PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थायी कमिटी बैठक माग गर्ने नेकपाका नेता भन्छन् : ओलीले निहुँ खोजे अब ठीक हुँदैन



प्रकाश भण्डारी

स्थायी कमिटी बैठक माग गर्ने नेकपाका नेता भन्छन् : ओलीले निहुँ खोजे अब ठीक हुँदैन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकको माग गरेका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहारप्रति आक्रोशित भएका छन्। प्रधानमन्त्री केपी ओलीली अन्तिममा आएर स्थायी कमिटी बैठक स्थगन गरेको भन्दै उनीहरुले आक्रोश ब्यक्त गरेका हुन्।

एक ब्यक्ति एक मुख्य जिम्मेवारीको माग जोडतोडले उठाउने तयारी गरिरहेका ओली इतरका स्थायी समिति सदस्यहरु उनी बैठकबाट भाग्न खोजेपछि फेरी दबाब दिने रणनीतिमा छन्। गत शनिवारको सचिवालय बैठक पछि केही शान्त बनेको नेकपाको विवाद फेरि चुलिएको छ।

'ओलीले निहुँ खोजे अब ठीक हुँदैन'

स्थायी कमिटीको माग गरेका नेकपाका नेताहरुले ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन्। उनको शैलीलाई अलोकतान्त्रिक चरित्रका रुपमा उनीहरुले व्याख्या गरेका छन्।

बैठक फेस गर्न नसकेर ओली भागेको आरोप लगाइन् नेकपा स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले। 'यो त बैठक फेस गर्न नसकेर भाग्न खोजेको जस्तो भयो नि। बैठकबाट भाग्ने भन्ने हुन्छ त?,' उनले प्रश्न गरिन्।

शाक्यले ओली अलोकतान्त्रिक चरित्रको नेता भएको आरोप लगाइन्। 'उहाँ अलोकतान्त्रिक चरित्रको नेता हो। उहाँले अरु सदस्यको कुरा सुन्न चाहनु हुन्न्,' शक्यले भनिन्।

शाक्यले सोझो शब्दमा ओलीले निहु खोजेको बताइन्। उनले त्यसको परिणाम ठीक नहुने चेतावनी पनि दिइन्। 'यो त निहुँ खोज्ने काम भयो। यसले उहाँलाई अब ठीक गर्दैन,' शाक्यले भनिन्। प्रधानमन्त्रीले बैठक टारे पनि थप दवाव दिएर बैठक बोलाएरै छाड्ने उनको भनाइ थियो। उनले सरकारको नीति तथा कार्यक्रम अगाडि नै पार्टीभित्रको तनाव व्यवस्थापन हुनुपर्ने तर्क गरिन्। अन्यथा, संसदमा ओलीलाई अफ्ठ्यारो पर्ने उनको तर्क छ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद चुलिएको छ। विवाद बढ्दै गएपछि २० स्थायी समिति सदस्यले बैठकको माग गरेका थिए। त्यसमध्यकी एक सदस्य हुन् शाक्य। उनी पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएकी छिन्।

'बैठक टार्न मिल्दैन'

नेकपा स्थायी कमिटीको माग गर्ने अर्का नेता देवेन्द्र पौडेल बैठक बोलाएर ओलीलाई अफ्ठेरो पार्न नखोजेको तर्क गर्छन्। बैठकबाट सबै विवादको टुंगो लगाएमा ओलीलाई नै सहज हुने उनको दावी छ।

'हामीले त अध्यादेश ल्याएर सरकारले गलत गर्‍यो। यसबारेमा हामीले पनि कुरा राख्न पाउँ भन्दै बैठकको माग गरेका हौं। यसले त दुवै अध्यक्ष कमरेडलाई राम्रो हुन्छ,' पौडेलले भने।

ओलीको शारीरिक अवस्थाप्रति आफूहरु पनि संवेदनशील रहेको पौडेलको भनाई छ। तर, शारीरिक अवस्थालाई देखाएर बैठक टार्नु ठीक नभएको उनले बताए।

'संसारमै कमिटी अन्तर्गत चल्ने पार्टीमा बैठक नबस्ने भन्ने कहीँ छ? बैठक बस्न त पर्‍यो। हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्‍यो,' उनले भने।

एक व्यक्ति एक जिम्मेवारी विधानमै ब्यवस्था भएकाले लागू गर्न उनले नेतृत्वसँग आग्रह गरेका छन्। ओलीलाई एउटा पद छाड्न उनले आग्रह गरे।

'कोही कामै नपाएर हात बाधेर बस्नुपर्ने र कोही दुई तीनवाट जिम्मेवारी ओगटेर बस्ने? सबैलाई न्याय हुने गरी जिम्मेवारी पाउनुपर्‍यो। दुईवटा पद लिएर बसेकालाई एउटा पद छोड्न म आग्रह गर्छु,' उनले भने।

'बैठक नबसे सरकारको नीति तथा कार्यक्रम अस्वीकार'

पम्फा भुसाल प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट हुनेमध्ये एक हुन्। बैठक जसरी पनि बोलाउनुपर्ने उनको माग छ। 'हामीले त सुरुमा बैठक बोलाएको हो नि। त्यसमा के छलफल गर्ने त्यो अर्को कुरा हो। बैठक त बोलाउनु पर्‍यो,' उनले भनिन्।

बैठक नबोलाए के हुन्छ?

उनको जवाफ थियो, 'बैठक नै नबोलाउने भन्ने मान्य हुँदैन। टार्ने प्रवृत्ति ठीक होइन। बैठक बस्छ। अहिले पनि नेताहरु छलफलमै हुनुहुन्छ।'

बैठक नबोलाएर सरकारले नीति तथा कार्यक्रम ल्याए अस्वीकार गर्ने उनले चेतावनी दिइन्। उनी सरकारले गरेका कामप्रति पार्टीका धेरै नेता असन्तुष्ट भएकाले बैठक नबसी नीति तथा कार्यक्रम आए अस्वीकार हुने उनको तर्क छ।

'धेरै नेताहरु सन्तुष्ट हुनुहुन्न। त्यसैले बैठकको माग गरेका हौं। बैठक नै बसेन भने त सरकारको नीति तथा कार्यक्रम अस्वीकार हुन्छ,' उनले भनिन्।

'विधानको अपमान'

स्थायी समिति सदस्य भीम रावलले बैठक स्थगन गरेर ओलीले पार्टी विधानको अपमान गरेको तर्क गरे।

'स्थायी कमिटीका २० जना सदस्यले पार्टीको विधानअनुसार लिखित रुपमा बैठक माग गरेका थियौं। विधानअनुसारको समयावधि पनि पूरा भयो। बैठक स्थगित गर्नुले पार्टीको विधानको घोर उल्लंघन र अपमान भएको छ,' उनले भनेका छन्।

सचिवालयले गरेको निर्णय नै कार्यान्वयन नहुनेमा उनी असन्तुष्ट देखिए। 'बैठक स्थगित भएको कुरा आएको छ। यसले सचिवालयमा उहाँहरुले कस्तो निर्णय गर्नुहुँदो रहेछ भन्ने देखाउँछ,' उनले भनेका छन्।

नेकपा विधानमा स्थायी कमिटी तीन महिनामा बोलाउने प्रावधान छ। त्यस्तै २५ प्रतिशत सदस्यले लिखित माग गरेको १५ दिन भित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell