PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कोभिड-१९ को त्रासबीच विश्वव्यापी खोप सप्ताह : अरु रोगको जोखिमबाट बचाउने अभियान



पहिलोपोस्ट

कोभिड-१९ को त्रासबीच विश्वव्यापी खोप सप्ताह : अरु रोगको जोखिमबाट बचाउने अभियान

काठमाडौं : विश्व स्वास्थ्य संगठनले आगामी सतालाई विश्व खोप सप्ताहको रुपमा मनाउँदै छ। सबै उमेर समूहका मानिसमा रोग विरुद्ध लड्नका लागि दिइने खोप कार्यक्रम प्रवर्द्धनका लागि खोप सप्ताह मनाइँदै हो।

यस वर्ष अप्रिल २४ देखि ३० सम्मका लागि खोप सप्ताहको रुपमा मनाइँदै छ। हरेक वर्ष करोडौं मानिसहरुलाई खोप दिइँदै आएको छ। यस कार्यक्रम स्वास्थ्य क्षेत्रमा सफल कार्यक्रम मानिन्छ। तर, पनि अझै दुई करोड बालबालिका खोप कार्यक्रमबाट बञ्चित भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ।

यस वर्ष ‘खोप कार्य (#VaccinesWork)’ नाराका साथ कार्यक्रम अगाडि बढ्दै छ। कोभिड-१९ पान्डेमिकका कारण यस वर्ष विश्वभर खोप कार्यक्रम प्रभावित भइरहेको छ।

विश्व कोभिड-१९ महाव्यादीविरुद्ध लडिरहेको बेला विश्वभर दादुराको प्रकोप बढ्न सक्ने युनिसेफ सहितका विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले चेतावनी दिइसकेका छन्। कोभिड-१९ महामारीमा विश्व लडिरहेका बेला नेपालसहितका ३७ देशका ११ करोड ७० लाख बालबालिकाले समयमा दादुराविरुद्ध खोपबाट टाढा हुनसक्ने बताइएको छ।

विश्व स्वास्थ्य संगठनले साताव्यापी खोप सप्ताह सुरु हुनु अघिल्लो दिन कोभिड- १९ पान्डेमिकका कारण खोप कार्यक्रम नभए नियन्त्रणमा आउन लागेका रोगहरु पुन: देखिने चुनौती थपिएको बताएको छ।

‘यदि यो आपतकालको समयमा खोप सेवा केही समयका लागि मात्र पनि अवरोध भए भ्याक्सिनले नियन्त्रणमा आउने रोगहरु दादुर, पोलियो लगायतका रोगहरुको संक्रमण बढ्ने छ,’ डब्लुएचओले भनेको छ। गत वर्ष मात्र कंगोमा दादुराको महामारी फैलिँदा ६ हजार मानिसको मृत्यु भएको थियो। इबोला देखिएको यस देशमा खोप कार्यक्रमसहितका अत्यावश्यकीय स्वास्थ्य सेवा रोकिन नहुने डब्लुएचओले जनाएको छ।

‘हामीले सुरक्षित र प्रभावकारी खोपले हामीलाई जोगायौं भने रोगहरुको महामारी रहने छैन,’ डब्लुएचओका महासचिव डाक्टर टेड्रोस आधानोम घेब्रेयेससले भने, ‘विश्व कोभिड-१९ को भ्याक्सिनको खोजमा लागिरहेका बेला भ्याक्सिन भएका र नियन्त्रणमा आउने रोगहरुबाट ज्यान गुमाउने जोखिमलाई रोक्नुपर्छ। यदि हामीले खोप दिएनौं भने यी रोगहरु फेरि संक्रामक भएर आउनेछ।’

कोभिड-१९ को भ्याक्सिन पत्ता लगाउन विश्वभरबाट वैज्ञानिकहरु दिनरात खटिइरहेका छन्। तर पनि कहिलेसम्म भ्याक्सिन तयार हुन्छ भन्ने यकीन छैन। कोभिड-१९ बाट जोगिँदै गर्दा अन्य भ्याक्सिनले बालबालिका र वृद्धलाई जोगाउने रोगहरुबाट पनि बच्न जरुरी रहेको महासचिवले बताएका छन्।

अझै पनि विश्वमा कैयौं मानिसहरु खोपको पहुँचबाट टाडा छ।

कोभिड -१९ को संक्रमण अगाडि विश्व स्वास्थ्य संगठनले निकालेको तथ्यांक अनुसार २०१८ सम्म ८६ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाहरुलाई डिप्थिरिया, टिटानस र पर्ट्युसिस (डीटीपी३)को तीन डोज र दादुराको एक डोज दिइसकिएको उल्लेख छ। जुन २००० मा ७२ प्रतिशत र १९८० मा २० प्रतिशत थियो।

यसबीच पोलियोका कारण अपाङ्ग हुने बालबालिकाको संख्यामा ९९.९ प्रतिशतले कमी आएको तथ्यांकमा उल्लेख छ।

अझै पनि खोप कार्यक्रम ९५ प्रतिशत भन्दा टाढै छ। २०१८ मा झण्डै दुई करोड बालबालिका दादुरा डिप्थिरिया, टिटानस र पर्ट्युसिसको खोपबाट वञ्चित थिए जुन १० मा एक हो। एक करोड ३० लाख बालबालिकाले कुनै पनि खोप लिएका छैनन्। यसले समुदायलाई नै रोग र मृत्युको जोखिममा पारेको छ। यी बालबालिकाहरु कमजोर स्वास्थ्य प्रणाली र अत्यावश्यक स्वास्थ्य सेवाको कमी भएका देशका हुन्।

खोप कार्यक्रम प्रभावित भए वा रोकिए दादुरा अहिलेसम्मकै ठूलो चुनौती बन्न सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी छ। अहिलेसम्मको आँकलन अनुसार २०१९ मा ८ लाख बालबालिकामा दादुराको संक्रमण देखिएको छ। २०२० मा यो संख्या बढ्दै गइ पुन: उत्थान हुने अनुमान गरिएको छ। विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को कारण खोप कार्यक्रम रोकियो यो चुनौती थप बढ्ने चेतावनी डब्लुएओको हो।

यस्तै, पोलियो, डिप्थेरिया र येल्लो फिवर (जन्डिस) पनि बढ्ने सम्भावना रहेको डब्लुएचओले जनाएको छ। सन् २०१३ मा सिरियामा पोलियो आउटब्रेक भइस आपतकाल आएजस्तै अर्को आपतकाल आउनसक्ने डब्लुएचओले चेतावनी दिएको हो।

डब्लुएचओले कोभिड-१९ को समयमा खोप सेवालाई जोगाउन भनेको छ। कार्यक्रम रोकिए पनि त्यस्ता स्थान र खोप नपाउने बालबालिकाको लगत राख्न डब्लुएचओले देशहरुलाई आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को समयका लागि भन्दै खोप कार्यक्रमको गाइडलाइन तयार पारेको छ। गाइडलाइनमा तत्काल भ्याक्सिनबाट निको हुने रोग देखिने सम्भावना नभएका स्थानमा स्थगित गर्न सक्ने उल्लेख छ। जोखिमपूर्ण क्षेत्र तथा जोखिमपूर्ण समुदायका बालबालिका र वृद्ध वृद्धमा खोप कार्यक्रम नियमति रुपमा चलाउन प्राथमिकतामा राख्न भनिएको छ।

‘यदि त्यस्ता स्थानमा खोप कार्यक्रम स्थगित गर्नपर्ने अवस्था भएमा तत्काल पूर्ति हुने गरी खोप कार्यक्रमलाई यथाशीघ्र पुन:तालिका बनाउन र जोखिमपूर्ण समुदायलाई प्राथमिकतमा राख्नुपर्ने छ,’ गाइडलाइनमा भनिएको छ।

‘डब्लुएचओले कोभिड-१९ को भ्याक्सिन पत्ता लगाउनका लागि निरन्तर काम गरिरहेको छ। तर, हामीले हाल भ्याक्सिन उपलब्ध रोगहरुबाट मानिसहरुलाई जोगाउनुपर्छ,’ डब्लुएचओको खोप कार्यक्रम निर्देशक डाक्टर क्याथरिन ओ ब्रिनले भनिन्, ‘डब्लुएचओले अगाडि ल्याएको गाइडलाइने खोप कार्यक्रम अगाडि बढाउन र अनावश्यक जीवन गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न देशहरुलाई सहयोग पुर्‍याउने छ।’

डब्लुएचओले कोभिड-१९ को पान्डेमिकको अवस्थामा सामाजिक दुरी कायम राख्दै ‘मास भ्याक्सिनेसन’लाई कम गर्न भनेको छ। देशहरुलाई यस्तो अभियानलाई नियमन गर्न भनेको छ।

खोप सेवालाई कोभिड-१९ ले प्रभावित भए यसलाई तत्काल पूर्ति गर्ने गरी कार्यक्रम तय गर्न डब्लुएचओको गाइडलाइनमा उल्लेख छ।त्यस्तै सम्भव भएका स्थानमा इन्फ्लुएन्जा विरुद्धको खोप स्वास्थ्यकर्मी, गर्भवती महिला तथा वृद्ध नागरिकलाई दिन गाइडलाइनमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell