PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पीसीआरमा नेगेटिभ देखिएपछि धादिङका युवा बाइकमै फर्कँदै, एम्बुलेन्स चालकको दुखेसो अलग्गै



पहिलोपोस्ट

पीसीआरमा नेगेटिभ देखिएपछि धादिङका युवा बाइकमै फर्कँदै, एम्बुलेन्स चालकको दुखेसो अलग्गै

  • नेत्र तामाङ/फूलमाया पुरी -

काठमाडौं : कोरोनाको आशंकामा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको धादिङ ज्वालामुखीका युवाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ।

मंगलवार धादिङको ज्वालामुखी गाउँपालिकामा र्‍यापिड डायग्नोष्टिक टेस्ट कीटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका युवाको स्वाब परीक्षण रिपोर्ट चाहिँ नेगेटिभ आएको हो।

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि उनलाई धादिङबेसीस्थित एकीकृत आइसोलेसन वार्डमा राखिने कुरा भएको थियो। तर, गाउँपालिकाका, निजी र सरकारी कुनै पनि एम्बुलेन्सले बोक्न नमानेपछि आफैं बाइक हाँकेर धादिङ अस्पताल पुगेका थिए उनी।

तीन दिनदेखि त्यहीँ बस्दै आएका ती युवको शुक्रवार दिउँसो पीसीआर रिपोर्ट नेगेटिभ आएको उनैले बताएका छन्।

‘एक घण्टा अघि रिजल्ट आयो। डाक्टरले भनेपछि थाहा पाएँ। मलाई पहिले नै अचम्म लागेको थियो। कसरी पोजेटिभ देखियो भनेर। तर, अब झन् ढुक्क भएँ। आजै विदा भएर घर जान लागेको छु,’ उनले पहिलोपोस्टसँग भने।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय दिपक सापकोटा गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएका हुन्।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा कोरोना नभेटिएको जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट दीपा बोहराले जानकारी दिएकी छिन्।

 

'बाइक हाँकेरै जान्छु अब'

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएपछि उनलाई धादिङ अस्पतालमा भर्ना गरिएको थियो। उनलाई बोक्न एम्बुलेन्सले नमानेपछि उनी आफै मोटरसाइकल हाँकेर अस्पताल आइपुगेका थिए।

अब त रिजल्ट नेगेटिभ आयो। अस्पतालले घर पठाउने व्यवस्था कस्तो गरेको छ?

जवाफमा सापकोटाले भने, 'अस्ति ल्याएको बाइक पनि अस्पतालमै छ। वडा अध्यक्षले एम्बुलेन्ससँग कुरा पनि गर्दैछु भन्नुभएको छ। मैले चाहिँ एम्बुलेन्सलाई दु:ख नदिउँ। बाइकमै जान्छु भनेको छु। सायद बाइकमै जान्छु होला।'

एम्बुलेन्स चालकको पीडा भने बेग्लै

धादिङका ती युवामा कोरोना भाइरस पोजेटिभ देखिएपछि आफू पनि असुरक्षित हुने भएकाले एम्बुलेन्समा लैजान नसकेको चालक कृष्ण श्रेष्ठले स्वीकारेका थिए।

‘म सँग त मास्क पनि राम्रो छैन। हातमा पञ्जा पनि छैन। पीपीई पनि रेनकोट जस्तो छ। सुरक्षित लाग्दैन। त्यसैले डरैले गइनँ,' मंगलवार साँझ नै श्रेष्ठले पहिलोपोस्टसँग भनेका थिए।

‘सुजन (सुजन श्रेष्ठ, मैदी हेल्थ पोस्टका सदस्य सचिव) सरले फोन गर्नु भएको थियो तर मैले आफूलाई सुरक्षित उपकरण उपलब्ध गराए मात्र जाने जवाफ दिएँ,’ उनले भने।

अहिले पनि कपडाको मास्क लगाएको बताउँदै उनले के लगाउँदा सुरक्षित भइन्छ भन्ने नै बुझ्न नसकेको पहिलोपोस्टसँगको कुराकानीमा सुनाएका थिए।

विगत पाँच वर्षदेखि मैदी स्वास्थ्य चौकीमा एम्बुलेन्स चालकका रुपमा काम गर्दै आएका उनलाई गाउँलेले पनि दवाव दिएको श्रेष्ठले सुनाए। कोरोना भाइरस सर्ने डर देखाउँदै गाउँलेले बिरामी लिन जानबाट रोकेको दाबी उनले गरे।

‘म आफ्नै डरले कोरोना भाइरस लाग्ला जस्तो भइसकेको छ। त्यसो त मैले अहिलेसम्म संक्रमित बोकेको छैन,' उनले भनेका थिए। उनले पसलदेखि गाउँले सबैले हेर्ने नजर नै फरक भइसकेको दुखेसो समेत गरेका थिए।

‘पानी किन्न जाँदा पनि सकेसम्म छैन भन्छन् दिइहाले पनि परै राखिदिन्छन्,’ उनको भनाइ थियो।

कोरोनाको बिरामी नबोक्न परिवारले पनि दबाव दिने गरेको उनले बताएका थिए।

'अब त बरु जागिर नै छोड्न सकिन्छ तर जोखिम लिन हुन्न भन्छन् परिवारले,' उनले भनेका थिए।

गाउँघरकाले कोरोना लिएर आएको भन्दै परै तर्सिने गरेको पीडा उनले पोखेका थिए।

बिरामी बोक्न नमान्ने एम्बुलेन्स तोडफोड

बिरामी बोक्न नमानेको तर अरु व्यक्तिगत सामान बोकेको भन्दै स्थानीयले मैदी स्वास्थ्य चौकीको एम्बुलेन्समाथि तोडफोड गरेका थिए। बुधवार बिहान उक्त एम्बुलेन्समाथि तोडफोड भएको थियो। एम्बुलेन्स तोडपोडपछि चालक श्रेष्ठ सम्पर्कमा आउन चाहेनन्। अस्पतालकै सामान र औषधि बोकेर ल्याउने क्रममा एम्बुलेन्समाथि तोडफोड भएको मैदी स्वास्थ्य चौकीले दाबी गरेको छ।

'धादिङबाट औषधी बोकेर फर्कँदै गर्दा एम्बुलेन्स तोडफोड भएको हो। अमराइमा मान्छे नबोक्ने सामाग्री मात्रै बोक्ने भन्ने आशयले एम्बुलेन्स तोडफोड गरिएको हुनसक्छ,' मैदी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत तार्केश्वर पटेलले भने।

चालक प्रहरी नियन्त्रणमा

एम्बुलेन्स चालकलाई बुधवार नै जिल्ला प्रहरी कार्यालय लगिएको छ। सामान्य सोधपुछका लागि लगिएको भए पनि श्रेष्ठ अहिलेसम्म प्रहरी नियन्त्रणमै रहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाले पुष्टि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell