काठमाडौं : मंगलवार उदयपुरमा कोरोना भाइरसबाट ११ जना थप संक्रमित भेटिएपछि त्यहाँको अवस्था के छ? कोरोनाको हटस्पट बनिसकेको उदयपुर जिल्लामा थप संक्रमण नहोस् भन्न के गरिँदैछ?
यसअघि नै उदयपुरमा १३ जनामा कोरोना संक्रमण देखिसकेको थियो। त्रियुगा नगरपालिकास्थित भुल्केमा रहेका मानिसमा कोरोना संक्रमण देखिएको हो। उदयपुरमा मात्र २४ जना कोरोना संक्रमति भेटिएका छन्। देशभर ४२ जना संक्रमित भेटिँदा उदयपुर एउटै जिल्लामा २४ जना भेटिनुले संकटको संकेत गर्छ।
पहिलो पटक उदयपुरमा भेटिएका संक्रमितहरुको सम्पर्कमा आएका २ सय ६० शंकास्पदको नमुना परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा पठाइएको थियो। त्यसमध्ये पिसिआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ आएको हो। २० जनाको भने परीक्षण भइरहेको छ।
यो पनि पढ्नुस् : छेकेन चुरेले कोरोनालाई : हटस्पटमा रहँदाको मनोदशा
त्यस्तै ६९ जनाको परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको थियो। त्यसमध्ये ८ जना संक्रमति भएको भेटिएको हो। सुरुमा भारतीय नागरिकमा देखिएको कोरोनाको संक्रमण अहिले नेपालीहरुमा पनि सल्किएको छ। भुल्केमा कोरोना संक्रमति भेटिएपछि लकडाउन थप व्यवस्थित बनाइएको छ।
के हुँदैछ त भुल्केमा?
प्रहरीले भुल्केलाई केन्द्रमा राखेर सुरक्षा कडा बनाएको छ। भुल्केका प्रत्येक घरलाई निगरानीमा राखिएको छ। त्यहाँका एक घरबाट अर्को घरमा जान समेत रोक लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।
'हामीले लकडाउन थप कडाइका साथ पालना गर्न लगाएका छौं। एक घरबाट अर्को घरमा समेत नजान भनेका छौं। निगरानी बढाएका छौं,' एसपी बुढामगरले भने।
सुरुमा संक्रमण मस्जिदमा गएकाबाट फैलिएकाले उनीहरु गएको हुनसक्ने अन्य मस्जिदमा पनि निगरानीमा कडा पारिएको छ। उदयपुरमा ११ वटा मस्जिद रहेको र त्यहाँ गएका मानिसको ट्रेसिङ गरिरहेको एसपी बुढामगरले जानकारी दिए।
त्यस्तै, उदयपुरमा कोरोना संक्रमित थपिँदै गएपछि अन्य जिल्लाबाट आउन र जान समेत रोक लगाइएको छ। त्यसो त सरकारले अहिले घरबाट बाहिरै ननिस्कन भनेको छ। तर, पनि गाउँ फर्किने मानिसहरुको ताँती छ। उदयपुरमा भने जिल्ला प्रवेश र बाहिरबाट आउन रोक लगाइएको छ।
'अत्यावश्यक बाहेक अन्य मानिसलाई रोक नै छ। अब त झन् कडाइ गरेका छौं,' एसपी बुढा मगरले भने।
त्रियुगा नगरपालिकालाई थप कडाइ गरिएको नगरपालिका मेयर बलदेव चौधरीले जानकारी दिए। 'पूरै सिल गरेका छौं। अझै कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,' मेयर चौधरीले भने।
अहिलेसम्म देशभर ४२ जना कोरोना संक्रमित भेटिएका छन्।