PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

सार्क मुलुकमा संक्रमित र मृतकको संख्या ७ दिनमा औसतमा ६० प्रतिशतले बढ्यो



विधुर ढकाल

सार्क मुलुकमा संक्रमित र मृतकको संख्या ७ दिनमा औसतमा ६० प्रतिशतले बढ्यो

काठमाडौं : कोभिड-१९ को संक्रमणबाट विश्वभर ३५ लाख बढी मानिस संक्रमित भइसकेका छन्। कोरोना भाइरसको तथ्यांक संकलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार हालसम्म ३५ लाख ८४ हजार एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

तथ्यांक अनुसार हालसम्म दुई लाख ५१ हजार पाँच सय ६२ जनाको मृत्यु भइसकेको छ। तथ्यांक अनुसार हालसम्म अमेरिकामा मात्र ११ लाख ८० हजार छ सय ३४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको र ६८ हजार नौ सय ३४ जनाको मृत्यु भइसकेको छ। अमेरिकाको न्यूयोर्क शहरमा मात्र २४ हजार नौ सय ९९ जनाको मृत्यु भएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ), युरोपेली रोग नियन्त्रण तथा रोकथाम केन्द्र र विश्वभरका सरकारी स्वास्थ्य संस्था र स्थानीय सञ्चार माध्यमहरुबाट तथ्यांक संकलन गरिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म २१५ देश/भूगोल/क्षेत्रमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

दक्षिण एसियामा कोरोना भाइरसको संक्रमणको ग्राफ पनि उकालो लागिरहेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकहरुमा पछिल्लो एक सातामा करिब ६० प्रतिशतले संक्रमणमा वृद्धि आएको छ।

हालसम्‍म दक्षिण एसियामा ८१ हजार सात सय ९६ जनामा संक्रमण पुष्टि भइसेको छ। पहिलो पटक जनवरी २७ मा संक्रमण पुष्टि भएको दक्षिण एसियामा अप्रिल १६ सम्म आइपुग्दा संक्रमितको संख्या २३ हजार एक सय १६ थियो। त्यसको १२ दिन पछि अप्रिल २८ सम्म आइपुग्दा यो संख्या दोब्बरले बढ्दै ५१ हजार ८ सय ५५ पुग्यो। अर्को एक सातामा ५७.७४ प्रतिशत वृद्धि हुँदै ८१ हजार सात सय ९६ पुगेको हो।

तथ्यांक स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय तथा सम्बन्धित देशका स्वास्थ्य मन्त्रालय

त्यस्तै यस क्षेत्रमा मृतकको संख्या पछिल्लो साता ६० प्रतिशत वृद्धि भएको छ। यहाँ मृत्यु हुनेको संख्या दुई हजार तीन सय २३ पुगेको छ। यो संख्या अप्रिल २८ मा एक हजार चार सय ४७ थियो।

दक्षिण एसियामा पहिलो श्रीलंकामा जनवरी २७ मा पहिलो केस देखिएको थियो। त्यसको तीन दिन पछि भारतमा पनि कोरोना भाइरसको संक्रमण देखियो। त्यस्तै फेब्रुअरी २४ अफगानिस्थानमा पहिलो केस दर्ता भयो। त्यसको अर्को दिन फेब्रुअरी २५ मा नेपालमा पहिलो केस दर्ता भयो। फेब्रुअरी २६ मा पाकिस्तानमा एकै पटक दुई केस दर्ता भए। भुटानमा मार्च ६ मा पहिलो केस दर्ता भयो।

मार्च ८ मा मालदिभ्समा एकै पटक चार केस दर्ता भए। सोही दिन बंगलादेशमा पनि एकै पटक तीन केस पुष्टि भयो।

हालसम्म आइपुग्दा दक्षिण एसियामा सबैभन्दा बढी भारतमा संक्रमित देखिएका छन्। मे चार सम्म यहाँ संक्रमित हुनेको संख्या ४६ हजार चार सय ३७ पुगेको छ। यो साता अगाडि अप्रिल २८ सम्म संक्रमित २९ हजार चार सय ५१ थियो।

