PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यस्तो छ अहिले अमेरिकाको हाल : नेपालमा रहनुभएकाहरु धेरै नआत्तिनुस्



पहिलोपोस्ट

यस्तो छ अहिले अमेरिकाको हाल : नेपालमा रहनुभएकाहरु धेरै नआत्तिनुस्

  • दिपकराज तिवारी -

यो आलेख तयार पार्दासम्म संयुक्त राज्य अमेरिकामा मात्रै ३७ हजार ७ सय ८२ मानिसको कोभिड-१९ भाइरसका कारण मृत्यु भएको छ भने कूल ७ लाख ८० हजार ३ सय ३० जना यसबाट संक्रमित भएका छन्। न्युयोर्क टाइम्सले अध्यवधिक गरेको यस तथ्याकंले अमेरिका कोरोना भाइरसका कारण प्रभावित हुने देशहरुको सूचीमा पहिलो नम्बरमा रहेको देखाउँछ। अमेरिकामा मार्च महिनाको पहिलो हप्तसम्म संक्रमितहरुको संख्या अति न्युन थियो। तर, विगतका ४२ दिनको अवधिमा यो संख्या बढेर यहाँसम्म आइपुग्यो।

अमेरिकाका विभिन्न राज्यमध्ये सबैभन्दा बढी प्रभावित हो न्युयोर्क। न्युयोर्कमा मात्रै २ लख ४७ हजार ५ सय ४३ जना व्यक्तिहरु संक्रमित भेटिएका छन्। जसमध्ये १४ हजार ३ सय ४७ को मृत्यु भएको छ। न्युयोर्कपछि क्रमश: न्युजर्जी, म्यसेचुसेट, पेन्सिलभेनिया, क्यालिर्फोर्निया र मिसिगन बढी संक्रमित भएका राज्यहरु हुन्। संयोगले यिनै राज्यहरुमा नेपाली तथा नेपाली भाषीहरुको बाक्लो बसोवास छ। मृत्यु हुनेहरुमा केही नेपाली तथा नेपाली भाषीहरु पनि रहेका छन्। कोभिड १९ को कारण अझै कति जनाले ज्यान गुमाउँछन् भने यकिन छैन। सबैभन्दा दुखद् त के भने उपचारमा संलग्न डाक्टर तथा नर्सहरु समेत संक्रमित छन्। आउने दिनमा संक्रमित तथा मृतकहरुको संख्या बढ्न पनि सक्छ।

विगतका केही दिनमा सबैभन्दा बढी संक्रमित भएको न्युयोर्कका अस्पतालहरुलाई बिरामीहरुको चाप थेग्न हम्मेहम्मे पर्‍यो। अस्पतालमा भएका बेडहरु अपुग भएर टेनिस कोर्टमा अस्थायी शैय्या बनाएर बिरामीको उपचार भयो। न्युयोर्कमा भएका भेन्टिलटरहरु अपुग भएर अन्य राज्यबाट सापटी लिइयो। यस्तै अवस्था छ न्युयोर्कको छिमेकी राज्य न्युजर्जीको पनि। अन्य केही राज्यहरुको अवस्था पनि जरजर नै छ। यही महामारीका कारण अमेरिकामा लाखौले जागिर गुमाएका छन्। यही हप्ता मिसिगन राज्य लगायतका केही ठाउँमा स्थानीय जनाताहरुले सरकारको स्टे होम आदेश उल्लंघन गरेर हतियारसहित प्रदर्शन गरे। स्टे होम अर्डरले आफूहरुको अधिकार खोसेको उनीहरुको दावी छ।

यस महामारीका कारण सबैभन्दा बढी समस्या भोग्ने चाहिँ विदेशी विद्यार्थीहरु हुन्। उनीहरुलाई खाने बस्ने, फिस तिर्ने लगायत अन्य थुप्रै समस्या छन्। तीमध्ये समयमा फिस तिर्न नसक्दा भिषाको वैधता कसरी कायम गर्ने भन्ने चिन्ता सबैभन्दा ठूलो छ। यति धेरै जनधनको क्षति गराएको कोभिड १९ महामारीले पार्ने दीर्घकालीन सामाजिक तथा आर्थिक असरको लेखाजोखा हुन अझै बाँकी छ। नेपाली विद्यार्थीहरु समेत यसबाट प्रभावित भएका छन्। टेक्सास राज्यमा केही नेपाली विधार्थीहरुले आफूहरुलाई नेपाल फर्काउन पहल गरिदिन माग गरेका छन्। कोभिड १९ ले अमेरिकमा हरेक दिन नयाँ नयाँ चुनौतीहरु थपिदिएको छ।

शुरुका दिनहरुमा अमेरिकाका राष्ट्रपतिले कोभिड १९ लाई गम्भीरतापूर्वक लिएनन्। त्यही कारणले अन्य देशमा कोभिड १९ विरुद्धमा आक्रामक कदम चालिसक्दा अमेरिकामा त्यसो गरिएन। फलस्वरुप अमेरिकामा कोभिड १९ को संक्रमण फैलिने क्रम तीब्र भयो। मार्च १५ सम्म अमेरिकामा कोभिड १९ का संक्रमितहरु दुई हजारभन्दा माथि थिएन। तर, त्यसको एक महिनामा उक्त संख्याले संसारको सबै तथ्याड्कलाई उछिन्यो। यसको मुख्य कारण अमेरिकामा ढिलो गरी लकडाउन गर्नु नै हो।

यो पनि पढ्नुस् :  मेरो बोली उनीहरुले सुन्ने अन्तिम आवाज नबनोस् : अमेरिकी अस्पतालमा कोरोनाविरुद्धको युद्ध लड्दै गरेकी नेपाली डाक्टरको कामना

ढिला भए पनि हाल अमेरिकाका धेरै राज्यहरुमा घरै बस्ने आदेश जारी भएको छ। यहाँको सरकारले माक्स लगाएर अत्यावश्यक कामको लागि घरबाहिन जान पाउने व्यवस्था गरेको छ। सुरक्षा निकाय, स्वास्थ्य क्षेत्र लगायत खाद्य साम्रगी किन्ने कामलाई समेत अत्यावश्यक ठानिएको छ। अत्यावश्यक काममा लागेकाबाहेक अन्य सबै घरमै छन्। अमेरिकाको स्टे होम अर्डर चीन र नेपालको जस्तो छैन। उद्देश्य एउटै भए पनि बन्दाबन्दीको अवस्था फरक छ। अन्य देशको तुलनामा यहाँको स्टे होम आदेश निकै खुकुलो छ।

यस्तै तथ्यहरुले देखाउँछ कि हाल अमेरिकामा सुखद् अवस्था पक्कै छैन। अमेरिका कोभिड १९ सँग जुधी नै रहेको छ। तर, सञ्चार माध्यममा सकरात्मक समाचारभन्दा नकारात्मक समाचारहरुले बढी स्थान पाउने कारणले गर्दा कोभिड १९ ले चाहिनेभन्दा बढी त्रास फैलाइरहेको छ। केही व्यक्तिहरुले सामाजिक सञ्जालमा घटनाहरुलाई अतिरञ्जित गरेका कारण अमेरिका बाहिर रहेका आफन्त र शुभचिन्तकहरु बढी नै चिन्तित भएको देखिएको छ।

अमेरिका बस्ने केही व्यक्तिहरुले खान नपाएर भोकले मर्नुपर्ने दिन आएको भन्दै रोएको भिडियो सार्वजनिक गरेपछि अमेरिका बाहिर ठूलै तरड्ग पैदा गर्‍यो। त्यसको असर नेपालमा पनि परेको छ। तर, समाजिक सञ्जालहरुमा आएजस्तो खान नपाएर मर्ने अवस्था याहाँ छैन। पैसा भएर पनि खाना किन्न नपाएको, अस्पतालहरुले बिरामी भर्ना गर्न छोडेको, घरबेटीले निकाल्न दवाव दिएको आदिइत्यादि मिडियामा आए पनि ती सत्य होइनन्। केही अनलाइन पोर्टलहरुले अमेरिकी राष्ट्रपतिले विदेशी नागरिकलाई आफ्नो देश फर्कन भनेको जस्ता गलत समाचार पनि बनाए। तर, वास्तविकता त्यस्तो होइन।

अर्थात् के हो भने अमेरिकाले कोभिड १९ सँग जुध्न केही सकरात्मक कदमहरु चालेको छ। जुन कुराहरु अरु देशले समेत सिक्न सक्छन्। रोगको त्रासको समयमा देशवासीको आर्थिक भार घटाउने उद्देश्यले कर तिर्ने समय सार्न मिल्ने बनाइएको छ। घरभाडा, क्रेडिट कार्ड तथा अन्य किस्तामा तिर्नु पर्ने रकमहरु पनि पछि तिर्न सकिने व्यवस्था मिलाइएको छ। यो परिस्थितिमा घर भाडा नतिरेका कारण कुनै घरबेटीले घर खाली गर्ने आदेश दिन पाउँदैन। दैनिक आवश्यक पर्ने खाध्यान्नहरु बेच्न र किन्न पाउने व्यवस्था मिलाएका कारण कसैले खान नपाएर मर्ने अवस्था छैन। त्यसमाथि सरकारले निश्चित मापदण्ड पूरा गरेका अमेरिकावासीलाई विनासर्त १ हजार २ सय डलर दिने व्यवस्था मिलाएको छ। कोभिड १९ का कारण जागिर गुमाएकाका लागि सरकारले केही समयका बेरोजगार भत्ता पनि उपलब्ध गराएको छ। यहाँ पनि दयालु मान्छेहरुको कमी छैन। प्रायजसो ठाउँहरुमा स्कुल तथा अन्य संघ संस्थाहरुले नि:शुल्क खाना वितरण गरेका छन्। स्थानीय निकाय तथा राज्य सरकारले तोकेका स्वास्थ मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा पसलहरुबाट खाना तथा साम्रागी घरमै मगाउन पाइन्छ। यिनै साना प्रयासहरुले पनि कोभिड १९ सँग जुध्न पर्याप्त सहयोग गरेको छ।

यसैबीच टेक्सास राज्यकी एकजना डाक्टर इमिली पोर्टरले अमेरिकामा भएका स्वस्थ्यकर्मी तथा मौजुदा स्रोत साधनले हाल सम्मको परिस्थितिलाई धान्न सक्ने अवस्था रहेको बताएकी छिन्। उनका अनुसार अमेरिकी सरकारले एक लाख ५० हजार भेन्टिलेटर उपलब्ध गराउन सक्दछ। जुन संख्या हालको अवस्थालाई धान्न प्रायाप्त छ। किन भने संक्रमित मध्ये ८० प्रतिशत बिरामीहरु सामान्य उपचारबाट वा आफैँ निको हुन्छन्। तर, अमेरिकाबासीहरुले स्टे होम अर्डर पालना नगर्ने हो भने संक्रमितको संख्या अप्रत्यसित रुपमा बढ्न सक्छ। यसो भयो भनेमात्र मौजुदा स्रोत साधन अपुग हुने देखिन्छ। कालो बादलमा चादीको घेरा भने जस्तै, अप्रिल २० साँझसम्ममा अमेरिकाको संक्रमण दर अनपेक्षित छैन। धेरै राज्यका प्रमुखहरुले स्टे होम अडर जारी राख्ने बताएका छन्। यही अवस्था केही हप्ता रह्यो भने पक्कै पनि अमेरिकाको संक्रमण दर घट्ने छ।

संक्रमितमध्ये धेरैले यस रोगलाई जितिसकेको अवस्था छ। रोग जितेकामध्ये केही नेपालीहरु पनि छन्। निको भएका स्वस्थ्यकर्मी पुन: काममा फर्किसकेका छन्। उनीहरुले कोभिड-१९ सँग लड्न सकारात्मक सोच र उच्च मनोवल महत्वपूर्ण हुने बताएका छन्।

अहिलेलाई सरकारका प्रयासहरु, रोगलाई जित्नेहरुका कथा, अनि निको भएर पुन: कामका फर्केका स्वस्थ्यकर्मीको मनोवल र लगाव कोभिड-१९ विरुद्ध लड्ने आशाका किरणहरु हुन्। अतः अमेरिका बाहिर भएका आफ्न्त तथा शुभ चिन्तकहरुलाई अफवाहमा लागेर त्रसित नहुन अनुरोध छ। उनीहरुले अमेरिकामा भएका आफ्ना आफन्तहरुलाई आहार विहारमा ध्यान दिन, घरमै बस्न तथा उच्च बनोबल बनाउन सुझाव दिनु उत्तम हुन्छ। तर, केही अन्तर्राष्ट्रिय विद्यार्थीहरु भने साच्चिकै अफ्टेरोमा छन्। उनीहरुलाई उचित सहयोग र परामर्शको खाँचो छ। विद्यार्थीहरुले हतारमा निर्णय नलिन, संगठित भएर आफ्ना समस्याहरु संबन्धित निकायमा राख्नु जरुरी छ।

उच्च मनोवल भएकाहरुले यस रोगलाई पक्कै पनि जित्नेछन्। सकरात्तमक सोचौं र कोभिड १९ परास्त गरेकाहरुको अनुभवबाट सिकौं। कोभिड-१९ भन्दा धेरै गुणा बढी मृत्यु दर भएको इबोलासँग लडेको यस विश्वले छिट्टै नै कोभिड १९ लाई परास्त गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell