PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेकपाभित्रको कचिङ्गलः ओलीको थकान शारीरिक कि राजनीतिक?



कुञ्जरमणि भट्टराई

नेकपाभित्रको कचिङ्गलः ओलीको थकान शारीरिक कि राजनीतिक?

बुधवार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एकाएक स्थगन भयो। बैठक प्रारम्भ भई विषय प्रवेशपछि बैठक बीचमै स्थगित भएको हो।

कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आफू थाकेको भन्दै बैठकको बीचमै आरामका लागि समय माग गर्नु।

बैठक चल्दाचल्दै ओलीले थाकेँ भन्दै केहीबेरमा आउने जनाउ दिएका थिए। तर, ओली आराम कक्षबाट नफर्किएपछि बैठक स्थगन भएको छ। स्थगनपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केहीबेर परामर्श गरेका छन्। परामर्शपछि बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको छ। दुई अध्यक्षबीच केही दिन बैठक स्थगित गर्ने समझदारी बनेको छ।

के हुँदै थियो बैठकमा

सचिवालय बैठकको प्रारम्भ प्रधानमन्त्री ओलीले नै गरेका थिए। बैठक प्रारम्भपछि अन्यले धारणा राख्ने क्रममा स्थायी समिति बैठकका एजेण्डाबारे परामर्श भइरहेको थियो। स्थायी समिति बैठकका विषयमा छलफल भइरहेका बेला प्रधानमन्त्री ओलीले अचानक आरामका लागि समय माग गरेका हुन्।

सचिवालय सदस्य झलनाथ खनालले प्रधानमन्त्रीले छलफल भइरहेका बेला सञ्चो नभएकाले समय माग गरेको बताए। खनालले भने, ‘बैठक सुरु भएको थियो। स्थायी कमिटी बैठकको एजेन्डा तय गर्ने विषयमा छलफल हुँदै थियो। प्रधानमन्त्रीले म थाकेँ। मलाई सञ्चो भएन तपाईँहरू छलफल गर्दै गर्नुस्। म आउँछु भनेर निस्कनु भयो। हामी गफगाफ गरेर बस्यौँ। उहाँ आउनुभएन। त्यसपछि दुई अध्यक्ष बसेर छलफल गरेर सूचना दिनुस् भनेर हामी निस्कियौँ।’

स्थायी समिति एजेण्डाबारे प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव नेपालबीचमा अन्तर्विरोध छ।

गत शनिवारको सचिवालयको स्पिरिट अनुसार स्थायी समितिमा एजेन्डा लानुपर्ने पक्षमा प्रचण्ड नेपाल समूह छ। यस्तै, सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचमा भएको समझदारीलाई पनि स्थायी समितिमा प्रवेश गराउन प्रचण्डको समूहले चाहेको छ। तर, ओली उक्त समझदारीलाई स्थायी समितिमा एजेन्डा नबनाउने पक्षमा छन्।

सचिवालय बैठकअघि प्रधानमन्त्रीले मंसिर ४ गतेको सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाएका छन्। यस्तै, मन्त्रिमण्डल हेरफेर गरी नेपाल पक्षका केही नेता समावेश गर्न र प्रदेशका मुख्यमन्त्री हेरफेरमा पनि सकारात्मक छन्। संवैधानिक निकाय लगायतका सिफारिसमा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता ओलीले जनाएका छन्।

तर, सहमति लगत्तै प्रधानमन्त्री ओलीले उक्त विषयलाई कार्यान्वयन गर्न चासो नदेखाएको प्रचण्ड-नेपाल समूहको आरोप छ। विगतमा पनि प्रधानमन्त्री ओलीले समझदारी कार्यान्वयन नगरेकाले यो पटक पनि विश्वस्त हुने आधार नदेखेको प्रचण्ड समूहको आरोप छ।

पढ्नुस्ः  के प्रचण्डसँगको सहमतिबाट यू-टर्न भएका हुन् प्रधानमन्त्री ओली?

स्थायी समितिमा अध्यक्षले पेस गर्ने प्रतिवेदनमा पछिल्लो घटनाक्रममा रूपमा त्यसलाई लिपिबद्ध गर्ने अध्यक्ष प्रचण्डको तयारी छ। सोही अनुसार प्रचण्डले आफू निकट नेताहरूसँग सोमबार बिहान सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ निवासमा छलफल पनि गरेका छन्। आफ्नो समूहबाट टाढा भएका उपाध्यक्ष बामदेव गौतमसँग समेत प्रचण्डले बुधबार बिहान छलफल गरेका छन्। 

प्रचण्डसँग भएको समझदारीलाई स्थायी समितिमा लैजान पक्षमा नेपाल समूह पनि छ। नेता नेपालले गरेको आफू निकटका सदस्यहरूको भेलामा पनि उक्त विषयलाई एजेन्डा बनाउनुपर्ने सुझाव प्राप्त भएको थियो। स्थायी समितिमा सरकारका काम कारबाहीबारे समीक्षा गर्दै प्रधानमन्त्रीको विकल्प खोज्नेसम्मका चर्चा नेकपा वृत्तमा छ।

सचिवालय र स्थायी समितिमा आक्रामक रूपमा प्रस्तुत हुने तयारी प्रचण्ड नेपाल समूहको छ। प्रचण्ड-नेपाल समूहको तयारीका बाबजुद स्थायी समिति भने केही दिनका लागि स्थगित भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell