PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

दक्षिण एसियातिर कोरोना तीब्र फैलिँदै : १२ दिनमा दोब्बरले संक्रमित बढ्दा नेपालमा भने तेब्बर



विधुर ढकाल

दक्षिण एसियातिर कोरोना तीब्र फैलिँदै : १२ दिनमा दोब्बरले संक्रमित बढ्दा नेपालमा भने तेब्बर

काठमाडौं : कोभिड-१९ को संक्रमणबाट विश्वभर ३० लाख भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ३० लाख ४० हजार सात सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

तथ्यांक अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपेली रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विश्वभरका सरकारी स्वास्थ्य संस्था र स्थानीय सञ्चार माध्यमहरुबाट तथ्यांक संकलन गरिरहेको छ।

तथ्यांक अनुसार हालसम्म दुई लाख ११ हजार एक सय ६७ जनाको मृत्यु भइसकेको छ। हालसम्म अमेरिकामा मात्र नौ लाख ८८ हजार एक सय ८९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको र ५६ हजार दुई सय ५५ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको न्यूयोर्क शहरमा मात्र १७ हजार पाँच सय १५ जनाको मृत्यु भएको छ।

दक्षिण एसियामा कोरोना भाइरसको संक्रमणको ग्राफ पनि उकालो लागिरहेको छ। दक्षिण एसियामा जनवरी २७ मा पहिलो संक्रमण पुष्टि भएको थियो। अप्रिलको २८ सम्म आइपुग्दा दक्षिण एसियामा संक्रमितको संख्या ५१ हजार आठ सय ५५ पुगेको छ। यस क्षेत्रमा कोरोना भाइरसकै कारण एक हजार चार सय ४७ जनाको मृत्यु भइसकेको छ।

यो पनि: 

कोरोना भाइरस अपडेट : कस्तो छ दक्षिण एसियाको हाल?

दक्षिण एसियामा श्रीलंकामा जनवरी २७ मा पहिलो केस देखिएको थियो। त्यसको तीन दिन पछि भारतमा पनि कोरोना भाइरसको संक्रमण देखियो। त्यस्तै फेब्रुअरी २४ अफगानिस्तानमा पहिलो केस दर्ता भयो। त्यसको अर्को दिन फेब्रुअरी २५ मा नेपालमा पहिलो केस दर्ता भयो। फेब्रुअरी २६ मा पाकिस्तानमा एकै पटक दुई केस दर्ता भए। भुटानमा मार्च ६ मा पहिलो केस दर्ता भयो।

मार्च ८ मा मालदिभ्समा एकै पटक चार केस दर्ता भए। सोही दिन बंगलादेशमा पनि एकै पटक तीन केस पुष्टि भयो।

तथ्यांक स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय

हालसम्म आइपुग्दा दक्षिण एसियामा सबैभन्दा बढी भारतमा संक्रमित देखिएका छन्। विश्वमा कोभिड-१९ को प्रभाव क्षेत्रको रुपमा भारत १५ औं स्थानमा छ। अप्रिल २८ सम्म संक्रमित हुनेको संख्या २९ हजार चार सय ५१ पुगेको छ।

भारतमा पहिलो केस जनवरी ३० अनि फेब्रुअरीको अन्त्यसम्म तीन केस मात्र दर्ता भएका थिए। मार्च १५ सम्म आइपुग्दा यो संख्या १ सय १३ पुग्यो। मार्च ३१ मा संक्रमितको संख्या १४ सय नाघ्यो। अप्रिल १६ मा यो संख्या १३ हजार चार सय ९५ पुग्यो। त्यसको १२ दिन पछि अप्रिल २८ आइपुग्दा यो संख्या दोब्बर बढीले बढेर २९ हजार चार सय ५१ पुगेको छ। यहाँ मृतकको संख्या पनि यो १२ दिनमा दोब्बर भएको छ। यहाँ अप्रिल १६ सम्म चार सय ४८ जनाको मृत्यु भएको थियो। हाल मृतकको संख्या नौ सय ३९ छ।

भारतपछि दक्षिण एसियामा बढी संक्रमित पाकिस्तानमा देखिएको छ।

फेब्रुअरी २६ मा एकैपटक दुई केस देखिएको पाकिस्तानमा त्यसको तीन दिनपछि फेब्रुअरी २९ मा चार पुग्यो। मार्च ३१ सम्म यो संख्या बढेर एक हजार ९ सय नाघ्यो। अप्रिल १६ सम्म आइपुग्दा सात हजार २५ पुगेको थियो। त्यसको १२ दिन पछि संक्रमितको संख्या १३ हजार नौ सय १५ पुगेको छ। त्यहाँ यो १२ दिनमा मृतकको संख्या पनि दोब्बर बढेको छ। अप्रिल १६ मा पाकिस्तानमा एक सय ३५ जनाको मृत्यु भएको थियो भने अप्रिल २८ सम्म आइपुग्दा मृतकको संख्या दुई सय ९२ पुगेको छ।

 

तथ्यांक स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय

बंगलादेशमा मार्च ८ मा पहिलो पटक तीन केस देखिएकोमा मार्च ३१ सम्म पुग्दा संक्रमितको संख्या ५१ पुग्यो। जुन अप्रिल १६ सम्म आइपुग्दा गुणांकमा बृद्धि हुँदै एक हजार ५ सय ७२ पुग्यो। यस १२ दिनमा संक्रमितको संख्या झण्डै चार गुणाले बढेको छ। अप्रिल २८ बिहानसम्मको तथ्यांक अनुसार यहाँ संक्रमितको संख्या पाँच हजार नौ सय १३ पुगेको छ। मृतकको संख्या पनि झन्डै तीन गुणाले बढेको छ। अप्रिल १६ मा बंगलादेशमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ६० थियो भने १२ दिन पछि अप्रिल २८ मा यो संख्या एक सय ५२ छ।

अफगानिस्तानमा अप्रिल १६ सम्म आइपुग्दा संक्रमितको संख्या आठ सय ४० थियो। यो १२ दिनमा संक्रमितको संख्या दोब्बरले बढेर एक हजार सात सय ३ पुगेको छ। त्यहाँ मृत्यु हुनेको संख्या पनि दोब्बरले बढेको छ। अप्रिल १६ सम्म अफगानिस्तानमा ३० जनाको मृत्यु भएको थियो। जुन १२ दिन पछि अप्रिल २८ को बिहानसम्म ५७ पुगेको छ।

फेब्रुअरी २४ मा पहिलो केस पुष्टि भएको अफगानिस्तानमा मार्च ८ मा तीन केस देखिएर ४ पुग्यो। मार्च ३१ मा यो संख्या १ सय ७४ थियो।

जनवरी २७ मा पहिलो केस देखिएको श्रीलंकामा हालसम्म ५ सय ८८ जना संक्रमित भएका छन्। यहाँ मृत्यु हुनेको संख्या सात छ। यहाँ दोस्रो केस मार्च ११ मा देखिएको थियो। मार्च १४ मा संक्रमितको संख्या १० पुग्यो। मार्च ३१ मा यो संख्या १ सय ४३ पुग्यो। अप्रिल १६ सम्म आइपुग्दा यो ग्राफ दोब्बरले उकालो लाग्दै दुई सय ३३ पुग्यो। त्यसको १२ दिन पछि अप्रिल २८ सम्म आइपुग्दा यो संख्या पुन दोब्बरले बढ्दै पाँच सय ८८ पुगेको हो। त्यहाँ पछिल्लो १२ दिनमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन।

श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसको कारण सात जनाको मृत्यु भएको छ।

तथ्यांक स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय

दक्षिण एसियाको अर्को देश मालदिभ्समा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या दुई सय २६ पुगेको छ। १२ दिन अगाडिसम्म यहाँ संक्रमितको संख्या दोहोरो अंकमा थियो-२५ । यस १२ दिनमा यो संख्या एकैपटक ९ गुणाले बढेर दुई सय २६ पुग्यो। मार्च ८ मा एकै पटक ४ केस मार्च ३१ मा सम्म संक्रमितको संख्या १८ थियो।

नेपालमा पनि संक्रमितको संख्या यो १२ दिनमा तेब्बरले बढेको छ। फेब्रुअरी २५ पहिलो केस दर्ता भएको नेपालमा एक महिनापछि दोस्रो केस देखा पर्‍यो मार्च २३ मा। तेस्रो केस मार्च २५, चौंथो केस २७ र पाँचौं केस २८ मा पुष्टि भयो। अप्रिल २ मा छैटौं केस देखा परेको नेपालमा अप्रिल ४ मा एकैपटक तीन केस दर्ता भए। अप्रिल १२ मा आइपुग्दा १२ जनामा नै कोभिड-१९ को संक्रमण पुष्टि भयो। अप्रिल १३ मा थप २ र १४ मा थप दुई केस पुष्टि भए। अप्रिल १६ मा १६ वटै केस दर्ता भएको नेपालमा अप्रिल २८ सम्म आइपुग्दा संक्रमितको संख्या ५२ पुगेको छ।

मार्च ६ मा पहिलो केस दर्ता भएको भुटानमा भने यो संख्या ७ पुगेको छ। यहाँ यो १२ दिनमा संक्रमितको संख्या २ ले बढेको ६ अप्रिल १६ मा यो संख्या पाँच थियो।

चीनको वुहान हुँदै इरान, दक्षिण कोरियामा संक्रमण फैलाउँदै युरोप पुगेको कोरोना भाइरस यतिबेला युरोप र अमेरिकमा फैलिरहेको छ। दक्षिण एसिया तथा अफ्रिक्री सव-साहरा क्षेत्रमा यसको प्रभाव तुलनात्मक कम देखिन्छ।

अल्प विकसित तथा अति कम विकसित देशहरुमा संक्रमणको संख्या न्युन देखिएको छ। यस विषयमा विज्ञहरुले विभिन्न कारणहरु औंल्याएका छन्। जसमध्ये पहिलो कारण भनेको परीक्षणको अभाव हो।

विश्व स्वास्थ्य संगठनले पनि कोभिड-१९ को नियन्त्रणका लागि परीक्षण परीक्षण र पुन: परीक्षणमा जोड दिएको छ।

त्यस्तै, संक्रमण कम पुष्टि हुनुको अर्को कारण भनेको बाहिरी विश्वसँगको सम्पर्क 'एक्सपोजर'मा कमी हुने सक्ने बताइएको छ।

कोरोना भाइरस पहिले जहाँजहाँ पुगेको छ त्यस क्षेत्र वा देश भनेको चीनसँगको सम्पर्क बढी भएका देश हुन्।

त्यस्तै मृतकको संख्या पनि अल्प विकसित अफ्रिकी तथा एसियाली मुलुकहरुमा कम छ। मृत्यु हुने अधिकांश ६० वर्ष माथिको उमेर समूहका छन्। अफ्रिकाको जनसंख्याको ६० प्रतिशत २५ वर्ष मुनिका छन्। त्यस्तै जम्मा पाँच प्रतिशत ६० वर्षको उमेर समूहको छ। एसियामा १२ प्रतिशत जनसंख्या ६० वर्ष माथिका छन्। युरोपमा २४ प्रतिशत र उत्तर अमेरिकामा २१ प्रतिशत ६० वर्ष माथिको जनसंख्या छ।

कोरोना भाइरसको संक्रमण फैलुनुमा अर्को कारण भनेको जनघनत्व हो। यसैको उदाहरण अहिले भारतमा लिन सकिन्छ। त्यस्तै, पाकिस्तानमा पनि शहरी क्षेत्रमा संक्रमण बढी देखिएको छ। कम विकसित देशहरुमा केही शहरबाहेक ग्रामीण इलाकामा जनघनत्व कम छ। अहिले विश्वभर सामाजिक दुरी कायम गर्ने अभियान चलिरहेको छ। ग्रामीण इलाकामा जनघनत्वको कमीले आफैमा सामाजिक दुरी काम रहँदै आएको छ। त्यसैले दक्षिण एसियामा भारत र पाकिस्तान र बंगलादेशमा यसको प्रभाव देखिन्छ। यहाँको जनघन्त्व बढी हुँदा संक्रमितको संख्या पनि बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell