
काठमाडौँः सरकार सञ्चालन तथा आन्तरिक गुट व्यवस्थापनका लागि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई सोमबार तीन प्रस्ताव अघि सारेका थिए। पार्टीको एकता महाधिवेशन मंसिरसम्म गरिसक्ने, वर्तमान मन्त्रीमण्डल हेरफेर गर्ने तथा आन्तरिक समीकरण व्यवस्थापनका लागि कतिपय प्रदेशमा मुख्यमन्त्री समेत हेरफेर गर्ने।
प्रस्तावसँगै ओलीले नेपालसँग आश्वस्त पनि हुन खोजेका थिए। त्यो हो पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैमा निरन्तरताको। तर, वरिष्ठ नेता नेपालले उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्।
पढ्नुस्ः माधव नेपालसामु ओलीका तीन प्रस्तावः मन्त्रिपरिषद् हेरफेरदेखि महाधिवेशनसम्म, रोकिएला गुटको द्वन्द्व?
सोमबारको भेटमा ओलीले अघि सारेका तीन प्रस्तावमा ओलीले तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिनुभन्दा नेपाललाई अर्ली महाधिवेशनबाट अध्यक्षमा समर्थन गर्ने प्रस्ताव गरेका थिए। महाधिवेशनमा अध्यक्षमा समर्थन गर्ने ओलीको प्रस्ताव नयाँ भने हैन। यद्यपि पछिल्लो पटक मुख्यमन्त्री हेरफेरसम्मका प्याकेज डिल ओलीले अघि सारेका हुन्। जसले एकीकृत पार्टीमा पूर्व एमालेलाई एक ठाउँमा उम्भयाउने प्रयत्न ओलीले गरेका हुन्।
ओलीले प्रस्ताव अघि सारे पनि नेपाल आश्वस्त छैनन्।
किन आश्वस्त छैनन् नेपाल?
नेपालले लामो समयदेखि पार्टीमा एक व्यक्ति एक पदका लागि संघर्ष गर्दै आएका छन्। पार्टी निर्णयमा पनि यो विषयमा नेपालको फरक मत छ। पछिल्लो समय अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने ओलीको शर्त नै नेपाललाई विश्वासमा नलिने पहिलो आधार भएको नेपाल निकट नेताहरु बताउँछन्।
अर्ली महाधिवेशनको प्रस्तावमा त झनै नेपाल पक्ष गम्भीर छैन। नेपाल निकट एक स्थायी समिति सदस्य हालको महामारीको समय र अबको पाँच/छ महिनामा महाधिवेशन निकै कठिन रहेको बताउँछन्। जसकारण नेपाल पक्षले ओलीको प्रस्तावलाई उधारो आश्वासन मानेको छ।
‘अहिले कोरोना महामारी छ। महाधिवेशनका लागि कुनै पनि आन्तरिक तयारी छैन। महाधिवेशनका लागि महाधिवेशन भनेर नारा लगाउन सकिन्छ व्यवहारमा निकै कठिन छ। एकीकृत महाधिवेशन हुने भएकाले तल्लो तहदेखि नै सहमतिको प्रयास हुन्छ। महाधिवेशन प्रतिनिधि छनोटलाई पनि सकेसम्म सहमतिको वातावरण तयार हुन्छ। कतिपयमा विवाद भएमा जिल्ला, प्रदेश र केन्द्रले पनि मिलाउनुपर्छ। अहिलेको महामारीबाट छिटो निकास पाए साउनबाट हामीले प्रक्रिया प्रारम्भ गर्न सकिएला तर, समय निकै छोटो हुन्छ। हाम्रो आन्तरिक तयारी नै पुग्दैन। यसकारण मंसिरसम्म अर्ली महाधिवेशनमा जाने कुरा सहज छैन। यसलाई स्वीकार गरेर अर्थ नै छैन।’ नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने।
अध्यक्ष बनाउने प्रस्ताव ओलीको पहिलो हैन। यसअघि पनि ओलीले नेपाललाई अध्यक्ष बनाउने आश्वासन दिइसकेका हुन्। तर, नेपालले ओलीले प्रधानमन्त्री वा अध्यक्ष एक पद छाड्न माग गर्दै आएका छन्। उधारो सहमति नगर्ने भन्दै नेपालले ओलीलाई अध्यक्षबाट राजीनामा दिन सरकार चलाउन सुझाइसकेका छन्।
अर्ली महाधिवेशनका लागि हालको संरचना अनुसार नेकपा तयार नरहेको नेताहरुको बुझाई छ। ७५३ वटा स्थानीय तह, क्षेत्र, जिल्ला, प्रदेश हुँदै विभिन्न संरचनाको अधिवेशन पहिलो सक्नुपर्ने हुन्छ। ती अधिवेशन सम्पन्न गरेपछि महाधिवेशन प्रतिनिधिको टुंगो लाग्नेछ। महाधिवेशन प्रतिनिधि छनोटमा नेताहरुको समेत स्वार्थ जोडिने भएकाले कतिपय स्थानमा प्रदेश र केन्द्रीय नेतृत्वले समेत हस्तक्षेपको अवस्था आउन सक्छ। जसकारण मंसिरभित्र महाधिवेशन नहुनेमा नेपाल समूह ढुक्क जस्तै छ।
यसर्थ पनि ओलीको प्रस्तावलाई नेपाल समूहले गम्भीरतापूर्वक लिएको छैन।
सांगठनिकसँगै राजनीतिक कारणबाट पनि नेपाल ओलीसँग आश्वस्त नरहेको नेपाल निकट नेताको दाबी छ। विगतका दुबै प्रतिस्पर्धी र अहिले पनि कुनै समूह खडा गरेर चुनावी मैदानमा फरक रणनीति प्रधानमन्त्रीबाट बन्न सक्ने आकलन पनि नेपाल पक्षीय नेताहरुको छ।
नेपालमात्र हैन अर्ली महाधिवेशनका लागि अर्का अध्यक्ष प्रचण्ड समेत तयार नहुने ती नेताको भनाई छ।
‘अहिलेसम्म एकीकृत पार्टीका सदस्य कति हुन्? महाधिवेशन प्रतिनिधि छनोट मोडालिटी के हुने? सांगठानिक एकीकरणको प्रक्रिया कसरी पूरा गर्ने? कुनै निर्णय भएको छैन। यस्तो अवस्थामा नेपालमात्र हैन प्रचण्ड पनि यो प्रस्तावमा सहमत हुँदैनन्। कम्तीमा शीर्ष नेताबीच समझदारी नभए कसरी महाधिवेशन गर्ने? यो तत्काललाई आफ्नो सत्ता लम्ब्याउने अर्को प्रस्तावभन्दा केही हुन्न’ नेपाल निकट नेताको बुझाइ छ।
अर्ली महाधिवेशनसँगै ओलीले अघि सारेका मन्त्रीमण्डलका सदस्य हेरफेर र मुख्यमन्त्री समेत हेरफेरमा पनि नेपाल आश्वस्त छैनन्।
ओलीले आफू निकट मुख्यमन्त्रीसँग पनि योबीचमा छलफल गरिरहेका छन्। प्रदेश ५ का मुख्यमन्त्री केही दिनदेखि काठमाडौँमा सक्रिय रहेकोमा मंगलबार प्रदेश मुकाम फर्किएका छन्। ओलीले बाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकीका पृथ्वीसुब्बा गुरुङसँग पनि परामर्श गरेका छन्। पौडेल र गुरुङ काठमार्डौँ आउने तयारीमा रहेको समेत बुझिएको छ।