काठमाडौं : कोभिड-१९ पान्डेमिकबाट विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको तीन महिना पुगेको छ। पछिल्लो समय दक्षिण एसियामा कोरोना विस्तार हुँदै गएको छ। दक्षिण एसियामा सबैभन्दा बढी भारतमा संक्रमण देखिएको छ। छिमेकी भारतमा संक्रमण बढ्दै जाँदा नेपाल पनि जोखिममा बढ्ने निश्चित छ।
हालसम्म नेपालमा ५७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। बिहीवारसम्मको तथ्यांक अनुसार १२ हजार ११ जनाको पीसीआर परीक्षण भइसक्दा ५७ जनामा मात्र संक्रमण पुष्टि भएको हो। संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्। स्वास्थ्य मन्त्रालयको बिहीवार सम्मको तथ्यांक अनुसार २३ हजार तीन सय ३६ जना क्वारेन्टाइन र ८० जना आइसोलेसनमा राखिएको छ। यसबीच र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट ४६ हजार ८ सय ६० जनाको एन्टीबडी परीक्षण भएको छ।
कोरोना भाइरसको डाटाबेस अपडेट गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म छिमेकी भारतमा ३५ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ। यहाँ मृत्यु हुनेको संख्या एक सय ५४ पुगेको छ।
जसमध्ये नेपालसँग सीमा जोडिएका भारतका राज्यहरु पश्चिम बंगाल, विहार, उत्तर प्रदेश र उत्तराखण्डमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ।
नेपालसँग सीमा सबैभन्दा बढी सीमा जोडिएको भारतको उत्तर प्रदेश भारतमै कोरोना भाइरसबाट बढी प्रभावित मध्येको एक प्रान्त हो। यहाँ हालसम्म दुई हजार दुई सय ३ जनामा संक्रमण पुष्टि हुँदा ३९ जनाको मृत्यु भइसकेको छ। त्यस्तै पश्चिम बंगालमा सात सय ९५ जना संक्रमित भइसक्दा ३३ जनाको मृत्यु भइसकेको छ। विहारमा हालसम्म ४ सय १८ जना संक्रमित भइसकेका छन्। यहाँ दुई जनाको मृत्यु भइसकेको छ।
नेपालसँग सीमा जोडिएको अर्को भारतीय प्रान्त उत्तराखण्डमा हालसम्म ५७ जना संक्रमित भइसकेको भारतको संघीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
भारतमा संक्रमणको ग्राफ निरन्तर बढ्दै जाँदा नेपालमा पनि संक्रमणको जोखिम बढ्दै गएको छ। यद्यपि, नेपाल भारत सीमा नाका सील गरिएका छन्। तर, पनि खुला सीमानाका कारण नेपालीहरु लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी छ।
वैशाख ११ गते सर्लाहीका एक १४ वर्षीय किशोरमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनको यात्रा विवरण हेर्दा पत्ता लाग्यो उनी सीमा नाका बन्द र लकडानको घोषणापछि मात्र नेपाल प्रवेश गरेका थिए।
चैत २३ मा भारतको नयाँ दिल्लीबाट नेपाल फर्किएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। ती किशोर एक साथीसँग रौतहटको करुणिया नाका हुँदै नेपाल भित्रिएको खुलेको छ। पछिल्लो पटक बारामा २ र पर्साका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। यी दुवैको कनेक्सन पनि भारतसँगै जोडिएको छ।
पछिल्लो पटक कोरोना भाइरसको हटस्पट बनेको उदयपुरमा पनि कोरोनासँगको कनेक्सन भारतसँग छ। उदयपुर जिल्लामा पहिलोपटक एकैपटक १२ जनामा कोरोना भाइरसको संक्रमण देखियो। उनीहरु सबै भारतबाट आएका थिए। तर, उनीहरु भारतबाटै संक्रमित लिएर आएका हुन् या यतैबाट आएर संक्रमित भए भन्ने पुष्टि भएको छैन।
भारतसँग सीमा जोडिएको नेपालको प्रदेश २ मा संक्रमित पुष्टि भएका सबैको कनेक्सन भारतसँग देखिएको छ।
त्यस्तै, चैत २२ मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीहरु सबै लकडाउन पछि नै नेपाल भित्रिएका थिए। एक जना महाकाली नदीमा पौडिएर नेपाल छिरेका थिए भने अर्का गौरिफन्टामा आन्दोलन गर्दै छिरेका थिए। सीमावर्ती क्षेत्रमा कोरोनाको त्रास फैलिँदै गर्दा भारतबाट यसबीच नेपाल आएकाहरुको संख्या एकिन छैन। लुकीछिपी नेपाल प्रवेश गरेकाहरु सम्पर्कमा छैनन्।
यस्तोमा समुदायमा रहेका उनीहरुले कोरोना ल्याएर आएको भए संक्रमण फैलिने जोखिम उत्तिकै बढी छ।