PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

उदयपुरमा भेटिएका १३ जना संक्रमितले कसकसलाई भेटे? ट्रेसिङमै भयो समस्या



प्रकाश भण्डारी

उदयपुरमा भेटिएका १३ जना संक्रमितले कसकसलाई भेटे? ट्रेसिङमै भयो समस्या

काठमाडौं : नेपालमा अहिलेसम्मकै एकैपटक १३ जना कोरोना संक्रमित भेटिएको उदयपुरको भुल्केमा कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या भएको छ।

संक्रमितहरु धेरै जिल्लामा घुमेकाले ट्रेसिङ गर्न समस्या भइरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले बताए।

'संक्रमितहरुले भनेका आधारमा उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गरिरहेका छौं। तर, धेरै ठाँउमा घुलमिल भइसकेकाले अप्ठेरो भइरहेको छ,' उनले भने।

मंसिर ११ गते दिल्लीबाट नेपाल आएका १६ जनाको समूह त्यस बीचमा भारत पनि गएकाले विवरणमा उनीहरुलाई देखाउन नसकिएको पहाडीले बताए।

नेपालमा संक्रमितहरु सहभागी भएको समारोहमा भारतबाट पनि मानिसहरु आएको हुनसक्ने देखिएको उनले बताए।

फागुन ३ गतेदेखि ५ गतेसम्म सप्तरीको बोध बसाइन नगरपालिकाको जाजरमा आयोजना भएको धार्मिकसभामा १६ जना सहभागी थिए।

त्यही पर्वमा भारतबाट केही मानिसहरु नेपाल आएको भन्ने जानकारी आएकाले त्यसको यकिन गर्न लागिएको पहाडीले बताए।

भारतबाट आएको यकिन भएमा आएकाहरु संक्रमित थिए या थिएनन् भन्ने खोजी गरिने उनले बताए।

'सप्तरीको बोध बसाइनमा भएको पर्वमा भारतबाट पनि केही मानिस आएका थिए भन्ने जानकारी पाएका छौं। तर यकिन भएको छैन। यकिन भएपछि उनीहरु संक्रमित थिए कि थिएनन् भन्ने विषयमा अध्ययन गर्छौं,' उनले भने।

भुल्केमा अहिलेसम्म २ सय ३ जनाको पीसीआरबाट कोरोना परीक्षण गरिएको छ।

पहिलो दिन ६९ र दोश्रो दिन १ सय ३४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए।

अहिलेसम्म त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के क्षेत्रका मुस्लिम समुदायका ५३ घर परिवारको नमूना जाँच गरिएको हो।

सोमवार १ सय जनाको परीक्षण हुँदैछ।

चौधरीले नगरपालिका भित्र बस्ने सबैको कोरोना परीक्षण गरिने बताए।

'हामीले नगरमा बस्ने सबैको परीक्षण गर्ने तयारी गर्दैछौं। अहिले हामीले गरिरहेको जाँचले त पोजेटिभ देखिएको छैन। कसैलाई फेरि पोजेटिभ देखिएमा अझ ठूलो सङ्ख्यामा परीक्षण गर्नुपर्ने हुनसक्छ,' उनले भने।

संक्रमित भेटिएको क्षेत्र वरपर सबै सिल गरिएको छ।

अरु क्षेत्र पनि आवश्यक परे सिल गर्ने तयारी भएको चौधरीको भनाइ छ।

उदयपुरको भुल्केस्थित एक मस्जिदमा वैशाख ५ गते १२ जना कोरोना संक्रमित भेटिएका थिए।

त्यसपछिको परीक्षणमा उनीहरुकै समूहका एक अर्कालाई पनि कोरोना भेटिएको थियो।

चौधरीले संक्रमितको सम्पर्कमा पुगेका केहीको परीक्षण भइरहेको भए पनि कन्ट्याक्ट ट्रेसिङको काम भने सकिनसकेको बताए।

'मोटामोटी उनीहरु कहाँकहाँ गए भन्ने भेटिए पनि ४ महिनाको बीचमा उनीहरुले नेपाल भारत आवतजावत गरे कि गरेनन् भन्ने भेटिएको छैन,' उनले भने।

मंसिर २५ मा नेपाल आएका उनीहरु तराईका विभिन्न ५ जिल्लामा पुगेका थिए।

संक्रमितहरु विवाह तथा धार्मिक पर्वमा समेत सहभागी भएको देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell