PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

नेपाल फर्किन पाउँ भन्दै इजरायल र साइप्रसबाट ४ सय नेपालीको आवेदन, कुवेतमा ८४ नेपाली संक्रमित हुँदा साउदीमा कति?



विधुर ढकाल

नेपाल फर्किन पाउँ भन्दै इजरायल र साइप्रसबाट ४ सय नेपालीको आवेदन, कुवेतमा ८४ नेपाली संक्रमित हुँदा साउदीमा कति?

काठमाडौं : कोभिड-१९ पान्डेमिकका कारण विश्वभर ३५ लाख बढी संक्रमित भइसकेका छन्। कोरोना भाइरसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म कोरोना भाइरसको कारण दुई लाख ४७ हजार ४७० जनाको मृत्यु भइसकेको छ।

विश्वभर फैलिइरहेको कोरोना भाइरसका कारण आप्रवासी नेपालीसमेत प्रभावित भएका छन्।

यसैक्रममा विदेशमा रहेका नेपालीहरुले नेपाल फर्किन इच्छा देखाएका छन्। इजरायल र साइप्रसमा रहेका करिब चार सय नेपालीहरुले स्वदेश फर्किन इच्छा व्यक्त गर्दै इजरायलस्थित नेपाली दूतावासमा आवेदन दिएका छन्।

दूतावासका अनुसार नेपाल फर्किन चाहने नेपालीहरुको तथ्यांक संकलनका लागि आवेदन खुला गरेको थियो। अनलाइनबाट लिइएको आवेदनमा रोजगारी गुमेर वा शैक्षिक संस्था बन्द भएका कारण त्यहाँ रहेका नेपालीहरुले इजरायल र साइप्रसको बसाइ बिट मार्दै नेपाल फर्किन चाहेका हुन्।

हालसम्म इजरायलमा एक जना नेपाली संक्रमित भएको र उपचारपछि निको भइसकेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। त्यस्तै साइप्रसमा तीन जना नेपाली संक्रमित भएकोमा दुई जना उपचारपछि फर्किएको र एक जना अझै उपचारका क्रममा रहेको दूतावासले जनाएको छ। इजरायल स्थित नेपाली दूतावासले साइप्रसको अवैतनिक दूतावासको रुपमा काम गर्दै आएको छ।

हाल साइप्रस र इजरायलमा चार हजार चार सय बढी नेपाली रहेका छन्। उनीहरुले दूतावासमा आफ्नो विवरण उपलब्ध गराएका छन्। इजरायलस्थित दूतावासले साइप्रस र इजरायलमा रहेका नेपालीहरुको अवस्था बुझ्नका लागि अनलाइनबाट तथ्यांक संकलन गरेको हो। जसमध्ये साइप्रसमा रहेका दुई हजार सात सय र इजरायलमा रहेका एक हजार सात सय जनाले आवेदन भरेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार नेपाल फर्किन आवेदन दिए पनि उनीहरुलाई तत्काल नेपाल फर्काउने सम्भावना नरहेको र त्यसका लागि मन्त्रालयसँग समन्वय गरिरहेको भन्दै सुरक्षित रहन आग्रह गरेको छ।

कुवेतमा ८४ नेपाली संक्रमित

मध्यपूर्व खाडी मुलुकमा नेपालीको संक्रमण दर बढ्दो छ। कुवेतस्थित नेपाली दूतावासका अनुसार आइतवारसम्म कुवेतमा रहेका ८४ जना नेपालीमा संक्रमण पुष्टि भएको छ।

कुवेतमा हालसम्म चार हजार नौ सय ८३ जना संक्रमित भइसकेको र ३८ जनाको मृत्यु भइसकेको छ।

त्यहाँस्थित नेपाली दूतावासले नेपालीहरुलाई सुरक्षित रहन अनुरोध गर्दै कोरोना भाइरसको शंका लागेमा तत्काल रोजगारदातासँग सम्पर्क राखी वा आफैले स्वास्थ्य उपचारका लागि चिकित्सकको सम्पर्कमा जान अनुरोध गरेको छ।

'कोरोना भाइरस रोगको संक्रमणका कारण काममा जान नपाउँदा रोजगारदाताबाट पाउनुपर्ने तलब, सुविधा नपाएको तथा खानेकुराको समेत अभाव भर्इ कठिनाइ उत्पन्न भएको अवस्थामा कंपनी/रोजगारदाता व्यवस्थापन पक्षसँग बेलैमा सम्पर्क राखी यसबारे अवगत गराउनुहुन, आफू बस्दै आएको बासस्थान/आवास छोडी अन्यत्र जाने कार्य नगर्नु हुन र आफू जो जहाँ हुनुहुन्छ त्यही सजगता अपनार्इ सुरक्षित रूपले रहनुहुन दूतावास सबैमा अनुरोध गर्दछ,' दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।

यता बहराइनमा रहेको दूतावासको तथ्यांक अनुसार गत अप्रिल ३० सम्म एक सय ५७ जना नेपालीमा संक्रमण पुष्टि भएको छ।

साउदी अरबमा संक्रमित नेपाली कति?

अर्को खाडी मुलुक साउदी अरबमा हालसम्म २७ हजार ११ जना संक्रमित भएका छन्। यहाँ मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ। साउदीमा सबैभन्दा बढी संक्रमित आप्रवासी कामदारहरु रहेका छन्। तर, त्यहाँ स्थित नेपाली दूतावाससँग भने नेपालीको अवस्थाबारे एकिन जानकारी छैन।

आइतवारमात्र साउदी अरबमा एक हजार पाँच सय ५२ जना संक्रमित भएको दूतावासको तथ्यांकमा उल्लेख छ।

'आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकोले व्यापक सावधानीका लागि साउदी सरकारले अनुरोध गरेको छ। नेपाली नागरिकहरुमा संक्रमण भएको हकमा जानकारी दिन साउदी सरकारलाई अनुरोध गरिएकोमा सरकारले क्षेत्रगत हिसाबले जानकारी उपलव्ध गराउने भएको छ। यसरी प्राप्त जानकारी क्रमशःसबैको जानकारीमा ल्याइने छ,' दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।

दूतावासले अनलाइनबाट फारम संकलन गर्न सहज नभएको भन्दै टेलिफोनमार्फत् तथ्यांक संकलन गर्न सुरु गरिएको समेत जनाएको छ।

साउदी अरवका लागि नेपाली राजदूत प्रा डा महेन्द्रप्रसाद सिहं राजपूतले आइतवारमात्र त्यहाँ रहेका नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरुसँग भिडियो कन्फ्रेन्समा छलफल गरेका छन्।

दूतावासले त्यहाँ रहेका नेपालीहरुको कोरोना संक्रमणसंगै रोजगार गुम्ने, खाना र आवासको अभाव लगायत समस्यामा परेका नेपालीहरुले आफ्नो समस्या दूतावासमा टेलिफोन गरी जानकारी गराउन अनुरोधसमेत गरेको छ।

गैर आवासीय नेपाली संघ एनआरएनएले सार्वजनिक गरेको शनिवारसम्मको तथ्यांकमा मध्यपूर्वी देशहरुमा २३ सय बढी नेपाली संक्रमित भएको उल्लेख छ। जसमध्ये युएईमा एक सय, साउदी अरबमा ३० जना संक्रमित भएको उल्लेख छ। त्यस्तै युएईमा पाँच जना नेपालीको मृत्यु भएको छ। त्यस्तै टर्कीमा पनि एक जना नेपालीको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell