
काठमाडौं : शुक्रवार साँझ स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको विवरण जारी गर्दै पहिलो पटक दाङ जिल्लामा संक्रमण भएको सार्वजनिक गर्यो। ९ जना संक्रमित मध्ये एकजना दाङको तुलसपुर उपमहानगरपालिकाका व्यक्तिमा संक्रमण भएको सार्वजनिक भएपछि मेयर घनश्याम पाण्डेले खोजी थाले। गाडीमै र्यापिड टेस्टको किट बोकेर शंका लाग्नासाथ परीक्षण गराउन सक्रिय रहेका पाण्डेले तुलसीपुरका संक्रमितको खोजी थाले। तर, संक्रमित भनिएका व्यक्ति त काठमाडौंमै रहेछन्।
दुई साता अघि नै उनी दाङबाट काठमाडौँ आइसकेको खुलेको हो।
शुक्रवार मन्त्रालयले दाङ तुलसीपुर नगरपालिका वडा नम्बर ७ का ३४ वर्षीय पुरुष कोरोना सङ्क्रमण भएको जानकारी दिएको थियो। तर जसलाई संक्रमित भनियो उनी काठमाडौँमै रहेको मेयर पाण्डेले जानकारी दिए।
'हामीले हाम्रो नगरपालिकामा सबैतिर बुझ्दा उहाँ दाङमा रहेको भेटिएन। अहिले काठमाडौँमा भएको बुझिएको छ,' मेयर पाण्डेले भने।
संक्रमित व्यक्ति राजधानीकै शिक्षण अस्पतालमा कार्यरत रहेको जानकारी सार्वजनिक भएको थियो। तर, शिक्षण अस्पतालले कुनै पनि कर्मचारी संक्रमित नभएको दावी गरेको छ। उनी दुई साता अघि भने कामको सिलसिलामा दाङ पुगेका रहेछन्। लकडाउनको समयमा नै उनी काम सकेर काठमाडौँ फर्किएको मेयर पाण्डेले जानकारी दिए।
'उहाँ काठमाडौँ फर्किसक्नु भएको रहेछ। लकडाउनको समयमा कसरी फर्किनु भयो र कसकसलाई भेट्नु भएको थियो खोज्दै छौँ,' मेयर पाण्डेले भने।
स्वास्थ्य मन्त्रालयले पहिले काठमाडौँमा सङ्क्रमण देखिएकालाई काठमाडौँ नै भएको जानकारी दिने गरेको थियो। तर, पछिल्लो समय संक्रमित विरामी काठमाडौँमा भए पनि स्थायी ठेगानालाई आधार बनाएर सङ्क्रमित जिल्ला राख्दै आएको छ।
गत बिहीवार कपिलवस्तुकी ६ वर्षीय बालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जानकारी दियो। तर, उनी टिचिङ अस्पतालमा उपचारत भएको खुल्यो। त्यसपछि अहिले बालिकालाई उपचारको लागि राखिएको वार्डको सिल र कार्यरत चिकित्सकहरूलाई क्वारेनटाइनमा राखिएको छ।
यो पनि पढ्न सिफारिस
धुलिखेलमा मृत्यु भएकी महिला ९ दिन अघि शिक्षण अस्पतालमा भएकी थिइन् सुत्केरी, कोरोनाको रिपोर्ट आउँदै