PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

ताराबहादुरमाथि कोरोनाको कहर : पाँच महिनादेखि छैन तलब, दूर भयो दूतावास



विधुर ढकाल

ताराबहादुरमाथि कोरोनाको कहर : पाँच महिनादेखि छैन तलब, दूर भयो दूतावास

काठमाडौं : जतिखेर चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिँदै थियो ठीक त्यतिखेर नै हो उनको विदेश यात्राको तयारी सकिएको। गएको डिसेम्बरमा ताराबहादुर घर्ती मगर धन कमाउने आशमा बहराइन हानिए। दाङका उनी रोजगारीका लागि बहराइन पुगे। काम पनि पाए। तर, तलब भने अहिलेसम्म पाएका छैनन्। सबैतिर कोरोनाको कहरले लकडाउनले जनजीवन ठप्प पार्‍यो। उनी न त नेपाल फर्किन पाएका छन्, न त बहराइनस्थित नेपाली दूतावासले नै हेरेको छ उनलाई।

यतिबेला खाडी मुलुकमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका छन्। खाडी मुलुकमा संक्रमित हुने नेपालीको संख्या पनि बढिरहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार हालसम्म बहराइनमा पाँच हजार पाँच सय ३१ जना संक्रमित भइसकेका छन्। त्यसमध्ये ९ जनाको मृत्यु भइसकेको छ।

बहराइनस्थित नेपाली दूतावासको तथ्यांकमा त्यहाँ हालसम्म दुई सय ४५ जना नेपालीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्या आजको मितिसम्म नेपालभित्रै संक्रमित नेपालीहरुको भन्दा धेरै हो।

बहराइनमा नेपालीहरुमा पनि संक्रमण बढ्दै जाँदा त्यहाँ रहेका नेपालीहरुमा ज्यानसँगै रोजगारीको जोखिम पनि बढिरहेको छ। जसले काम गुमाएका छैनन्, उनीहरुले पनि लामो समयदेखि तलब पाउन सकेका छैनन्।

एक लाख ५० हजार रुपैयाँ तिरेर दाङका तारासँगै अन्य १० जना नेपाली पनि त्यहाँ पुगेका थिए।

'आउन त आइयो। तर, पाँच महिना भइसक्यो हातमा पैसा नपरेको,' पहिलोपोस्टसँग अनलाइन कुराकानीका क्रममा उनले भने, 'पेट पाल्न धौ धौ छ। यहाँ आउँदाको ऋण पनि तिर्न गाह्रो भयो।'

यहाँ आउनु अगाडि ड्राइभर भनेर बोलाइएको थियो उनलाई। तर, अहिले हेल्परको रुपमा काममा खटाइएको छ। दूतावासले पनि नहेरेको उनले गुनासो गरे।

'न तलब छ। न त खाने ठेगाना नै,' उनले भने, 'आफ्नै देश फर्कौं भने पनि ठेगान भएन। हामीलाई हेर्ने कोही पनि भएन्। दूतावास त भन्ने मात्रै हो,' उनले दुखेसो पोखे।

बहराइनको हलामा रहेका उनले त्यहाँ कैयौ नेपालीले रोजगारी गुमाएकोसमेत बताए। उनले रोजगारी त गुमाएका छैनन्। त्यसको अर्थ के जब पाउने भनेको तलब नै नपाएपछि?

'बेहाल छ हजुर, पाँच महिना भयो तलब नपाएको। काम भन्ने हो भने १६ घण्टा गराउँछ कम्पनीले। एम्बेसीलाई भन्यो भने पनि कुनै वास्ता गर्दैन,' उनले भने, 'छुट्टी पनि छैन तलब पनि छैन। खाना पनि आफैले किन्नुपर्छ। अहिलेसम्म त उधारोमा खाँदै छु। तलबका लागि अझै कति दिन कुर्नुपर्ने हो? तिर्नुपर्ने ठाउँमा पैसा माग्न थालेको छ। हामीसँग छैन के दिनु?'

सरकारले आफ्ना बारेमा नहेरेकोसमेत उनले गुनासो गरे।

'नेपालबाट तेत्रो पैसा तिरेर आइयो। यहाँ यस्तो हालत छ। खोइ के हुने हो हाम्रो कुरा सुन्ने कोही भएन्,' उनले भने, 'ड्राइभर भनेर आइयो, हेल्परमा खटायो। ड्राइभर माग्दा हेल्पर गर्ने भए गर नत्र कोठामै सुतेर बस भन्यो। सुत्नुभन्दा काम गर्छु भनेर यहीँ गर्दै छु।'

उनीसहित त्यहाँ पुगेका १० जना नेपालीहरु अब्लुल अजिज अल सैयद कन्ट्र्याक्टर एण्ड ट्रेडिङमा काम गरिरहेका छन्। उनीहरु कसैले पनि तलब नपाएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell