काठमाडौं : गायिका आस्था राउतको ट्रोल बनाउने व्यक्तिले नै पूर्व संचारमन्त्री गोकुल बास्कोटाको पनि ट्रोल बनाउने गरेको फेला परेको छ।
लकडाउनमा २८ दिनदेखि देश लकडाउनमा छ। मानिस फुर्सदिला छन्। त्यसैले ट्रोलको बजार पनि बढेको छ।
केही समय अगाडि विमानस्थलमा प्रहरीसँगको विवादका कारण चर्चामा आएकी गायिका राउतको यही विषयलाई लिएर विभिन्न ट्रोल बनेको थियो। उनका फोटोहरु जोडेर ट्रोल बनाएपछि उनले प्रहरीलाई गुहारेकी थिइन्।
उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा मौखिक उजुरी दिएकी हुन्।
'उहाँले घरबाट नै फोन गरेर जानकारी दिनु भएको हो। हामीले ट्रोल बनाउने युवकलाई कारबाही दायरामा ल्याएका छौं,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।
रोल्पा घर भई काठमाडौं बस्दै आएका युवकलाई प्रहरीले कारबाही गरेको हो। कारवाहीमा परेका यी युवाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको पनि ट्रोल बनाउने गरेको देखिएको छ।