
गत फेब्रुअरीमा 'अमेरिकन आइडल २०२०'को पहिलो चरणको अडिसन पार गरिन् सामन्था डियाजले। दोस्रो चरणका लागि हवाई पुगिन्, पहिलो पटक प्लेन चढेर। त्यहाँ उनका लागि मानिस, अनुभव लगायत सबै कुराहरु नयाँ थिए।
कार्यक्रममा दोस्रो प्रस्तुतिका लागि मञ्चमा छिरिन्। त्यस समय उनको हातमा एउटा कागजको बट्टा थियो। जसलाई उनले भुईंमा राखिन् र प्रस्तुतीको तयारी गरिन्। उनले गाउन थाल्नु अघि निर्णायकहरुले उक्त बाक्साको बारेमा सोधे। जवाफमा सामन्थाले भनिन्,'तपाईंहरुलाई थाहा छ म एक रेलमा गाउँदै हिँड्ने युवती हुँ। रेलकोजस्तै परिवेश सिर्जना गर्न मैले यस पैसा राख्ने बक्सा ल्याएकी हुँ।' उनले त्यस बाक्सा आफूसँगै हुँदा गाउन सहज लाग्ने बताएकी थिइन्।
सुरुवाती दिनमै आफ्नो गायन र गायन यात्राको कथाका चिनिइन् उनी। स्टेजमा 'जस्ट साम'का रुपमा स्थापित उनले आइतवार अमेरिकन आइडल २०२० को शीर्ष विजेता घोषित भइन्। २० वर्षीया उनले आइतवार केली कार्ल्कसनको 'स्ट्रङ्गर' र एन्ड्रा डेको 'राइज अप' गाएकी थिइन्।
फ्लोरिडामा जन्मिएकी साम न्यूयोर्कमा बस्दै आएकी छिन्। फिल्मकर्मी जोय पेन्नी र ल्याडन असम्यानले सन् २०१८ मा यी गायिकाको जीवनीमाथि डकुमेन्ट्री बनाएका थिए। 'साम अन्डरग्राउन्ड' नामक उक्त डकुमेन्ट्रीको बारेमा आइएमडीवीमा लेखिएको छ – 'यो खर्च जुटाउन रेलमा गाउँदै हिँड्ने एक उर्जाशील युवतीको कथा हो।'
अमेरिकन आइडलको 'दिस इज मी' अंकमा उनले आफ्नो जीवनका बारेमा बोलेकी थिइन्। भनेकी छिन्, 'स्कूल पढ्दै गर्दा म केटी हुँ या केटा मानिसहरु झुक्कन्थे। किनकि म केटाकोजस्तै लुगा लगाउँछु। मैले पनि जवाफ दिइराख्न आवश्यक ठानिँन। तर, मनमा भने सधैं लाग्थ्यो – म न केटा हुँ न केटी। म त सिर्फ साम हुँ।'
त्यहीँबाट आफ्नो नाम 'जस्ट साम' रहेको बताएकी थिइन्।
उनको गायकीलाई मनपराउने पहिलो व्यक्ति उनकी हजुरआमा एलिजावेथ हुन्। एलिजावेथले जस्ट साम ६ वर्षको हुँदा उनी र उनकी बहिनी एनावेलको अभिभावकत्व लिएकी हुन्। किनकि उनीहरुकी आमा हिरासतमा थिइन्।
'मेरी आमाको युवावस्था प्राय जेलमा बित्यो। मलाई सम्झना छ हजुरआमा हरेक साता हामीलाई चिटिक्क बनाएर आमासँग भेट्न पुर्याउनु हुन्थ्यो', उनले 'मदर्स डे' विशेष कार्यक्रममा भनेकी थिइन्।
उनले आफूलाई आमाको अगाडि कहिल्यै गाउन मन नलागेको पनि सुनाएकी छिन्।
सामको लागि हजुरआमासँगको सम्बन्धले भने विशेष महत्व राख्छ। उनलाई लाग्छ लिबेरीयामा जन्मिएकी हजुरआमा एलावेथ 'अफ्रिकन रानी' हुन्।
उनले कार्यक्रमको एक अंकमा निर्णायकहरुबाट सकारात्मक प्रतिक्रिया र तारिफ पाएपछि भनेकी थिइन्,'मेरी हजुरआमालाई हामीजस्ता मानिसको सपना पूरा हुन्छ भन्ने विश्वास थिएन। तर मैले उहाँको विश्वास गलत साबित गरें।'
प्रतियोगितामा अर्का बलियो प्रतिस्पर्धी मानिएका दिवेश पोख्रेल (अर्थर गन) फस्ट र डिलन जेम्स सेकेन्ड रनर अप भए।