तथ्यांक स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय तथा सम्बन्धित देशका स्वास्थ्य मन्त्रालय

भारतमा पहिलो केस जनवरी ३० अनि फेब्रुअरीको अन्त्य सम्म तीन केस मात्र दर्ता भएका थिए। मार्च १५ सम्म आइपुग्दा यो संख्या १ सय १३ पुग्यो। मार्च ३१ मा संक्रमितको संख्या १४ सय नाघ्यो। अप्रिल १६ मा यो संख्या १३ हजार चार सय ९५ पुग्यो। त्यसको १२ दिन पछि अप्रिल २८ आइपुग्दा यो संख्या दोब्बर बढीले बढेर २९ हजार चार सय ५१ पुगेको थियो।

यो एक साता मात्र भारतमा करिब १७ हजारमा संक्रमण देखियो। त्यसअघिको १२ दिनमा भारतमा करिब १६ हजारमा संक्रमण पुष्टि भएको थियो।

यसबीच भारतमा मृत्यु हुनेको संख्या एक हजार पाँच सय ६६ पुगेको छ। साता अगाडि अप्रिल २८ सम्म मृत्यु हुनेको संख्या ९ सय ३९ थियो। जुन ६२७ ले बढी हो। त्यसअघिको १२ दिनमा ४९१ जनाको मृत्यु भएको थियो। यो आँकडाले भारतमा कोरोना भाइरसकै कारण हुने मृत्युको दरमा पनि वृद्धि भएको देखाउँछ।

तथ्यांक स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय तथा सम्बन्धित देशका स्वास्थ्य मन्त्रालय

भारतपछि दक्षिण एसियामा बढी संक्रमित देखिएको छ पाकिस्तानमा।

फेब्रुअरी २६ मा एकैपटक दुई केस देखिएको पाकिस्तानमा पछिल्लो साता संक्रमितको संख्या सात हजार बढेको छ। मार्च ३१ सम्म पाकिस्तानमा संक्रमितको संख्या संख्या बढेर एक हजार ९ सय नाघ्यो। अप्रिल १६ सम्म आइपुग्दा सात हजार २५ पुगेको थियो। त्यसको १२ दिन पछि संक्रमितको संख्या १३ हजार नौ सय १५ पुग्यो। पछिल्लो साता यो संख्या सात हजार २६ ले बढ्दै २० हजार ९ ४१ पुगेको छ।

त्यस्तै यहाँ पछिल्लो सात दिनमा १८४ जनाको मृत्यु भएको छ। अप्रिल २८ सम्म पाकिस्तानमा २९२ रहेकोमा त्यसको एक साता पछि मे ४ सम्म आइपुग्दा यो संख्या बढेर चार सय ७६ पुगेको छ।

बंगलादेशमा मार्च ८ मा पहिलो पटक तीन केस देखिएको थियो। यहाँ पनि पछिल्लो साता झण्डै दोब्बरले संक्रमितको संख्या बढेको छ। अप्रिल १६ सम्ममा एक हजार ५ सय ७२ संक्रमित पुष्टि भएको बंगलादेशमा यो संख्या यस १२ दिनमा संक्रमितको संख्या झण्डै चार गुणाले बढेर पाँच हजार नौ सय १३ पुगेको थियो।

साता पछि यो संख्या झण्डै दोब्बरले बढेर १० हजार एक सय ४३ पुगेको छ। यहाँ मृत्यु हुनेको संख्या भने संक्रमितको संख्याको अनुपातमा बढेको छैन। मे ४ सम्मको तथ्यांक अनुसार बंगलादेशमा मृत्यु हुनेको संख्या १६२ छ। जुन साता अगाडि १५२ थियो।

अफगानिस्तानमा पछिल्लो एक सातामा एक हजार एक सय ९१ जनामा संक्रमण पुष्टि भएको छ। मे चार सम्म आइपुग्दा संक्रमितको संख्या दुई हजार आठ सय ९४ पुगेको छ। जुन अप्रिल २८ मा एक हजार सात सय तीन थियो। त्यगाडिको १२ दिनमा त्यहाँ आठ सय ६३ जनामा संक्रमण पुष्टि भएको थियो। अप्रिल १६ मा त्यहाँ संक्रमितको संख्या ८ सय ४० थियो।

फेब्रुअरी २४ मा पहिलो केस पुष्टि भएको अफगानस्थानमा मार्च ८ मा तीन केस देखिएर ४ पुग्यो। मार्च ३१ मा यो संख्या १ सय ७४ थियो। यहाँ मृतकको संख्या ९० पुगेको छ। जुन अघिल्लो साता ५७ थियो।

जनवरी २७ मा पहिलो केस देखिएको श्रीलंकामा सात सय ५१ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ मृत्यु हुनेको संख्या ८ छ। पछिल्लो साता मात्र श्रीलंकामा १६२ मा संक्रमण देखिएको छ। मार्च ३१ मा यो संख्या १ सय ४३ थियो। अप्रिल १६ सम्म आइपुग्दा यो ग्राफ दोब्बरले उकालो लाग्दै दुई सय ३३ पुग्यो। त्यसको १२ दिन पछि अप्रिल २८ सम्म आइपुग्दा यो संख्या पुन दोब्बरले बढ्दै पाँच सय ८८ पुगेको छ। यहाँ पछिल्लो साता एक जनाको मृत्यु भएको छ।

दक्षिण एसियाको अर्को देश मालदिभ्स कोभिड-१९ बाट संक्रमित हुनेको संख्या पछिल्लो साता झण्डै दोब्बरले बढेको छ। यहाँ संक्रमितको संख्या चार सय ४१ पुगेको छ। जुन अघिल्लो साता अप्रिल २८ सम्म दुई सय २६ थियो। त्यस अगाडि १२ दिनमा संक्रमितको संख्या नौ गुणाले बढेको थियो। अप्रिल १६ मा मालदिभ्समा २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

अघिल्लो १२ दिन संक्रमण तेब्बरले बढेको नेपालमा यस साता संक्रमणदर घटेको छ। अप्रिल १६ मा १६ वटै केस दर्ता भएको नेपालमा अप्रिल २८ सम्म आइपुग्दा संक्रमितको संख्या ५२ पुगेको थियो। यो साता यो संख्या बढेर ८२ पुगेको छ।

फेब्रुअरी २५ पहिलो केस दर्ता भएको नेपालमा एक महिनापछि दोस्रो केस देखा पर्‍यो मार्च २३ मा। तेस्रो केस मार्च २५, चौंथो केस २७ र पाँचौं केस २८ मा पुष्टि भयो।अप्रिल २ मा छैटौं केस देखा परेको नेपालमा अप्रिल ४ मा एकैपटक तीन केस दर्ता भए। अप्रिल १२ मा आइपुग्दा १२ जनामा नै कोभिड-१९ को संक्रमण पुष्टि भयो। अप्रिल १३ मा थप २ र १४ मा थप दुई केस पुष्टि भए।

पछिल्लो साता भुटानमा भने संक्रमण पुष्टि भएन्। भुटानमा हालसम्म संक्रमण पुष्टि भएको संख्या ७ छ। मार्च ६ मा पहिलो केस दर्ता भएको भुटानमा भने यो संख्या ७ पुगेको छ। भुटानमा अप्रिल २३ यता नयाँ संक्रमण देखिएको छैन।

यो पनि: 

दक्षिण एसियातिर कोरोना तीब्र फैलिँदै : १२ दिनमा दोब्बरले संक्रमित बढ्दा नेपालमा भने तेब्बर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell