट धेरैले राजापुरको यात्रा तय गर्नुपर्थ्यो।
'नपुन्जेल केटाकेटीको आन्द्रा नबटारियोस्, हामी त भोक सहेरै हुर्किएका त हौं,' रामेश्वर चौधरीले कामना गरे।
२१ वर्षीय रामवीर भने आशावादी सुनिए, 'पुगिहालिन्छ नि। यहाँ आएर किन दु:खको कुरा सुनाउनु? सुन्नेहरु भइदिएको भए काठमाडौंबाट हिँड्नै पर्दैनथ्यो।'
यसपछि रामवीर र रमेश दुवैसँग पनि फोन सम्पर्क नै भएन। एउटा फोनको स्विच अफ नै रह्यो। अर्कोमा – कोरोना भाइरसविरुद्ध सावधान संदेशको सट्टा, माफ गर्नुहोला… बजिरह्यो।
+++
बिहीवार बिहान रमेश चौधरीले आफैँ फोन गरे। अनुमान गरेजस्तो जंगलको बीचमा भोक, तिर्खा, जनावर र प्रहरीको सामाना गर्दै हिँडिरहेका रहेनछन्। उनले त आफ्नै ठाउँ, राजापुर ढोढरीमा रहेको क्वारेन्टाइनबाट कल गरेका रहेछन्।
घर पुग्नुअघि जंगलले घेरिएको सडकमा गीत गाउँदै अघि बढेको सुनाए उनले। सुनसान ठाउँमा चुपचाप हिँड्दा जनावर आउने, आक्रमण हुने डर थियो, त्यसैले। भोकले ओठ सुकेका थिए। कति हिँड्न नसक्ने भन्दै गर्दै थचक्क बस्थे। परबाट गाडीको आवाज सुनिएपछि भने सबै जोसिए। सबैले एकै दिशामा हात दिएर भने – रोक् रोक् रोक्। गाडी रोक्कियो। सबै चढे।
रमेश र आशाराम थारु थाकेका कोही परै छुटे कि? भन्दै खोज्न हिँडे। कोही पछि छुटेका रहेनछन्। ढुक्क भए।
तर, फर्केर आउँदा गाडी पो गइसकेछ। उनीहरु दुईलाई छाडेर गएछ गाडी। यस पटक गाडी मात्र छुटेन लामो, कठिन अनि त्रासपूर्ण यात्राका साथीहरु पनि छुटे, त्यो पनि जंगलको बीचमा।
'ट्रकको पछाडि भएकाहरुले गुहारेका त थिए होलान् तर रफ्तारमा गुडेको गाडी चालकले कसरी सुन्नु?,' रमेशले भने, 'हाम्रो समस्या आँखै अगाडि देख्ने नेता, प्रशासन, प्रहरीले त सुन्दैनन्।'
हिँड्दै गए। निकै अघि पुगे। बाटोमा एउटा मोटरसाइकल आयो। रोके। अनेक अनुनय गरेर आफ्ना साथी बोकेर गएको ट्रकसम्म पुर्याइदिन आग्रह गरे। तर, कहाँ भेट्नु? बाँकेका प्राय मुल सडकमै ओर्लिए। आ-आफ्नो गाउँ जाने बाटो समाते। बाँकी कोहलपुरबाट छुट्टिए।
रमेश, आशाराम र कोहलपुरमा भेटिएका सूर्यविक्रम भने राजापुरतर्फ हिँडे।
'घरमा पुगेर मनै शिलत हुने गरी आफैलाई पानी खन्याउँछु भन्ने सोचेको थिएँ। पिलान क्यान्सिल भयो,' उनको बोलीमा चिन्ता एकरत्ती सुनिएन यतिखेर। हाँस्दै भने, '१४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने रे! परिवारको मुख समेत देख्न पाएन। घर दश मिनटमात्र दुर छ।'
रामवीर अझै सम्पर्कमा आएका रहेनछन्। बाँकेकै एक गाउँका १४ जना र अर्को गाउँको ३ जना भने आ-आफ्नै गाउँको क्वारेन्टाइनमा राखिएछन्। घर नजिकै पुगेको खुशीसँगै १४ दिन क्वारेन्टाइनमा बस्नुको दु:ख पनि एकैसाथ छ उनीसँग। अझ त्यसभन्दा पनि चिन्ता अर्कै रहेछ।
'यस्तो अव्यवस्थित ठाउँमा आइपुगियो। अब यहीँ बस्दाबस्दै लकडाउन सकिएला,' चिन्ता नै सहि हाँस्दै उनले सुनाए, 'अनि घर चाहिँ फेरि काठमाडौं फर्कनुअघि बिदा माग्न जानु पाइएला जस्तो छ!'
पैदल यात्रीको कथाहरु : चप्पलकै भरमा मेलम्चीबाट बारातिर लागेकाहरु भन्छन् : घर पुगेपछि न भोकको डर न भाइरसकै